बारा हावाहुरी: घर निर्माण सूचीमा पीडितकाे सट्टा जनप्रतिनिधिका आफन्तकाे नाम

 असार ३, २०७६ मंगलबार १५:८:२२ | जयनारायण यादव
unn.prixa.net

बारा - वास्तविक हावाहुरी पीडितले आफूहरुको नाम घर निर्माणको सूचीमा नपरेको भन्दै आन्दोलन गरिरहेका बेला सुवर्ण गाउँपालिकाका केही जनप्रतिनिधिले भने आफ्ना घरपरिवारको नाम घर निर्माणको सूचीमा राखेकाे पाइएकाे छ।

सुवर्ण गाउँपालिका–४, हर्दियाका वडा सदस्य जटाशंकर प्रसाद यादव र दलित महिला सदस्य मन्तुरनी देवी रामले हावाहुरीले घरमा पूर्ण क्षति नपुर्या‍एका आफन्तकाे नाम घर निर्माणको सूचीमा पारेका हुन्।

वडा सदस्य यादवले आफ्ना बुवा बासुदेव प्रसाद यादव,दाइ बिन्देश्वरी प्रसाद यादव, भाईहरु बद्री प्रसाद यादव र रामबाबु प्रसाद यादवको नाम घर निर्माणको सूचीमा पारेको स्थानीयवासीकाे आराेप छ ।

वडा सदस्य मन्तुरनी देवी रामले आफ्ना दुई छोराको पनि घर निर्माण गराई सकेकी छिन् । वडा नम्बर-४ का वडाध्यक्ष दोलेन्द्र प्रसाद यादवले केही गैर पीडितको घर निर्माण भएको स्वीकार गर्दै त्यसको दोषी जिल्ला प्रशासन कार्यालय भएको आरोप लगाउनु भयो।

सुवर्ण गाउँपालिका वडा नम्बर-४ मा पक्की घर भएकाहरुले पनि भनसुनको आधारमा घर निर्माणको सूचीमा आफ्नो नाम समावेश गराएका छन्।

स्थानीयका अनुसार बहिदार प्रसाद यादव र रुपनारायण प्रसाद यादवकाे पक्की घर भएकाे, घरमा क्षति नभएकाे तर घर निर्माणको सूचीमा नाम समावेश गरिएकाे छ। सूचीमा परेका वडा सदस्य यादवका घरका चार सदस्यमध्ये दुई जनाको घर निर्माणसमेत भइसकेको छ।

 

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले स्थानीय तहको सिफारिसलाई आधार मानेर घर निर्माण भइरहेको बताउनु भयो।

अन्तिम अपडेट: बैशाख ८, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया