चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
केही दिनअघिको कुरा हो, माइक्रोबस चढ्दा महिला सिटमा एकजना ६० वर्षकी आमासँग भेट भयो । माइक्रो चढ्ने बित्तिकै उहाँले बोलाउनुभयो, ‘यहीँ बस बा’ भनेर उता सर्र्नुभयो । कहिल्यै नदेखेको नचिनेको मान्छेले आफ्नै जसरी बोलाएपछि खुशी हुँदै खाली सिटमा बसें । मेरो बोल्ने बानी छ, नबोली बस्नै सदिक्नँ । त्यसमाथि उहाँले नै बोलाउनुभयो ।
उहाँले नै कुराकानी सुरु गर्नुभयो, ‘नानी तिमी त मेरो छोरो जस्तै लाग्यो कहाँ हो घर ?’
मैले सिधै गोरखा भनें ।
त्यसपछि उहाँले झनै खुशी हुँदै भन्नुभयो, ‘मेरो माइती पनि गोरखा हो नि ।’
मैले पनि उत्सुक हुँदै सोधेँ, ‘गोरखा कुन ठाउँ ?’
उहाँले भन्नुभयो, ‘गोरखा बजार हिलेपानी हो ।’
‘त्यसो भए पालुङटार थाहा छ होला, मेरो त्यहीँ हो नि’, मैले भनें ।
त्यसपछि उहाँ झन खुशी हुँदै भन्नुभयो, ‘म बसेको ठाउँ हो मामाघर । म हुर्किएको मामाघरमा नै हो ।’
सबै सोध्दै जाँदा यति नजिकको लाग्यो कि मैले आफ्नै घरको सदस्य भेटे झैँ भयो ।
उहाँले सबै कुरा सोध्नुभयो । मैले उत्तर दिंदै गएँ । गाडी चलाउने चालक तथा सहचालक पनि दंग परेर हाम्रो कुराकानी सुनिरहेका थिए । सहचालकलाई सोध्न मन लागेछ, ‘तपाइँहरु यहीँ आएर चिनजान भएको हो त ?’
उहाँले हाँस्दै भन्नुभयो, ‘किन बाबु डाह लाग्यो र ?’
सहचालकले हतारहतार भने, ‘होइन होइन, यो काठमाण्डौमा एउटै सिटमा बसेर पनि कसैलाई कसैको वास्ता नै हँुदैन, तर तपाईहरुको बोलचालले त अचम्म लाग्यो । त्यही भएर सोधेको मात्रै ।’
आमाको अरु कुरामा त उत्तर मात्रै दिँदै गएँ । तर उहाँको ‘नानी तिमीलाई विदेश जान मन लाग्दैन?’ भन्ने प्रश्नले भने झस्कायो ।
कुनै दिन मलाई पनि विदेश जाने भन्ने भूतले निकै सताएको थियो । त्यतिबेला म अञ्जान नै थिएँ, विदेशको परिवेशको बारेमा । अरुले उचालेर जान खोजेको, तर मेरो घरबाट जान दिनु भएन । त्यसपछि नेपालमा नै बसेर पढ्न थालें ।
हिजो आज त अरुको देशमा गएर पसिना बगाउन भन्दा आफ्नै देशमा बगाउँछु भन्ने लाग्छ । तर कतिपय गतिविधिले मन टोलाउँछ ।
ममी बाबालाई छोडेर जान पनि सक्दिनँ भनेर के भनेको थिएँ, उहाँको आँखामा आँसु देखें । ‘किन आन्टी, के भयो र ?’ मैले सोधें । उहाँको एउटा छोरा र एउटी छोरी रहेछन् । छोरा लण्डन गएको पनि १० वर्ष भैसकेको रहेछ, उतैको केटी बिहे गरेर बसेका रे ।
‘आफ्नो कत्रो धोको थियो बा धुमधामले यहीँको केटी बिहे गर्ने, आफूसँगै राख्ने । तर त्यो पनि मनको लड्डुजस्तै भयो । कहिलेकाहीँ फोन गर्छ, भिडियो हेरेर मन बुझाउनु परेको छ । त्यो नि ‘बिजी’ छु भन्छ धेरै कुरै हुँदैन’, उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, ‘बावु पनि रोगी छन् । मेरो पनि उमेर घर्किंदैछ । के गर्नु बा, औषधि लिन आफैँ आएको छु, उहाँले पे्रसरको औषधि खानु पर्छ ।
मैले फेरि सोधें, ‘अनि छोरी ?’
उहाँले भन्नुभयो, ‘छोरीको त झन बिहे पनि भएको छैन । खै के हो गरेर अष्ट्रेलिया गएकी पढ्नलाई । दुई वर्ष भयो घर आइज भन्दा पैसा कमाउन सकेको छैन, अब कलेज सकेर पैसा कमाएर आउँछु भन्छे । के गर्नु नानी तिमीले त ममीबाबाको ख्याल राख है । तिमी मेरी छोरी जस्तै लागेर यतिका कुरा गरें ।’
उहाँले थप्नुभयो, ‘मेरो घर यहीँ नजिक हो, आउँदै गर बा, म नि तिम्रो आमाजस्तै हूँ । मलाई नि छोरीको न्यास्रो मेटिन्छ कि ।’
उहाँको यो शब्दले मन गह्र्रौं भयो । त्यो ठाउँमा आफूलाई राखेर सोचें, एकदिन फोनमा कुरा नहँुदा त आत्तिने मेरो घर झन अरुको देशमा गएको भए के हुन्थ्यो होला भन्ने लाग्यो । उहाँको कुराले मेरो घरबाट किन जान नदिनु भएको रहेनछ भन्ने महसुस भयो ।
आमाले फेरि भन्नुभयो, ‘छोराछोरीलाई नेपालमा बस्न मन त पर्दैन । तर हामी जाने अवस्था छैन । बुढाबुढी मात्रै छौं, गाह्रो छ । दुवैजना बिरामी भयौं भने के गर्ने ? त्यही चिन्ता छ । छोरालाई फोन गर्यो पैसा यति पठाउँछु र उति पठाउँछु भन्छ । तर त्यो पैसा आफैं घरमा आउँदैन, लिन जानुपर्याे । अस्पताल घरमा हँुदैन, गाडी बोलाएर लैजानु पर्छ । पैसाले केही गर्दैन रहेछ । उबेला यिनीहरुको लागि कसरी पैसा कमाउने भनेर यत्ति दुःख गर्यौं, जुन म भन्नै सक्दिनँ । तर अहिले पैसा जति चाहिए पनि छ । तर तिनै छोराछोरी साथमा छैनन् । अब त्यो पैसो के काम ? त्यसैले तिमीले ममीबाबाको साथ नछोड है नानी ।’
उहाँको यो शब्दले म निकै टोलाएँ । एकोहोरो हुँदा सुन्धारामा गाडीबाट ओर्लनै भुलेछु । गाडीमा उहाँले नै झरेर बोलाउनुभयो ।
आमा त एक पात्र मात्र हुनुहुन्छ । उहाँजस्तै धेरै आमाबाबु छोराछोरी परदेशिएपछि एक्लो भएका छन् । वैशाख महिनाकै तथ्याँक हेर्दा पनि झण्डै आधा लाख नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका छन् ।
बाहिर गएर फर्किंदा कतिले जसोतसो पैसा बोकेर आउँछन् भने कति बाकसमा बन्द भएर आउनु पर्छ । कतिको काख रित्तो भएको छ । विदेशको मोहले कतिको सिउँदो पुछिएको छ । अनि कत्तिको घरबार उजाडिएको छ । आफ्नै देशमा काम गर्ने वातावरण बनाउन सकिंदैन ? के नागरिकलाई विदेशी मोहबाट छुटकारा दिनै नसकिने हो र ? यस्ता प्रश्न त धेरै छन्, तर उत्तर पाउन गाह्रो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Milan
June 9, 2019, 4:41 a.m.बिना जि यात्राको क्रममा भेटियकि आमासंग भयको कुरा पढ्दै गर्दा मन दुखि भयो ।तर यो कुरा लेख्न भुल्नु भयछ कि कयौ छोराछोरीहरू रहर ले यूरोप जान्छन त कयौ गरीबका छोराछोरी एक छाक टार्न र बाबा आमा भाई बैनिका लुगा फेर्नै लागि खाडि जान्छन बाध्यता ले गर्दा बाबाआमा ले नै आफ्नो सन्तानलाई बिदेश पठाउन बाध्य हुन्छन हजुर केबल सहरीया परीबारका सम्पन्न छोराछोरी आफ्नै खुसिले बिदेसियकाको कहानि लेख्नुभयो । कणालि का बिकट गाउ रोल्पा रूकुम जाजरकोट प्यूठान गुल्मि र अर्खखाचि लगायतका बिकट गाउँ मा जानुस त्यहाका परीवारलाई सोध्नुस् छोराछोरी बिदेसिनुको पिडा र बाध्यता बुझ्नु हुन्छ । समग्रमा हजुरको लेख राम्रो छ ।
dhama paudyal
June 8, 2019, 8:57 p.m.यो त मेरै कहाँनी ती आमाले भ नि दिए जस्तो लाज्ञो । म ७१ बर्षको भए शृमती ६७ । दुइ छोरा छोरी छन । छोरो अमेरिका गएको ११ बर्ष भो पिएच डि । बिच मा ७ बर्ष पछी एक पटक आयो । छोरी दक्षण कोरियामा गएको पनि ७ बर्ष भो । दुबै इन्जिनियार हुन । मेरो हालत पनि त्यही हो पहिले पैसा न भएर खान पाइन्न थ्यो ऐले पैसा छ तर छोरा छोरी छैनन अफुलाई २-४ कहिलेपनी निको नहुने रोग सुगर्, ब्लड प्रेसर आदी छ । खान हुन्न । केहि भयो भने घर भित्रै मरिन्छ ।कतिदिन आइस मा सुतेपछी पशुपती पुर्याउने हुन । के गर्नु जीवन यस्तै छ ।