मानसिक स्वास्थ्यको क्षेत्रमा बजेट अपुग भयाे, बढाउनुपर्छ: नेता पाण्डे

 जेठ ७, २०७६ मंगलबार १५:२८:४१ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डाै - पूर्व अर्थमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता सुरेन्द्र पाण्डेले मानसिक स्वास्थ्यको क्षेत्रमा बजेट बढाउनुपर्ने बताउनुभएको छ ।  

सोमबार ललितपुरमा भएको कार्यक्रममा उहाँले भन्नुभयाे, ‘स्वास्थ्यजस्तो संवेदनशील पाटोमा पाँच प्रतिशत मात्रै बजेट धेरै नै अपुग हुन्छ, यसमा कूल बजेटको १० प्रतिशत छुट्याउनुपर्छ।’  

अहिले नेपालमा आधुनिकीकरण, आर्थिक अवस्था तथा सामाजिक कारणले मानसिक समस्या बढेको बताउनुभयो । उहाँले जसलाई तिर्खा लागेको छ, उसैले खोला धाउनु पर्छ भन्दै आउँदा दिनमा आफैँ सचेत बन्न आग्रह गर्नुभयो ।   

सर्ने रोगको रोकथाम र उपचारमा पहिला बढी बजेट खर्च हुने गरेकोमा अहिले नसर्ने रोगमा चुनौती बढिरहेको उहाँको भनाइ छ । जगरनट माइन्डसेट नामक संस्थाले सुरु गरेको सबैका लागि मानसिक स्वास्थ्य अभियानअन्तर्गतको पहिलो सार्वजनिक बहसमा पूर्व अर्थमन्त्री पाण्डेले यस्तो भन्नुभएको हो । 

कार्यक्रममा नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षितले नेपालमा जनसंख्याको अनुपातमा मनोवैज्ञानिक र मनोरोग सम्बन्धी डाक्टर कम रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्ने सबैले मानसिक समस्या लुकाउन भन्दा अरुलाई बाड्न सुझाव दिएका छन्  । 

मानसिक स्वास्थ्य समस्या अभियान सुरु 

मानसिक स्वास्थ्य अभियन्ता जगन्नाथ लामिछानेले जगरनट माइन्डसेट स्थापना गर्नु भएको हाे । यसले फेसबुक, यूट्यूब र इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमार्फत मानिसक रोगसम्बन्धी संवादमूलक सामग्रीहरू सार्वजनिक गर्दै आएको छ । उहाँले भन्नु भयो, ‘घर–घरमा र समाजमा हुने मानसिक स्वास्थ्यलाई लिएर हुने विभेदपूर्ण व्यवहार र सोचाइ हटाउनु यो अभियानको  मुख्य उद्देश्य हो’ । 

सामाजिक सञ्जालबाहेक महिनामा एक पटक सार्वजनिक बहसको कार्यक्रम सञ्चालन गर्ने उद्देश्य याे संस्थाकाे रहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया