दर्शक-श्रोताको रोजाइमा प्रकाश सपूतको ‘गलबन्दी’: यूट्यूबको १ नम्बर ट्रेन्डिङमा

 जेठ १८, २०७६ शनिबार १७:५४:२१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – आम दर्शक तथा श्रोताको मन जित्ने गरी गाउन, नाच्न सक्ने खुबी भएका बहुप्रतिभाशाली सर्जक हुन्, गायक, मोडल, संगीतकार प्रकाश सपूत । धेरै लोकदोहोरी गीत गाउनुका साथ थुप्रै गीतमा कम्मर मर्काएका प्रकाश सपूत अहिलेका चर्चित सर्जक रुपमा चिनिन्छन्, नेपाली सांगीतिक क्षेत्रमा ।

‘बोल माया’ पछि नेपाली लोक सांगीतिक क्षेत्रमा उनको चर्चा निकै चुलियो । वैदेशिक रोजगारीले निम्त्याएका समस्यामा केन्द्रlत रही तयार पारिएको ‘बोल माया’ले धेरै दर्शक श्रोतालाई रुवायो ।

उनै युवा सर्जक प्रकाश सपूतको ‘गलबन्दी’ अहिले चर्चामा छ । सबै उमेर समूहका दर्शक-श्रोताले रुचाएका छन्, यस गीतलाई । यस गीतमा माया प्रेमको भावलाई मौलिक शब्द, लय, सुरमा प्रस्तुत गरिएको छ । यस गीतको शब्द, संगीत प्रकाश सपूतकै होे भने आवाज पनि प्रकाश सपूत र गायिका शान्तिश्री परियारले भरेका छन् ।

गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र प्रकाश सपूतलाई ‘फिचरिङ’ गरिएको छ । भिडियोको बीचबीचमा राखिएको संवादले दर्शकलाई थप मनोरञ्जन दिएको छ । यस गीतको निर्देशन पनि प्रकाशले नै गरेका हुन् ।

प्रकाश सपूतको आफ्नै यूट्यूब च्यानलबाट ६ दिनअघि अपलोड गरिएको यस गीतको भिडियो युट्युब ट्रेन्डिङ १ मा पर्न सफल भएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया