आज कोशी, बाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी...
बैशाख ७, २०८१ शुक्रबार
हेटौंडा - मकवानपुरको भिमफेदी गाउँपालिका-८, कोगटेमा रहेकाे कृत्रिम पोखरीमा हिजोआजको चर्को गर्मिमा पौडी खेलेर रमाउनेहरु धेरै छन् ।
वर्षौं अघिको पौडी पोखरीमा पहिले कोगटे वरपरबाट मात्र मानिसहरु पौडी खेल्न आउँथे गरेका थिए । तर, अहिले यहाँ पौडी खेल्नकै लागि काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुरका विभिन्न क्षेत्रबाट आउने गरेको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।
बाहिरी जिल्लाबाट घुम्दै आउनेहरु यहाँको ठूलो पोखरीमा पौडी नखेली जान मान्दैनन् । सुन्दर र सफा देखिने वर्षाै पहिलेको पौडी पोखरीमा थप सुधार गर्न लागि भिमफेदी गाउँपालिकाले २० लाख रुपैयाँ लगानी गरेको छ । यसमा घेराबार लगाउने, पोखरीलाई सधै सुन्दर बनाउने, पौडी खेल्ने कामसँगै पर्यटक पनि यस क्षेत्रमा भित्र्याउने गरी काम भइरहेको अध्यक्ष लामाले बताउनुभयो ।
यस पोखरीमा एक पटकमा एक सय जनाले पौडी खेल्न मिल्छ । गर्मी बढ्दै गएकाले यहाँ पौडी खेल्न आउनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ । अहिले पौडी खेल्न पालो नपाउने स्थिति छ । पौडी खेल्न दिएर गाउँपालिकाले राम्रो आम्दानीपनि गरिरहेको छ । पौडी खेलाएर नै गाउँपालिकाले वार्षिक ४ लाख ५० हजार रुपैयाँ आमदानी गर्ने गरेको अध्यक्ष लामा बताउनुहुन्छ ।
पौडी खेलेको रकम ठेक्कामार्फत संकलन गरिँदै आएको छ ।
यहाँ खण्ड–खण्ड गरी हाल चार वटा पोखरी छन् । ५ रोपनी क्षेत्रफल ओगटेको पोखरी र हरियाली जंगललाई समेत समेटेर पिकनिक स्थल तथा मनोरम बाटिका बनाउने योजना रहेको अध्यक्ष लामाले बताउनुभयो ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।