अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
झण्डै तीन हजार किलोमिटरको दूरीमा रहेका भियतनाम र कम्बोडियासँग नेपालको खासै आउजाउ र लेनदेन छैन ।
तर के.पी. ओली प्रधानमन्त्री भएपछि कुटनीतिक प्राथमिकता र रणनीतिमा नेपाल नजाँनिदो हिसावले परिवर्तन हुन थालेको अनुमान गर्न थालिएको छ । दक्षिण पूर्वी एसियाको थाइल्याण्डपछि ओलीको प्राथमिकतामा कम्बोडिया र भियतनाम हुनु त्यही परिवर्तनको संकेत हो ।
प्रतिपक्षी सांसदसँग संसदमा आक्रामक घोचपेच र केही प्रश्नको जवाफ दिएर प्रधानमन्त्री ओली भोलिपल्टै भियतनाम र कम्बोडियाको भ्रमणमा निस्कनुभयो । भियतनाममा कम्युनिष्ट सरकार रहेको छ । त्यस्तै कुनै बेला कम्युनिष्ट सरकार रहेको कम्बोडिया भने संवैधानिक राजतन्त्रात्मक देश हो ।
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणलाई नेपालका बुध्दिजीवीले उति महत्व दिएको देखिँदैन । तर, ओलीको यो भ्रमण दुई ठूला छिमेकी भारत र चीनका स्वार्थहरुभन्दा नेपाललाई माथि उठाउने ओलीको रणनीतिको एउटा हिस्सा हो भनेर बुझ्न सकिन्छ ।
ओलीको चाल हेर्दा सरकार भारत र चीनलाई आश्वस्त पारेपछि पश्चिम र पूर्वका छिमेकी देश र भावी आफन्तलाई आश्वस्त बनाउन खोजिरहेको भान हुन्छ । एक वर्षको अन्तरमा ओली भारत र चीनसितको सम्बन्धलाई एक हदसम्म सन्तुलनमा ल्याउन सफल हुनु भएको छ । अमेरिकाबाट संयुक्त राष्ट्र संघम र स्विजरल्याण्डबाट अन्तर्राष्ट्रिय विकास फोरममार्फत उहाँले पश्चिमा देशलाई आश्वस्त पार्न कोसिस गर्नु भएको छ ।
अहिलेको उहाँको भ्रमण सार्क र बिमस्टेकभन्दा अलि परका आसियान मुलुकसम्म सहकार्य गर्ने प्रयासको अंग हुनसक्छ । ओलीको यो प्रयासमा साथ दिने मुलुक भनेका भियतनाम र कम्बोडिया नै हुन् । किनकि ती देशका सरकार प्रमुख र ओलीबीच अनेकताभन्दा समानता धेरै छन् । त्यसैले, ओलीका पाइला भारत, चीन, अमेरिका र स्विजरल्याण्डपछि हनोई र न्होमपेन्हतिर फर्किएका हुन् भनी बुझ्न निधार खुम्च्याउन आवश्यक छैन ।
सरकारले भनेजस्तै आर्थिक समृद्धि हासिल गर्न पर्याप्त वैदेशिक लगानी पनि भित्रिनुपर्छ । अन्तर्राष्ट्रिय क्षेत्रको साथ र सहयोगबिना अहिलेसम्म एसियाका कुनै देशले पनि खासै उन्नति र प्रगति गरेका छैनन् । यही कारण ओली सरकारले सुरुमै भारत र चीनसँगको सम्बन्धलाई समदूरीमा ल्याउने प्रयास गर्यो ।
अमेरिकासित सरकारको सम्बन्ध बाक्लिँदै गएको छ । खाडी देशहरुसित लगानीका कुरा चल्न थालेका छन् । राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले संसारका अरु देशलाई नेपाल भन्ने देश पनि छ भनेर चिनाउने प्रयत्न गर्नुभयो । अनि हालै लगानी सम्मेलन गरेर नेपालले केही गर्न खोज्दैछ भन्ने सन्देश पनि सरकारले दिएको छ ।
संसारभरिका लगानीकर्ता भित्रिएपछि भियतनाम र कम्बोडिया दक्षिण पूर्वी एसियाका उदीयमान राष्ट्र हुन पुगेका छन् । नेपालमा आउने जापानी गाडी हुन् या कपडा, हिजोआज यी सामग्री भियतनाममा बन्छन् । भियतनाम र कम्बोडियामा विदेशी लगानी कसरी आयो र व्यवस्थित भयो भन्ने कुरा जान्नका लागि पनि ओलीका लागि यी दुई देश तीर्थस्थल ठहरिएका हुन् । त्यसमाथि पर्यटक बढाउन आक्रामक हुँदै अघि लागेको नेपाल सरकारका लागि यी दुई देशमा ठूलो सम्भावना छ । बौद्ध धर्मावलम्बीको बाहुल्यता रेहका देशबाट लुम्बिनीमा पर्यटक भित्र्याउन सकिन्छ ।
भैरहवाको गौतमबुद्ध विमानस्थलको निर्माण कार्य सकिएपछि लुम्बिनी धेरै देशबाट हवाईजहाजमार्फत सिधै जोडिनेछ । तीमध्ये श्रीलंका, कम्बोडिया, थाइल्याण्ड तथा भियतनाम पहिलेदेखि नै लुम्बिनीसँग जोडिई सकेका छन् । त्यहाँ उनीहरुले चैत्य र स्तुपहरु बनाएका छन् ।
त्यसमाथि दक्षिण पूर्वी एसियाका देशमध्ये अहिले मलेसिया, सिंगापुर र थाइल्याण्डबाट मात्र नेपालमा सिधा हवाई उडान भैरहेको छ । लुम्बिनीको गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि कम्बोडिया, भियतनाम र म्यानमारसँग पनि सिधा हवाई सम्पर्क गर्नेबारे छलफल भैरहेको छ । प्रधानमन्त्रीको भ्रमणको क्रममा पनि यसबारे छलफल भएको छ ।
अर्को कुरा भियतनाम र कम्बोडिया दक्षिण पूर्वी एसियाका उदीयमान अर्थतन्त्र हुन् । दुवै देश आसियानमा पनि सक्रिय छन् । ब्रुनाई, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर र थाइल्याण्ड समेत रहेको आसियान युरोपेली युनियनपछि सशक्त संगठन मानिन्छ ।
केही वर्षदेखि आसियान देशहरुका नागरिक पनि युरोपमा जस्तै आपसमा भिसाबिना यात्रा गर्न थालेका छन् । कम्बोडिया र भियतनामका लगानीकर्ता नेपाल आउँछन् र नेपालको विकासमा योगदान गर्छन् भन्ने कुरा पत्याउन सजिलो छैन, तर भारत र चीनसँग खुम्चिएको विदेश नीतिलाई उदाउँदो आर्थिक शक्ति आसियानसम्म विस्तार गर्ने ओलीको प्रयास सफल भएमा गिर्दै गएको नेपालको साख उठ्नेछ र नागरिकको निराशा केही मात्रामा भए पनि कम हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।