‘दुई मुट्ठी सास यसैगरी जावस्’

 जेठ ८, २०७६ बुधबार १७:३८:३० | सन्जिता देवकोटा

काठमाण्डौ – इलामको बिब्ल्याँटे बजार । मूलबाटोबाट दायाँपट्टी थोरै ओरालो झरेपछि पुगिन्छ जस्ताले छाएको टहरोमा । टहरो पुरानो छ । बाहिर दलानमा चुलो छ। चुलोमा तरकारी पाक्दै छ ।

आँगनको डिलमा तल्तिर हेर्दै कपाल कोर्दै हुनुहुन्छ, राममाया विश्वकर्मा । चाउरिएको छाला । तर हँसिलो अनुहार । राममायाले हाँस्दै कपाल मिलाउनुभयो । कपाल बाँधेपछि भित्र गएर सिन्दुर र टिका लगाएर बाहिर निस्कनुभयो । 

‘मेरा बुढा त बिहानै फलाम बेच्न गाउँ निस्कनुभयो, तपाईँहरु आउन ढिला भयो,’ राममाया मुसुक्क हाँस्नुभयोे । 

‘तपाईँ पनि कतै जाने हतारोमा हुनुहुन्छ हो र ?’  सोधें । 

‘छोराले बोलाएको छ, मरिहत्ते गर्छन्, आफैंले जन्माएको त हैन, तर उनीहरुको आमा मै हुँ, यहाँ त हातखुट्टा चलुञ्जेल बसौं भनेर पो त’ राममायाले भन्नुभयो । 

राममायाका कोखबाट ५ छोरी जन्मिए । उहाँले नजन्माएको छोरासँग आमाछोराको साइनो गाँसिएको ठ्याक्कै ९ वर्ष भयो । ९ वर्षअघि देवराजसँग बिहे गरेपछि उहाँले श्रीमान् मात्र हैन, छोराछोरी पनि पाउनुभयो । छोराका बुवा देवराज, राममायाका दोस्रो जीवनसाथी हुन् । 

‘कतिले बुढेशकालमा पनि के बिहे गरेको भने होलान्, कतिले नराम्रो पनि सोचे होलान् तर बिहेपछि मलाई भने धेरै राम्रो भएको छ,’ राममाया विश्वकर्माले आफ्नो अहिलेको क्षण सुनाउनुभयो । 

उहाँलाई बुढेशकालमा दोस्रो बिहे गरेकोमा भन्दा पनि एकल महिलाले बिहे गर्दा आफन्तले के भन्लान् भन्ने चिन्ता थियो । मनको चिन्ता र समाजको डरलाई देवराज विश्वकर्माले दिएको भरले जित्यो । र एक्लो भएको १३ वर्षपछि फेरि उहाँको सिउँदो भरियो । राममायाले ४० वर्षको उमेरमा पुछिएको सिउँदो ५३ वर्षको उमेरमा फेरि भर्नुभयो । 

जीवनमा कहिले कस्तो आकश्मिकता आउँछ के थाहा र ! राममायाको जीवनमा पनि यस्तै भयो । देवराजसँग बिहे भयो । गलामा पोते र सिन्दुरले सिउँदो मात्र हैन, पीडाले भरिएको राममायाको जीवन फेरि खुशी फर्कियो ।

१२ वर्षको उमेरमा पहिलो बिहे

श्रीमानको मृत्युपछि राममाया छोरीको घरमा बस्नुभएको थियो । तर अप्ठ्याराहरु विभिन्न थिए । तर पनि बिहे गरौंला, या फेरि एकपटक सुखको सास फेरौंला भन्ने आश मार्नुभएको थियो । 

राममायाको पहिलो बिहे १२ वर्षकै उमेरमा भयो । उहाँका श्रीमान् आफ्नै भिनाजु थिए । साईंलो भिनाजुले परिवारकै सहमतिमा राममायालाई कान्छी श्रीमती बनाएर भित्र्याएका थिए । 

‘बुढो त मलाई बिहे गर्दा ५० लागेका थिए होलान्, बिहे गरेपछि उल्टो मलाई स्याहार गर्नु पर्‍यो नि,’ राममाया भन्नुहुन्छ । राममायालाई त त्यो बेलामा बिहेको बारेमा पनि थाहा थिएन । 

१४ वर्षको हुँदा आमा बन्नुभयो । ५ वटी छोरी जन्मिए । दिदीबहिनी मिलेरै बस्नुभयो । श्रीमान् छँदासम्म त खुशी मात्रै थियो राममायाको जीवनमा । श्रीमानको मृत्युपछि सिउँदो मात्रै पुछिएन, जीवन नै फिक्का भयो । 

कहिले कुन छोरीको घरमा त कहिले कुन छोरीको घरमा बस्न थाल्नुभयो । तर मन भने बसेको थिएन । अप्ठ्याराहरु र असहजता कति थिए कति ! 

‘बस्न त छोरीको घरमा बसिरहेको थिएँ, तर छोरीको घरमा बस्न र खान विभिन्न कुराले अप्ठ्यारो हुने रहेछ,’ राममाया भन्नुहुन्छ, ‘छोरी मात्र आफ्नो भएर नहुने रहेछ, म त बिरक्तिएको थिएँ ।’ राममायाले त्यो बेला जीवनका सबै आशहरु मार्नुभएको थियो । त्यहीबेला देवराज बाँकी जीवन खुशीका साथ जीउने आश लिएर आए । 

दोस्रो बिहे

‘मैले त दोस्रो बिहे बारे सोचेकै थिइनँ, अब उहाँले तिमी नि उस्तै म पनि उस्तै, मिलेर बाँकी जीवन बिताउँ भन्नुभयो, अनि जे होला भनेर बिहे गरेको नि,’ अलिअलि लगाउँदै राममायाले भन्नुभयो । 

राममाया जस्तै देवराजले पनि एक्लो जीवन बिताइरहेका थिए । श्रीमती बितेको लामो समय भइसकेको थियो देवराजको पनि । 

देवराज राममायाको छोरीको घरमा पुग्दा घाम झुल्कँदै थियो । पहिलोपटक देख्दा राममायालाई लाग्यो ‘एक बिहानै को बाहुन आइपुगेछन् ।’ तर आफ्नो हात माग्न आएको पछि थाहा पाउनुभयो । 

राममायाले बुढेशकालमा बिहे गर्दिनँ भन्नुभयो सुरुमा त । तर देवराजले सम्झाए । ‘सहारा चाहिन्छ, बुढेशकालमा छोरीको घरमा बसेर मात्र हुन्न भन्नुभयो,’ राममाया त्यो बेला देवराजले भनेको कुरा सम्झँदै भन्नुहुन्छ, ‘सम्झँदा त हो जस्तो लाग्यो, छोरीकोमा बस्दा पनि लाजै हुने रहेछ, त्यसैले हुन्छ भन्दें ।’

छोरी ज्वाईंकोमा बस्दा सहज थिएन राममायालाई । सम्धि सम्धिनीसहितको परिवारमा बस्नुपर्दा भित्रभित्रै गुम्सनु भएको थियो । राममायाले त्यही अप्ठ्यारोबाट पन्छिन भए पनि बिहे गर्न सहमत हुनुभयो । 

अहिले ९ वर्ष भयो राममाया र देवराजको सम्बन्ध जोडिएको । सबै ठिकठाक चलिरहेको छ उहाँको जीवनमा । 

दुवैजना आरनमा बस्नुहुन्छ । हँसिया, कोदालो लगायतका फलामे सामान बनाउनुहुन्छ । अनि बेच्नुहुन्छ । त्यही कमाइले गाँसको जोहो गर्नुहुन्छ । देवराजका ६ छोरी र एक छोरा छन् । ती सबै राममायाका आफ्नै भएका छन् ।

‘आमा भनेर फोन गरिरहन्छन्, हामी पाल्छौं दुःख नगर्नुस् भन्छन् नि छोराछोरीले,’ राममाया भन्नुहुन्छ, ‘तर हामी सकुञ्जेल आफैं पालिन्छौं ।’

दुई जनामा एक जनालाई सञ्चो नभएको खबर सुने छोराछोरी आइपुगिहाल्छन् । फोनबाट हालखबर बुझिरहन्छन् । 

राममायालाई पहिले पहिले ‘बुढेशकालमा बिहे गरेर के भालो होला र’ भनेझैं लाग्थ्यो । तर अहिले सोच्नुहुन्छ ‘गलत गरिन छु ।’ दुःख सुखमा हुँदा एकअर्काको साथ र सहयोग छ । दुवै मिलेर काम गर्दा खान पुगेको छ ।

राममायाका श्रीमान् ६६ वर्षका हुनुभयो । राममाया चाहिँ ६२ वर्ष । राममाया र देवराजसँग अहिले पैसा छैन । आरन चलाउन दुःख छ । तर पनि दुवै खुशी छन् ।

 ‘बसिरहन मन लाग्दैन, यो दुःख हामी आफैंले बिसाएको हो,’ राममाया भन्नुहुन्छ । राममायालाई अब केही चाहिएको छैन । ‘दुई मुट्ठी सास यसैगरी जावस्,’ राममाया आफ्नो इच्छा सुनाउनुहुन्छ । 

अन्तिम अपडेट: साउन १६, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया