त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

 जेठ १८, २०७६ शनिबार ९:३७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपणमा सफलता प्राप्त गरेको छ ।

शनिबार राति शिक्षण अस्पतालमा प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वको टिमले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको हो । 

डाक्टर भण्डारीका अनुसार एक जना छोरीले बुवालाई कलेजो दान गरेकी हुन् । तर परिवारको आग्रहमा नाम भने नखुलाइएको डाक्टर भण्डारीले बताउनुभयो । कलेजो प्रत्यारोपण गर्न झण्डै १६ घण्टा लागेको डाक्टर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार बिहानदेखि सुरु भएको शल्यक्रिया शनिबार मध्य रातमा सकिएको थियो ।  

नेपालमा २५ लाख रुपैयाँको हाराहारीमा कलेजो प्रत्यारोपण गर्न सकिने उहाँको भनाइ छ । यस्तै परिवारभित्रकै नजिकैको व्यक्तिले मात्र कलेजो दान गर्न सक्नेछन् ।

डाक्टर भण्डारीका अनुसार १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिनेछ । कलेजो दान गर्ने व्यक्तिको शरीरमा बोसो जमेको हुन नहुने तथा कलेजो लिने व्यक्तिसँग रक्त समुह पनि मिलेको हुनुपर्ने उहाँले जानकारी दिनुभयो । अबको केही समयपछि शिक्षण अस्पतालमा महिनामा कम्तीमा पनि एउटा कलेजो प्रत्यारोपण गर्ने आफ्नो योजना रहेको उहाँले उज्यालोसँग बताउनुभयो । त्यसपछि वर्षमा २०–२५ वटासम्म कलेजो प्रत्यारोपण गर्ने लक्ष्य रहेको डाक्टर भण्डारीको भनाइ छ ।  

डाक्टर भण्डारीले सन् २००९ मै अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने सपना देखेको भए पनि १० वर्षपछि मात्रै आफ्नो सपना पूरा भएको बताउनु भएको छ । उहाँले आफूले विदेशमा गएर यसबारे विस्तृत अध्ययन गरेको बताउनुभएको छ । 

सबैको टिम वर्कले मात्रै अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको भन्दै डाक्टर भण्डारीले शल्यक्रियामा संलग्न डाक्टर तथा नर्सहरुको टोलीलाई धन्यवाद दिनु भएको छ । यसअघि भक्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन । 

त्रिवि शिक्षण अस्पतालमै कलेजोको सफल प्रत्यारोपणपछि अब बिरामीलाई भारत जानुपर्ने बाध्यता हट्ने डाक्टर भण्डारीले बताउनु भएको छ । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bhim shahi thakuri

    June 2, 2019, 9:04 p.m.

    I'm so happy, Nepalese doctor are not downward .So great work. It work has bring big changes in nepal and nepalese realise not going out of country studies foreign country

  •  0 Reply

तपाईको प्रतिक्रिया