अवैध क्रसर बन्द गर्न पत्राचार

 बैशाख ३१, २०७६ मंगलबार १८:९:४२ | किरण लोहनी
unn.prixa.net

गोरखा – दुई वर्षदेखि अवैध रुपमा सञ्चालित एक क्रसर उद्योग बन्द गर्न घरेलु तथा साना उद्योग विकास समिति गोरखाले प्रक्रिया थालेको छ । 

गोरखा नगरपालिका वडा नम्बर–१०, छेवेटारमा सञ्चालन भैरहेको गोरखकाली क्रसर उद्योग बन्द गर्न कार्यालयले पत्राचार गरेको हो । ‘उद्योग स्थापना गोरखा नगरपालिका वडा नम्वर १३ मा गर्नुपर्नेमा विवरण ढाँटेर अर्कै ठाऊँमा चलाएको पाइयो’, वरिष्ठ उद्योग अधिकृत नवराज राउतले भन्नुभयो, ‘जुन ठेगानामा दर्ता भएको हो, त्यहीँ चलाउन भनेका छौँ, नभए बन्द गर्न पत्राचार गरिएको छ ।’ 

क्रसर सञ्चालक गोरखा नगरपालिका वडा नम्बर–९, का सुरेन्द्र कुँवरलाई यथाशिघ्र तोकिएको ठाउँमा क्रसर सार्न वा बन्द गर्न पत्र पठाइएको राउतको भनाइ छ । कुँवरले गोरखा नगरपालिका–१३ (साविकको देउराली गाविस ८) का हरिमानसिंह बस्नेतको ५२९ कित्ता नम्बर दर्ता रहेको देउराली क्रसर उद्योग आफ्नो नाममा नामसारी गरेका थिए । 

तर कुँवरले बस्नेतको क्रसर नामसारी गर्ने क्रममा घरेलु तथा साना उद्योग विकास समितिको अभिलेखमा देउराली गाविस–८, अहिले गोरखा नगरपालिका–१० मा पर्छ भनी झूटो विवरण उल्लेख गर्न लगाए । यो कुरा घरेलुले चालै पाएन । त्यसपछि उनले ठाउँसारी गर्नै नमिल्ने अवस्थामा पनि गोरखा नगरपालिका–१० छेवेटारमा क्रसर राख्न मिल्ने गरी कागजात बनाएका थिए । 

घरेलुको पत्रमा भनिएको छ, ‘उद्योगको फाइल अध्ययन तथा स्थलगत निरीक्षण र अनुगमन गर्दा त्यस क्रसर उद्योग नामसारी मात्रै भएको तर ठाउँसारी नभएको देखिन्छ, उद्योगको यथार्थ ठेगाना जानकारी गराउँदा पनि अटेर गरेको देखिन्छ ।’ 

पत्रमा अगाडि भनिएको छ, ‘उक्त क्रसर उद्योग आवश्यक प्रक्रिया पुर्‍याई सार्नका लाग निर्देशन गरिन्छ ।’ 

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा क्षेत्रीय कार्यालयले जिल्ला प्रशासन कार्यालयमार्फत अवैध रुपमा सञ्चालित त्यो उद्योग बन्द गराउन निर्देशन गरेको थियो । प्रशासनले पटक–पटक ताकेता गर्दा पनि कुँवरले निर्वाध रुपमा उद्योग चलाउँदै आएका थिए । गोरखकाली क्रसर उद्योगका नाममा दर्ता भएपनि त्यस उद्योगलाई एक सडक परियोजनाको अस्थायी उद्योगका रुपमा सञ्चालन गरिएको थियो ।

सडक परियोजनाका काम सकिएपछि बन्द गर्नुपर्ने भए पनि उद्योग हाल पनि सञ्चालनमा रहेको छ । शक्ति केन्द्रको संरक्षणमा अवैध उद्योग निर्वाध रुपमा चलिरहेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाउँदै आएका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया