मासिक भत्ता र निःशुल्क पोशाकको व्यवस्था गर्दा पनि आएनन् विद्यार्थी

 बैशाख ३१, २०७६ मंगलबार १६:२९:१० | श्यामशितल परियार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका-१, भारते सिरुबारीमा छ, महादेव आधारभूत विद्यालय । भारतेको देउराली, ढोके, सिरुबारी लगायत ठाउँको केन्द्रमै पर्छ, याे विद्यालय । यस विद्यालयमा पर्याप्त कक्षाकोठा छन् । शौचालयको पनि सुविधा छ । तर विद्यालयमा विद्यार्थी संख्या निकै कम छ ।   

विगतमा विद्यार्थीले खचाखच हुने यस विद्यालयमा पछिल्लो समय बर्सेनि विद्यार्थी संख्या घट्दै गएको छ । सेवा–सुविधाको खोजीमा गाउँ छाडेर अन्यत्र बसाइँ सर्नेको संख्या बढ्दै गएकाले विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको हो । स्थानीयका अनुसार २ सय घरधुरी रहेको यस क्षेत्रका धेरै घरमा ताला लागेको छ । उनीहरु बसाइँ सरी अन्यत्र गएका छन् । गाउँमा बुढापाका मात्रै छन् ।

विद्यार्थी टिकाउन र विद्यार्थी संख्या बढाउन भत्ता  

पुराना विद्यार्थीलाई विद्यालयमै टिकाउन र थप विद्यार्थी संख्या बढाउन विद्यालयले एउटा उपाय रच्यो, पुराना तथा नयाँ भर्ना हुने विद्यार्थीलाई मासिक ५ सय रुपैयाँ भत्ता । यतिमात्र हाेइन विद्यालय सेवा क्षेत्रभन्दा बाहिरबाट पढ्न आउने विद्यार्थीलाई मासिक भत्ताको साथमा एकजोर निःशुल्क पोशाक पनि दिने भयाे ।

अभिभावकहरुले केही वर्षअघि चन्दा संकलन गरी स्थापना गरेको कोषबाट विद्यार्थीलाई प्रोत्साहन रकम र पोषाक उपलव्ध गराइने गरी यस्तो निर्णय गरिएको हो ।     

विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकाले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल गरी यो निर्णय भएको विद्यालयका प्रधानाध्यापक बेदप्रसाद अधिकारीेले जानकारी दिनुभयो ।   

‘भएका विद्यार्थीलाई विद्यालयमै टिकाउन र थप नयाँ विद्यार्थी भर्ना गर्न याे कदम चाल्यौँ,’ विद्यालयका प्रधानाध्यापक अधिकारीले भन्नुभयो, ‘तर विद्यालयमा विद्यार्थी संख्या बढेन ।’  

प्रावि तहमा विद्यार्थी संख्या शून्य         

उहाँका अनुसार अहिले विद्यालयको प्रावि तह (कक्षा १–५)मा विद्यार्थी संख्या शून्य छ । विद्यालयको कक्षा ६ मा ७ जना, कक्षा ७ मा ४ जना र कक्षा ८ मा ९ जना गरी २० जना विद्यार्थी छन् । गएकाे वर्ष विद्यालयमा २६ जना विद्यार्थी थिए ।    

विद्यालयमा पढ्दै आएका २० जना विद्यार्थीलाई मासिक ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने र त्यो रकम विद्यार्थीको दिवा खाजामा खर्च हुने विद्यालयले जनाएको छ ।

‘सरोकारवालाबीच भएको छलफलबाट मासिक ५ सय रुपैयाँका दरले विद्यार्थीले पाउने भत्ता रकम विद्यार्थीको दिवा खाजामा प्रयोग गर्ने निर्णय भएको छ,’ विद्यालयले भनेको छ, ‘विद्यालयमै मेस सञ्चालन गर्नको लागि समिति पनि गठन भएको छ ।’   

मासिक भत्ता दिने कार्यक्रमलाई निरन्तरता दिने पक्षमा अभिभावक

विद्यालयका अनुसार विद्यार्थीले पाउने मासिक भत्ताबाट खाजा खर्च कटाएर पनि केही रकम बाँकी रह्यो भने त्यो रकम खर्चेर विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिनेछ । स्थानीय अभिभावकले चन्दा संकलन गरेरै भए पनि विद्यालयमा यस कार्यक्रमलाई निरन्तरता दिने पक्षमा उभिएका छन् ।    

यस विद्यालय वि.सं २०१० सालमा स्थापना भएको हो । ‘२०५२ सालबाट विद्यालयले निमावि तहको पढाइ सुरु गरेको हो । विगतमा विद्यार्थीको चाप हुन्थ्यो । तर पछिल्लो समय बर्सेनि विद्यार्थी संख्या घट्दै गएको छ,’ महादेव आधारभूत विद्यालयमा ३४ वर्ष बिताइसक्नुभएका प्रअ अधिकारीले भन्नुभयो ।      

उहाँका अनुसार यस विद्यालयमा अहिले कक्षा १ देखि ५ सम्म पढाउने ३ जना र कक्षा ६ देखि ८ पढाउने ३ जना गरी ६ जना शिक्षक रहेका छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया