सरकारी जागिर छाडेर जडिबुटी खेती : जहाँ छन्, सामान्य झारपातदेखि किलोकै ५० लाख पर्ने वनस्पती

 जेठ ११, २०७६ शनिबार १६:१८:१९ | किरण लोहनी
unn.prixa.net

गोरखा – डाक्टर खेमराज भट्टराई नेपाल सरकारका पूर्व सहसचिव हुनुहुन्छ । जैविक विविधिताका विषयमा विद्यावारिधी गर्नुभएका उहाँले २४ वर्ष निजामति सेवामा बिताउनुभयो ।

विसं २०४८ सालमा वैज्ञानिक अधिकृतको रुपमा सेवा प्रवेश गर्नुभएका भट्टराईले जागिरको सबैजसो समय वनस्पती विभाग अन्तर्गतका विभिन्न निकायमा बिताउनुभयो । नेपालको जैविक विविधता र यसको सम्भावनाबारे गहिरो अध्ययन गर्नुभएका कारण उहाँलाई लाग्थ्यो, विभागमै हुँदा नेपालमा जडिबुटी खेतीको व्यवसायीकरणका लागि धेरै काम गर्न सकिन्छ । 

तर सबै कुरा उहाँले सोचे र चाहे जस्तो हुन सकेन । ‘चाहे अनुसारको काम गर्न म आफ्नो सही चल्ने ठाउँमा पुग्नुपर्थ्यो, त्यो भनेको वनस्पति विभागको महानिर्देशक हो ।’ भट्टराईले भन्नुभयो, ‘तर क्षमता हुँदा हुँदै मभन्दा जुनियरलाई महानिर्देशक बनाइयो ।’ 

विभागको महानिर्देशक हुने र नेपालको जडिबुटी खेतीलाई नयाँ दिशा दिने वर्षौँदेखिको योजना पूरा नहुने जस्तो लागेपछि उहाँले जागिरबाट राजीनामा दिनुभयो । ‘अलिअलि चित्त पनि दुख्यो, त्यसपछि नेपालमा बस्नै मन लागेन, क्याम्पसतिर पढाउँछु र उतै बस्छु भनेर क्यानडातिर लागेँ’ उहाँ भन्नुहुन्छ, ‘क्यानडामा पनि दुई वर्षभन्दा बढी बस्न सकिनँ, त्यहाँ पनि आत्मसन्तुष्टि र आत्मसम्मान नपाएपछि फेरि नेपाल फर्किएँ ।’

नेपालमा प्राकृतिक रुपमै उम्रने जडिबुटीको थोरै व्यवसाय गर्न सके मात्रै पनि देशको अर्थतन्त्रले कोल्टे फेर्न सक्छ भन्ने विश्वास छँदै थियो, त्यसलाई व्यवहारिक रुपमै सिद्ध गर्ने अठोटसहित भट्टराई जडिबुटीको व्यवसायिक खेती गर्ने टुंगोमा पुग्नुभयो । पोखरा कास्कीकोटमा जन्मनुभएका भट्टराईलाई जडिबुटीको लतले नै गोरखा ल्याइपुर्‍यायो । 

‘नेपालमा विश्वभरका सबै देशमा हुने हावापानी पाइन्छ, त्यसमा पनि गोरखामा तराइ, पहाड र हिमाली तीनै प्रकारको वातावरण छ’ भट्टराईले भन्नुभयो, ‘मर्स्याङ्दी किनार माथितिरको भूभाग जडिबुटीका लागि हावापानीका हिसाबले उत्तम भएकाले यतै आइयो ।’ साथीहरु मणीध्वज जोशी, रामहरी सुवेदी र भगवती मैनालीसँग मिलेर व्यवसायिक जडिबुटी खेती गर्ने गरी जन्म भयो, गोरखा अर्गानिक हर्वल फर्म प्रालि ।

काठमाण्डौमा दर्ता भएको यो कम्पनीले गोरखा नगरपालिका वडा नम्बर १४ देउरालीको गोर्बुङ गाउँमा जडिबुटी खेती सुरु गरेको एक वर्षमात्रै भएको छ । ‘नेपाललाई जडिबुटीमा आत्मनिर्भर बनाउने र भारतलगायत देशबाट हुने आयात प्रतिस्थापन गर्ने हाम्रो अभियान हो’ एक सय रोपनी भन्दा बढी क्षेत्रमा फैलिएको फार्मको डिलमा उभिएर डाक्टर भट्टराईले भन्नुभयो, ‘यो हाम्रो अभियान हो, हामी मात्रैले त सक्दैनौँ, कम्तीमा हाम्रो खेती हेरेर अरुलाई पनि प्रेरणा मिलोस् भन्ने उद्धेश्य हो ।’

कस्तो छ फार्म ?

गोरखा अर्गानिक प्रालिले गोर्बुङ गाउँमा डेढ शय रोपनी जग्गामा ९० प्रकारका जडिबुटी खेती गरेको छ । फार्ममा हाम्रो पाखापखेरामा पाइने रुदिलो र भृङ्गीराजदेखि विश्वमै सबैभन्दा बढी मूल्यमा बिक्री हुने अगार उडसम्मका जडिबुटी छन् । ‘विश्वकै महंगो वनस्पति भए पनि अगार उडको पर्याप्त खेती हुन सकेको छैन’ विश्व बजारमा प्रतिकिलो ५० लाख नेपाली रुपैयाँभन्दा बढी मूल्य पर्ने महंगो वनस्पतिको विशेषता बताउँदै भट्टराईले भन्नुभयो, ‘अहिले विश्व बजारमा मागको ३० देखि ४० प्रतिशत मात्रै आपूर्ति भएको छ, एउटा नेपालीले ५ बोट मात्रै यो विरुवा लगाउने हो भने यसैबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’ 

नेपाली बजारमा एउटा बेर्नाको ७ देखि ८ सय रुपैयाँ पर्ने भए पनि उहाँले भने असामबाट डेढ सय रुपैयाँसम्ममा १ हजार बिरुवा ल्याउनुभएको छ । ‘एउटा रुख ३० देखि ४० मिटरसम्मको हुन्छ, रोपेको ८ वर्षमा उत्पादन दिन्छ’ अगार उडको उपयोगिता बताउँदै उहाँ भन्नुहुन्छ, ‘यो विरुवाको बोक्रा धुप बनाउन र भित्रको काठ अत्तर बनाउन प्रयोग हुन्छ ।’ 

गोरखा अर्गानिक फार्ममा सुन्दा अनौठा लाग्ने अरु थुप्रै जडिबुटीको पनि खेती गरिएको छ । ६८ प्रकारको एन्टी अक्सिडेन्टयुक्त वनस्पति मोरिङ्गा अर्थात् सितलचिनीदेखि अत्यधिक पोषकतत्व पाइने चियासिढका विरुवा यहाँ हुर्किरहेका छन् । क्यान्सर किलरको रुपमा चिनिने सावर सपदेखि वरिपरीको माटोलाई समेत मलिलो बनाइदिने करन्ज नामका जडिबुटी कम्तीमा ५ वर्षमा हुर्कने छन् । यतिमात्रै होइन, हामीले झारपात भनेर बेवास्ता गरेका जडिबुटीको पनि भट्टराईको फार्मले ब्यवसायिक खेती गरेको छ ।

‘हामी बाटैभरी लज्जावती झार देख्छौँ खासै वास्ता पनि गर्दैनौँ नि, रक्तस्रावदेखि मुटुसम्बन्धी रोगको औषधी यसैबाट बन्छ’ खेतका कान्लाकान्लामा पाइने भृङ्गीराजबारे भट्टराईले भन्नुभयो, ‘जण्डिससम्बन्धी औषधी बन्ने यही झारबाट हो ।’ यसबाहेक फार्ममा तुलसी, नीम, अमला, दुधेझार, पुननर्वा, एलोभेला, सिमली, पारिजात, अश्वगन्धा, दालचिनी लगायतका जडिबुटी लगाइएको छ । एक वर्षको बीचमा फार्ममा ४ करोड रुपैयाँ लगानी गरिसक्नु भएका भट्टराई अझै लगानी बढाउने तयारीमा हुनुहुन्छ । 

देउरालीकै मस्र्याङ्दी किनारमा भने भाडामा एक सय रोपनी जग्गा लिएर त्यहीँको हावापानी सुहाउँदो जडिबुटी लगाउने उहाँको सोच छ । ‘सबै विरुवा हुर्केर प्रतिफल लिन ५ वर्ष जति लाग्छ’ भट्टराईले ढुक्कका साथ भन्नुभयो, ‘५ वर्षसम्म धैर्य गर्नुपर्छ, बजारको त चिन्तै छैन ।’ एक सय भन्दा बढी आयुर्वेदिक औषधि उत्पादन गर्ने गोरखा आयुर्वेद कम्पनीका पनि भट्टराई साझेदारमध्ये एक हुनुहुन्छ ।

अहिले यो कम्पनीले अधिकांश जडिबुटी भारतबाट ल्याउने गरेको छ । उसले खपत गर्नेमध्ये ९० प्रतिशत जडिबुटी आफ्नो फार्मबाट उपलब्ध गराउने भट्टराईको लक्ष्य छ । ‘एकातिर भारतबाट बढी मूल्यमा आयात गर्नुपर्ने बाध्यता पनि हट्यो, मेरो उत्पादनले बजार पनि पायो ।’ उहाँले भन्नुभयो । 

चुनौती पनि उत्तिकै

गएको मंसिरमा फार्ममा उत्पादित केही जडिबुटी बिक्रीका लागि गोरखा बजारमा रहेको आयुर्वेद कम्पनीमा लैजाने क्रममा बाटैमा प्रहरीले समात्यो । प्रहरीले पूर्जी माग्यो, तर पूर्जी थिएन । ‘म मात्रै होइन, जिल्लाभरका जडिबुटी उत्पादक किसानको पहिलो चुनौती यही हो’ भट्टराई भन्नुहुन्छ, ‘जबसम्म अन्य कृषि उपज सरह जडिबुटीलाई पनि मान्यता दिइन्न, यस्तो समस्या आइरहन्छ ।’ त्यसका लागि वन नियमावलीमा विद्यमान व्यवस्था संशोधन गरी जडिबुटीलाई पनि कृृषि उपज सरह मान्यता दिनुपर्ने उहाँको भनाइ छ ।

यस्तै देशमा भित्रने अर्बौँको जडिबुटीको माग देशभित्रैको उत्पादनले धान्न सक्ने भए पनि यो अनुसारको योजना नभएको उहाँले बताउनुभयो । ‘गएको वर्षकै तथ्याङ्क हेर्दा पनि हामीले ११ अर्ब ६५ करोड रुपैयाँको जडिबुटी आयात गरेका छौँ, तर निर्यातचाहिँ १ अर्ब ३४ करोड रुपैयाँकामात्रै’ उहाँले भन्नुभयो, ‘सरकारले थोरै नीतिगत व्यवस्था मात्रै गर्ने हो भने हामी आयातलाई शून्य मै झार्न सक्छौँ ।’ जडिबुटी खेतीमा अनुदान उपलब्ध नभएको, बीमा हुन नसकेको विषयमा पनि भट्टराईको चित्त दुखाइ छ । 

भट्टराइको गोरखा अर्गानिक फार्मले पनि अधिकांश जडिबुटीको विरुवा भारतबाट ल्याएको छ । माटो परीक्षण पनि सहज नभएको उहाँको गुनासो छ । ‘यति गरेर खेती सुरु गरे पनि किसानलाई प्रोत्साहित गर्न अनुदान, मल बिउको व्यवस्था पनि छैन’ भट्टराईले भन्नुभयो, ‘जडीबुटी खेतीमा लागेकालाई कसैले वास्ता गरेको छैन ।’ यसबारे गोरखा नगरपालिकादेखि गण्डकी प्रदेश सरकार र संघीय सरकारलाई ध्यानाकर्षण गराए पनि चासो नदिएको भट्टराईको दुखेसो छ । भट्टराई भन्नुहुन्छ, ‘उहाँहरुले गर्नुहोला भनेर कुर्‍यो भने समय बित्छ, त्यसैले आफैँले सुरु गरियो ।’ यो फार्मलाई जडिबुटी खेती गर्न चाहनेहरुको स्रोत केन्द्रको रुपमा विकास गर्ने पनि भट्टराईको लक्ष्य छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

2 Comments

  • Bhawani purush

    May 26, 2019, 10:07 a.m.

    म पनि केहि सिक्न चाहन्छु अनि गर्न चाहन्छु भन्दा मलाई त गाह्रो भयो, त्यहि माथि बीमाको कुरा छैन , काम भने गरिरहको नै छु अझ सम्म / कृपया सम्पर्क नम्वर दिनुहोस न /

  •  0 Reply
  • Nav Raj Simkhada

    May 26, 2019, 6:34 a.m.

    धेरै राम्रो काम खेमजी !

  •  0 Reply

तपाईको प्रतिक्रिया