सडक विस्तारमा वडा सदस्यकै श्रीमान बाधक

 जेठ ५, २०७६ आइतबार १८:४६:२४ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – रास्कोट नगरपालिकामा केही जग्गाधनीका कारण सडक विस्तारमा विवाद भएको छ ।

सबै बस्तीमा सडक पुर्‍याउने लक्ष्यका साथ सडक निर्माण भइरहेको रास्कोट नगरपालिकामा वडा सदस्यकै श्रीमान बाधक बन्दा स्थानीयले सास्ती खेप्नु परेको छ । 

रास्कोट नगरपालिका-२ का मनिप्रसाद उपाध्यायले आफ्नो जग्गाबाट सडक विस्तार भएकाले आफूले जग्गाको मुआब्जा पाउनुपर्ने र आफ्नाे जग्गामा बनेकाे सडकमा जे पनि गर्न पाउनुपर्ने भन्दै सडकमा अवराेध गरिरहनु भएकाे छ । उहाँ रास्कोट नगरपालिका २ की महिला वडा सदस्यका श्रीमान हुनुहुन्छ ।

निर्माण गरिएको सडकमा अवराेध भएपछि सडक अन्यत्रै सार्नुपर्ने अवस्था आएको वडा नं २ का अध्यक्ष दयाराम सिम्खाडाले बताउनुभयो । अध्यक्ष सिम्खाडाले उपाध्याय दम्पतीका कारण नगरको ठूलो लगानी खेर गएको बताउनुभयो । 

जग्गाधनी उपाध्यायले आफ्नो जग्गाबाट सडक लैजान नदिएपछि नगरपालिका बाध्य भएर अन्य स्थानबाट सडक विस्तार गर्ने स्थितिमा पुगेको नगरप्रमुख काशीचन्द्र बरालले बताउनुभयो । ‘उपाध्यायले कुरा बुझ्नु हुन्छ कि भनेर धैर्य गरिरहेका छौँ, मान्नु भयो भने ठिकै छ नत्र सडक फरक तरिकाले अगाडि बढाउँछौँ,’ उहाँले भन्नुभयो ।

नगरपालिका, न्यायिक समिति र प्रहरीसमेत बसेर गरेकाे निर्णय अटेर गर्नु र गाउँ तथा समाजलाई दुःख दिने नियत ठिक नभएको नगरप्रमुख बरालले बताउनुभयो ।

आवत–जावतमा कठिनाइ भएपछि फरक ठाउँबाट सडक विस्तार गरिदिन स्थानीयले नगरपालिकामा सामूहिक निवेदन दिएका छन् । नगरले गरेको निर्णयको अपहेलना गर्ने उपाध्यायलाई कानुनी कारबाही हुने नगर उपप्रमुख मिम्सरा बमले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया