पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – रामेछापको मन्थली नगरपालिका १३ का उदयबहादुर खत्री अहिले पनि परिवारसहित चर्केकै घरमा बसिरहनुभएको छ । सुर चिरा परेको, झ्यालमाथिको गारो चर्केको घरमा भूकम्पले आंशिक क्षति पुगेको छ । चारैतिर कौशी सहितको घर भूकम्पमा लडेन, तर क्षति भने भयो । ‘चिरा परेको ठाउँमा माटो खाँदेर टालटुल गर्यौं, अनि त्यसैमा बसेका छौं, भत्काउनु भन्दा बरु यसैलाई बलियो बनाउन पाए जसोतसो गुजारा चलाउन हुन्थ्यो’ खत्रीले भन्नुभयो ।
काभ्रेको फलाँटे कानपुरका छत्रबहादुर र राधा परियारको तीन तले घरमा पनि भूकम्पले आंशिक क्षति गर्यो । प्राविधिकले जाँच गरे, अनि मापदण्ड अनुसार प्रवलीकरण अर्थात् रेक्ट्रोफिटिङ गरेर बस्न मिल्ने बताए । प्राविधिकले सल्लाह त दिए तर ढुंगामाटोले बनेको घर प्रबलीकरण गर्न जान्ने कामदार भेटिएनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परियार दम्पत्तीको घरलाई प्रबलीकरण गर्नेगरी अघिल्लो महिनादेखि काम सुरु गरेको छ । अझै पनि काम नसकिएकाले जोखिम घरमै बस्नुपर्ने बाध्यता भने हटिसकेको छैन ।
भूकम्प लगत्तै घर तथा भवन पूर्ण र आंशिक क्षतिका रुपमा बर्गिकरण भए । सरकारले पूर्ण क्षति हुनेलाई नयाँ घर बनाउन तीन लाख रुपैयाँ र आंशिक क्षति हुनेलाई एक लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । पूर्ण क्षतिमा पर्नेहरुले अनुदान लिएर पुनर्निर्माणको काम गर्दै आएका छन् । भूकम्प गएको चार वर्ष बित्दा पनि प्रबलीकरणको काम अगाडि बढ्न नसकेपछि आंशिक क्षतिमा परेका प्रभावित जोखिम घरमै बस्न बाध्य छन् । घर तथा भवन पुनर्निर्माण र प्रबलीकरणको काम सँगसँगै अगाडि बढ्नुपर्नेमा प्रबलीकरण ओझेलमा परेको छ ।
पुनर्निर्माण प्राधिकरणले ढिला गरी क्षतिग्रस्त घर तथा भवनको प्रबलीकरणका लागि काभ्रेको नमोबुद्ध नगरपालिका कानपुरबाट अभियान सुरु गरेको छ । तर भूकम्पअघि गाउँघरमा प्रबलीकरण गरेको अनुभव नभएकाले घर प्रबलीकरण गर्ने विधि र प्रकृया, लाग्ने खर्चबारे भूकम्प प्रभावित अहिले पनि अनविज्ञ नै छन् । घर तथा भवन प्रबलीकरणको संस्थागत ज्ञान, सिप तथा जनशक्तिको अभावकै कारण भूकम्प प्रभावित जिल्लामा झण्डै ६४ हजार घर अलपत्र छन् । ती भूकम्प प्रभावित भूकम्पले चर्केको घरमा डर मानी मानी बस्दै आएका छन् । शहरी क्षेत्रका घर तथा भवनमा टेको लगाएर अड्याएको समेत देख्न सकिन्छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक हरिदर्शन श्रेष्ठका अनुसार प्रबलीकरणका विभिन्न विधिहरु छन् । तीमध्ये मुख्य तीन विधि ब्यान्डेज, ज्याकेटिङ र बिम पिलर ज्याकेटिङ छन् ।
ब्यान्डेज विधि: घरको जगदेखि छानासम्म वरिपरि ब्यान्डेज राखेर भित्र बाहिर तारजाली लगाउन सकिन्छ ।
ज्याकेटिङ विधि: घरको चारैतिर ठाडो तेर्सो डण्डीको जाली लगाएर प्लाष्टर गर्न सकिन्छ । पिलर वा बिम बाँधेर बलियो पारिन्छ । यो तरीका तीन तलासम्मका भवनका लागि उपयुक्त हुन्छ ।
बिम पिलर ज्याकेटिङ: बिम पिलर प्रबलीकरण गर्न ज्याकेटिङ प्रविधि सबैभन्दा बढी अपनाइन्छ । बिम र पिलरको वरिपरिबाट ठाडो डण्डी जगदेखि छानासम्म राखिन्छ र डण्डीलाई रिङले बाँधेपछि ढलान गरिन्छ ।
देशकै प्रमुख प्रशासनिक भवन सिंहदरबार अहिले प्रबलीकरण भैरहेको छ । जहाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै कार्यालय छ । सिंहदरबारलाई ज्याकेटिङ विधिबाट प्रबलीकरण गरिंदैछ । सिंहदरबारको प्रबलीकरणको काम आउँदो कात्तिक १९ गतेसम्म सक्ने लक्ष्य छ । प्राधिकरणले आफ्नै भवन प्रबलीकरण सुरु गरे पनि नागरिकलाई प्रबलीकरणका विधि र लाग्ने खर्चबारे जानकारी गराउन भने ढिला गरेको छ ।
भूकम्प र परकम्पले हल्लाएर कमजोर बनाएका घर तथा भवन प्रबलीकरण गरी बस्न मिल्छ भन्ने जानकारी गाउँघरमा पुग्न सकेको छैन । प्रबलीकरणका लागि परीक्षण र डिजाइन स्वीकृत भैसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दावी छ । ‘विगतमा प्रबलीकरणको सन्देश प्रवाह गर्न सकेको भए मौलिकतामा आधारित घर जोगाउन सकिन्थ्यो होला तर भएन’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, ‘यस बीचमा हामीले थप काम गरेका छौं ।’ क्षतिग्रस्त घर तथा भवन प्रबलीकरण गरेर भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भने पनि लाभग्राहीलाई अग्रसर बनाउन प्राधिकरणलाई चुनौती भने देखिन्छ ।
भूकम्प प्रभावित ३२ वटा जिल्लामा झण्डै ६४ हजार प्रबलीकरण लाभग्राही भए पनि १९ हजार ३ सय १६ जनाले मात्र अहिलेसम्म अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेकामध्ये १८ हजार ३ सय ७७ जनाले पहिलो किस्तामा पाउने ५० हजार रुपैयाँ बुझेका छन् । प्रबलीकरण लाभग्राहीले प्राधिकरणबाट दुई किस्ता गरी एक लाख रुपैयाँ अनुदान पाउँछन् । तर एकजनाले पनि प्रबलीकरण गरेर एक लाख रुपैयाँ लिएको देखिंदैन । यसको सोझो अर्थ एउटा घर पनि प्रबलीकरण भएको छैन ।
पहिलो किस्ता ५० हजार रुपैयाँ बुझेर लाभग्राहीले घर टालटुल गरे । प्रबलीकरणका नाममा भूकम्पले चर्के मर्केको घर टालटुल र रङरोगन गरेपछि थप जोखिम बढेको छ । यस्ता घर प्राविधिकले दोस्रो किस्ताका लागि सिफारिस गर्न सकेका छैनन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक श्रेष्ठ भन्नुहुन्छ, ‘सक्नेहरुले नयाँ घर बनाए, नसक्नेहरु पुरानै घरलाई सामान्य मर्मत गरी बसेपछि जोखिम थप बढेको छ । मर्मतका नाममा घरका भ्वाङ पुरिए तर जोखिम टरेको छैन । अर्को भूकम्प आए फेरि क्षति हुने देखिन्छ । जीर्ण घर तथा भवन भत्काउने या नढल्नेगरी बलियो बनाउनुको विकल्प छैन ।’
पुरानो घर भए पनि पूर्ण रुपमा नभत्केको भए प्रबलीकरण गर्न सकिन्छ । नयाँ घर बनाउन भन्दा प्रबलीकरण गर्न झण्डै आधा कम खर्च लाग्छ । यसले आर्थिक भार कम पर्ने र समय पनि धेरै नलाग्ने भएकाले फाइदा छ । घरको पुरानो मौलिकता समेत जोगाउन सकिन्छ ।
प्रबलीकरण भूकम्प प्रभावित जिल्लामा मात्रै होइन अरु जिल्लामा पनि अभियानकै रुपमा लैजानुपर्नेमा प्राध्यापक श्रेष्ठको जोड छ । उहाँका अनुसार भूकम्पले क्षति गरेका बाहेक पनि झण्डै ४७ लाख घर भूकम्प थेग्नसक्ने बनाउन प्रबलीकरण आवश्यक छ । ‘तर देशैभरका घरको प्रबलीकरण गर्न सरकारको कहिले ध्यान पुग्ला ?’ उहाँ भन्नुहुन्छ, ‘भूकम्प प्रभावित सहित देशैभर प्रबलीकरणको काम गर्न सके भूकम्पबाट डराउनुपर्ने अवस्था आउने छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।