जन्मदर्ता र नागरिकता माग्दा खुर्पा हान्ने बाबु पक्राउ

 जेठ २१, २०७६ मंगलबार १८:०:२८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - छोरीको जन्मदर्ता र श्रीमतीले नागरिकता बनाउन माग गर्दा छोरी माथी खुर्पाले हानेर घाइते पार्ने बाबुलाई प्रहरीले साेमबार पक्राउ गरेको छ ।

नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट अम्वोटेका ४० वर्षीय बाबुराम वस्तीले हेटौडामा बस्दै आएकी छोरी १८ वर्षीया सुनिता वस्तीलाई हिजो राति (सोमबार) खुर्पाले हानेपछि गम्भीर घाइते भएकी छिन् । घाइते सुनिताको जिल्ला अस्पताल धादिङवेशीमा सामान्य उपचारपछि काठमाण्डौ शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उनकाे निधारमा गम्भीर चोट लागेको छ । 

आफ्नो जन्म दर्ता र आमाको नागरिकता बनाउने कामका लागि हेटौडाबाट घर आएकी सुनितालाई घरमा पुगेपछि पिता बाबुरामसँग केहीबेर विवाद भएपछि घरको आँगनकाे डिलमा खुर्पाले हानेका थिए । 

मजदुरी गरेर बस्ने आमासँग हेटौडामा बस्दै आएकी सुनिता आफूलाई जन्म दर्ता र आमालाई नेपाली नागरिकता बनाउनु आवश्यक भएपछि घर आएकी थिइन् घर आइपुगेपछि विवाद सुरु भएको र हातपात गरी घरको आगनबाट तल खुर्पाले हानिएको घाइतेकी आमा सरिताले जानकारी दिनुभयो ।

आमाछोरी घर पुग्दा बलराम साँझ घाँस काट्न गएकाले साँझ ७.३० बजे तिरमात्रै घर आइपुगेका थिए । घाँसको भारी बिसाउन नभ्याउँदै बलरामकी पत्नी सरिता र छोरीसँग वादविवाद सुरु भएको र त्यसै क्रममा गाली गर्दै आक्रमण गरेका थिए । सरिता भागेपछि आँगनको छेउमा उभिएकी सुष्मितालाई त्यहाँबाट धकेलेर कान्लामुनि लडाएपछि  बलरामले दौडँदै गएर हातमा बाेकेको हँसियाले टाउकोमा प्रहार गरेका थिए । 

सुनिताको जिल्ला अस्पताल धादिङवेशीमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । घाइते निधारमा गम्भीर चोट लागेको छ । 

घटनामा संलग्न बाबुराम वस्तीलाई ०७६ जेठ २० गते राती प्रहरीले गिरफ्तार गरि हिरासतमा लिएको छ । घटनाको छानबिनपछि सबै कुरा जानकारी भइ पीडित परिवारलाई न्याय दिन सकिने जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो । 

नागरिकता बनाउन बुबा बलराम वस्तीले नै पत्नी र छोरीलाई जन्म दर्ताको लागि केही दिन अघि बोलाएपछि आमाछोरी घर आएका थिए । आफू र छोरीको ज्यान लिने कोसिस भएको र छोरीलाई गम्भिर घाईते बनाएको भन्दै सरिता वस्तीले पति विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ २१ गते जाहेरी दर्ता गराइन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया