दलबहादुरलाई यूएई उडाउँँछु भन्ने भिमबहादुर हराए

 जेठ ७, २०७६ मंगलबार १२:२:४५ | सन्जिता देवकोटा

काठमाण्डौ – २०७५ फागुन १३ गते । धनकुटाका दलबहादुर रानामगर काठमाण्डौ आउन बस चढ्नुभयो । एजेन्ट भिमबहादुर तामाङले फागुन १५ गते यूएई उड्ने बन्दोबस्त मिलाएका थिए ।

१५ गते यूएई उड्ने सपनाको पोकोसँगै दलबहादुर यूएईमा रहेका गाउँका दाजुभाइलाई लगिदिने उपहारको पोको पनि बोकेर काठमाण्डौ ओर्लनुभयो । 

बसपार्कमा ओर्लनासाथ उनै भिमबहादुरको नम्बर थिच्नुभयो मोवाइलमा । तर फोन लागेन । सोच्नुभयो ‘बिहानै भएर फोन नलागेको होला ।

’दिउँसो भएपछि फेरि फोन थिच्नुभयो । लागेन । दिनभरजसो फोन थिच्नुभयो, तर अहँ फोन लाग्दै लागेन । झण्डै तीन महिना हुन बित्न लाग्यो, अझै भिमबहादुरको फोन लागेको छैन । फागुन १५ गते यूएई उड्ने दलबहादुरको सपना त सकियो नै । सँगै एक लाख ५० हजार रुपैयाँ पनि डुब्यो । 

भिसा आइसक्यो भनेर एक लाख पैसा लिएका भिमबहादुर दलबहादुरलाई काठमाण्डौ बोलाएर सम्पर्कबिहीन छन् । दलबहादुर एजेन्ट खोज्दै काठमाण्डौमा भाैतारिइरहनुभएको छ । भन्नुहुन्छ, ‘विश्वास गर्दा ठगीमा परें, के गर्नु ।’

एजेन्टले दिलाएको विश्वास

एजेन्ट भिमबहादुरसँगको चिनजानको कुरा गर्दा पछुतो मान्दै दलबहादुर भन्नुहुन्छ, ‘मेरो साथीको पनि साथीले हो मलाई त्यो एजेन्टसँग चिनजान गराइदिएको तर अहिले एजेन्ट मात्र हैन साथी पनि सम्पर्कबिहीन छ ।’

दलबहादुरले ती एजेन्टलाई धरानमा काम गर्दा चिनेका साथीले चिनाइदिएका हुन् । कतारमा दुई वर्ष काम गरेर फर्किएपछि धरानमा काम गरिरहेकै बेला एक जना साथीसँग उहाँको चिनजान भयो ।

एजेन्ट भिमबहादुर तामाङ

सटरिङ कार्पेन्टरको काम गरेर फर्किएकाले धरानमा त्यही काम मिलेको थियो । तर त्यही कामका लागि यूएईबाट डिमाण्ड आएको छ भन्दै साथीले दलबहादुरलाई एजेन्ट भिमबहादुरको नम्बर दिए । 

साथीले दिएको नम्बरमा दलबहादुरले नै फोन गरेर आफ्नो इच्छा र हातमा भएको सीपका बारेमा कुरा गर्नुभयो । 

एजेन्ट भिमबहादुरले पनि राम्रो कामको अफर आएको बताए । आफूले सोचेजस्तै काम पाइने भएपछि दलबहादुरले दायाँबायाँ सोच्नुभएन । पासपोर्ट बोकेर काठमाण्डौ आउनुभयो र भिमबहादुरलाई भेट्नुभयो । 

एजेन्टले दुबईमा कार्पेन्टरको काम, अनि १३ सय दिर्हाम मासिक तलब र ३ सय खानेबस्ने भत्ता हुने पनि आश्वासन दिए । 

‘उसले नराम्रो कुरा कहिले गरेन, मैले तीन पटक जस्तो भेटें गोंगबु साइडमा उसलाई,‘दलबहादुर भन्नुहुन्छ, ‘उसको विश्वासमा पैसा दिएँ, तर उसले विश्वासघात गर्‍यो ।’

पासपोर्ट बुझाएको केही समयपछि भिसा आयो भन्दै भिमबहादुरले पैसा मागे । पटक पटक गरेर उहाँले एक लाख ५० हजार रुपैयाँ बुझाउनुभयो । ५० हजार भाइले धरानबाट आईएमई गरिदिए भने अरु पैसा दलबहादुर आफैंले एजेन्टलाई दिनुभयो । 

एजेन्टले दलबहादुरसँग पैसा लिए । विदेश उडाइदिने विश्वास पनि दिलाइदिए । एजेन्टकै विश्वासमा उहाँ यूएई उड्न घरबाट बिदा हुनुभयो । साथमा आफ्नो सपना र परदेशमा रहेका गाउँले दाजुभाइलाई घरबाट पठाइदिएको कोसेली लिएर । तर यूएई उडाउँछु भन्ने एजेन्टले पैसा मात्रै उडाए । कोसेली सडिसक्यो, आश र सपना मरिसक्यो ।

ठगसँग कसको के लाग्छ र ! दलबहादुर भन्नुहुन्छ, ‘गरिबको पसिना मात्र हैन, सपना पनि लिएर बेपत्ता भयो ।’

भिमबहादुरले यति विश्वास दिलाएका थिए कि दुई वटा देशमा केही वर्ष बिताएर फर्किएका दलबहादुरले उसको ठगी गर्ने चालपत्तो नै पाउनुभएन । घरमा दलबहादुरको श्रीमतीलाई भाउजु साइनो लगाएर फोन गर्नेदेखि दलबहादुरलाई यूएईमा हुने मोटो कमाइको आशले फुरुँग बनाइदिएका थिए ।

एजेन्ट भिमबहादुर फोनमा मात्र हैन दलबहादुर र उहाँको परिवारसँग फेसबुक र इमोसम्ममा जोडिएका थिए । तर पैसा हात परेपछि उनले फोन मात्र हैन सम्पर्कका सबै माध्यमहरु बन्द गरिदिए ।

सम्पकबिहीन भएका एजेन्टलाई कहाँ खोज्ने ? 

भिमबहादुरले आफ्नो दाइको म्यानपावर भएको बताएका थिए । तर कुन म्यानपावर हो नाम बताएनन् । अनि आफ्नो बारेमा पनि केही बताएनन् ।

दलबहादुरले पैसा दिन आनाकानी गर्दा भिमबहादुरले भनेका थिए, ‘तपाईँलाई विश्वास छैन भने यो बैंकको चेक लिनुस् ।’ ३५ हजार रुपैयाँको बैंक अफ काठमाण्डौंको चेक बनाइदिए । र दुई वटा आफ्नो सही गरिदिए । 

भिमबहादुर सम्पर्कबिहीन भएपछि दलबहादुर चेक बोकेर बैंक अफ काठमाण्डौ पुग्नुभयो । बैंकका कर्मचारीले खातामा पैसा छैन भनेर फर्काइदिए । 

दलबहादुरले फोन लगाउन खुब प्रयास गर्नुभयो । राती पो खुल्छ कि भन्ठानेर कहिले १२ बजे राती त कहिले ३ बजे राती पनि फोन लगाउन कोशिस गर्नुभयो । तर सबै कोशिस व्यर्थ भयो । सम्पर्कबिहीन भएका भिमबहादुरको फोनमा सम्पर्कमा छैन भन्ने एकोहोरो आवाज मात्रै बज्यो ।

केही समय त दलबहादुरलाई लाग्यो एजेन्टको फोन बिग्रियो । तर तीन महिना बित्दा पनि कुनै पत्तो नहुँदा उहाँलाई लाग्छ फोन हैन उसको नियत बिग्रियो । गरिबको पसिनामाथि आँखा लगायो । 

कतै फोन आइहाल्छ कि भनेर एक डेढ महिना त कुर्नु पनि भयो दलबहादुरले । त्यसपछि भने दलाल खोज्दै भौंतारिनुभयो गाउँदेखि शहर । तर पैसाको बिटो लिएर हिँडेका दलाललाई कहाँ भेट्नु ?

‘लाजले घर फर्किन सकिनँ’

विदेश उड्नका लागि तयार भएर काठमाण्डौ आउनु भनेर फोन गरेका एजेन्ट भिमबहादुर आफू चाहिँ हराए  । आफूलाई किन त्यसो गरे जान्नुहुन्न दलबहादुर । तर एजेन्टसँगै उहाँका पनि थुप्रै चिज हराए ।

यूएई जाउँला, महिनाको झण्डै १५ सय दिर्हाम कमाउँला भन्ने सपना त सकियो नै । त्यति मात्र हैन दलबहादुरको घर फर्किने बाटो पनि बन्द भयो । सयकडा तीनका दरले साहुसँग लिएको ऋण, दाजुभाइका लागि कोसेली बोकेर हिँड्दाको भावना र एजेन्टको छल घर फर्कने बाटोको तँगारो बनेको छ ।

‘कमाइ नभए पनि एजेन्टलाई नखोजी त कसरी घर जानु, घरकाले त कुरा बुझ्छन्, गाउँले र साहुलाई के भन्नु,’ दलबहादुर प्रश्न गर्नुहुन्छ । र जवाफमा चुपचाप बस्नुहुन्छ । 

उहाँ न्याय खोज्न वैदेशिक रोजगार विभागदेखि प्रहरीको अपराध महाशाखा पनि पुग्नुभयो । दुवै निकायले व्यक्तिगत कारोबार भएको भन्दै फर्काइदिए ।

अपराध महाशाखाले आईएमईमार्फत पैसा पठाउने भाइलाई झिकाउन भनेको छ । एजेन्टले पैसा मात्र हैन, दलबहादुरको पासपोर्ट पनि लगेका छन् । ठेगानै नभएका एजेन्टबाट कसरी फिर्ता होला रकम ? दलबहादुरलाई पत्तो छैन । 

काठमाण्डौमा हिजोआज दलबहादुर दुईवटा काम गर्नुहुन्छ, पहिलो – सिन्धुपाल्चोकको तातोपानी ८ घर बताउने एजेन्ट भिमबहादुर तामाङ खोज्ने ।

दोस्रो – ज्यान पाल्न कार्पेन्टरको काम गर्ने ।

कहिले काममा जानुहुन्छ त कहिले एजेन्ट खोज्न विभिन्न संघसंस्था धाउनुहुन्छ । 

कार्पेन्टरको काममा खासै कमाइ छैन । तै पनि ऋणको व्याज तिर्न र काठमाण्डौमा एजेन्ट खोज्दै हिँड्न पुगेको छ भन्नुहुन्छ, दलबहादुर । 

दलबहादुरलाई केही पनि नसोची दलाललाई विश्वास गरेकोमा पछुतो छ । आफूले जसरी विश्वास गरेर एजेन्टलाई पैसा नदिन सबैलाई आग्रह गर्नुहुन्छ, दलबहादुर । भन्नुहुन्छ,‘तपाईँहरुले कतै देख्नुभयो भने कृपया मलाई सहयोग गर्नुहोला, र आफू पनि भिमबहादुरसँग बच्नुहोला ।’

अन्तिम अपडेट: जेठ ९, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया