दुई घण्टा ढिलो सुरु भयाे का‌ंग्रेसकाे छलफल: शीर्ष नेता समयमै नआउँदा नेताहरु दिक्क

 असार ११, २०७६ बुधबार १८:५५:२७ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसका महामन्त्री डा.प्रकाशशरण महत अधिकांश कार्यक्रममा समयमै पुग्ने नेतामा पर्नुहुन्छ ।

बुधबार पार्टी कार्यालय सानेपामा पार्टीले आयोजना गरेको केन्द्रीय प्रतिनिधिसँगको छलफल कार्यक्रममा पनि महत निर्धारित समयमा नै पुग्नुभयो । कार्यक्रममा सहभागी हुन देशैभरबाट केन्द्रीय प्रतिनिधिहरु आउने क्रम चलिरहेको थियो । 

पार्टी कार्यालयको दोस्रो तलामा रहेको सभाहलमा महामन्त्री महत लगायत केन्द्रीय प्रतिनिधिहरुले पार्टीका शीर्ष नेताहरु पर्खँदै हुनुहुन्थ्यो । निकै लामो समयसम्म पनि शीर्ष नेताहरु नआउँदा महत हाइ काढ्दै निदाउनु भयो । झुपझुपु निदाएको देखेर सभाहलमै रहेका केन्द्रीय प्रतिनिधिहरुले धेरै दौडधुप भएर प्रकाश दाइ थाक्नुभएछ कि के हो ? भन्दै सोधीखोजी गर्दै थिए । 

निद्राले झुपुझुपु पारेपछि महामन्त्री महतले पटक पटक टेबलमा रहेको टिस्यु पेपरले मुख पुछ्दै फ्रेस हुन खोज्नु भयो । तर पनि नभएपछि २ पटकसम्म दुई तला माथिबाट तल झर्नुभयो ।  

यति गर्दासम्म पार्टीका उपसभापति विमलेन्द्र निधी, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव लगायतका नेताहरु सभाहल आइसक्नु भएको थियो । 

सबैले पार्टी सभापति शेरबहादुर देउवालाई नै कुरेर बसेका थिए । तर सभापति देउवा पार्टी कार्यालय पुगेर पनि झण्डै आधा घण्टाभन्दा बढी समयसम्म सभाहल नगई आफ्नै कार्यकक्षमा बस्नुभयो । 

छलफल कार्यक्रमको उद्घाटन कार्यक्रममा अर्का महामन्त्री डा.शेखर कोइराला आउन ढिलाई हुने भनेकाले उहाँलाई कुर्दै सभापति देउवा पनि आफ्नै कार्यकक्षमा बस्नु भएको थियो । 

कार्यक्रम सुरु गर्न ढिलाई भएपछि पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई सभापति देउवालाई छिटो सभाहलमा पटाउन पदाधिकारीहरुले नै आग्रह गर्नुपर्यो । 
कार्यक्रमको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीहरु भने पार्टीले कार्यकर्तालाई नभई नेतृत्वमा रहेकालाई नै जागरण गराउनु आवश्यक रहेको बताउँदै थिए । 

पार्टीकै महामन्त्री पूर्णबहादुर खड्का पनि नेतृत्व तहबाटै जागरण हुनु जरुरी रहेको भन्दै कार्यक्रम सुरु हुन ढिलाई भएको प्रति आक्रोश व्यक्त गर्दै हुनुहुन्थ्यो ।नजिकै रहनुभएका उपसभापति विमलेन्द्र निधी र विजयकुमार गच्छदार भने मुसुमुसु हाँसेरै बसिरहनु भएको थियो । 

पार्टीका केही नेताहरु भने यस्तै हो नेपाली टाइम भन्दै सभापति देउवाको आगमन पर्खेर बसेका थिए । 

बुधबारको कार्यक्रम मात्रै होइन कांग्रेसले आयोजना गर्ने अधिकांस कार्यक्रमहरु निर्धारित समयमा सुरु भएको बिरलै भेटिएला । पार्टीले आयोजना गर्ने कार्यक्रममा आउनेहरु पनि समयमा कार्यक्रम सुरु हुँदैन भन्नेमा अभ्यस्त भइसकेका छन् ।  

बुधबारबाट पार्टी कार्यालय सानेपामा पार्टीले सञ्चालन गरेको ‘राष्ट्रिय जागरण अभियान’ अन्तर्गत पहिलो चरणमा देशभर खटेका केन्द्रीय प्रतिनिधिसँगको छलफल कार्यक्रम पनि झण्डै २ घण्टा ढिला गरी सुरु भयो ।  

बिहान १०ः४५ देखि छलफल सुरु हुने भनेर सबै प्रतिनिधि र पार्टीका पदाधिकारीलाई बोलाइएको भए पनि पार्टी सभापति लगायत शीर्ष नेताहरु नै समयमा नपुग्दा कार्यक्रम ढिला हुन पुगेको थियो । 

निर्धारित समयभन्दा झण्डै २ घण्टापछि महामन्त्री डा.शेखर कोइराला पार्टी कार्यालय पुगेपछि सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पाैडेलसहित तीनै जना सभाहल छिर्नुभयो । 

नेताहरु सभाहल पुगेपछि झण्डै पौने एक बजे पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले कार्यक्रम सञ्चालन गर्दै सभापति देउवालाई बैठकको बारेमा जानकारी दिन आग्रह गर्नुभयो । 

सभापति देउवाले जागरण अभियान लिएर जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावहरुबाट पार्टीलाई थप उर्जा मिल्ने विश्वास व्यक्त गर्न भ्याउनुभयो ।  

उहाँले पार्टीले संचालन गर्ने दोस्रो र तेस्रो चरणको कार्यक्रमलाई पनि यो छलफलले थप परिस्कृत, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने पनि बताउनुभयो । 

त्यसपछि बोल्ने समय पाउनुभएका महामन्त्री पूर्णबहादुर खड्काले कार्यक्रमको औचित्य, कार्यक्रम तालिक तथा यसको आवश्यकताको विषयमा चर्चा गर्नुभयो ।

त्यसका साथै उहाँले निर्धारित समयमा नै कार्यक्रम सुरु हुन नसकेको प्रति क्षमा माग्दै आगामी दिनमा ढिला हुन नदिन नेतृत्वका साथै सबैले समयको महत्व ख्याल गर्न सुझाव दिनु भयो ।  

अहिले पार्टी कार्यालयमा ‘राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटेका केन्द्रीय प्रतिनिधिहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।  

कांग्रेसले पहिलो चरणमा बैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म ‘हिमाल, पहाड, तराई–मधेश’ नाम दिएर राष्ट्रिय जागरण अभियान चलाएको थियो ।अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले जिल्लामा कांग्रेसको अवस्था र कार्यकर्ता तथा सुभेच्छुकको भावना छलफलमा राख्ने छन् ।  

१५ घण्टा २५ मिनेटसम्म चल्छ छलफल

छलफलमा जागरण अभियानमा खटिएका सबै केन्द्रीय प्रतिनिधिलाई आफ्नो धारणा र प्रतिवेदन पेश गर्न १०/१० मिनेटको समय छुट्याइएको छ । 

केन्द्रीय प्रतिनिधिहरुले लिखित प्रतिवेदन पनि बुझाइसकेको र त्यसमा थप आफ्नो धारणा पनि राख्ने भएकाले हरेकलाई १० मिनेटको समय छुट्याएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । 

जागरण अभियानमा खटेका हरेक केन्द्रीय प्रतिनिधिहरुलाई १० मिनेट समय दिँदा पनि सबै  बोलिसक्न झण्डै १३ घण्टा समय लाग्ने छ ।

सबै प्रतिनिधिले आफ्नो धारणा राखिसकेपछि पार्टी पदाधिकारीहरुले त्यसमाथि आफ्नो रायसहितको धारणा राख्न १० मिनेटकै समय छुट्याइएको छ । 

पार्टी पदाधिकारी र केन्द्रीय प्रतिनिधि गरेर छलफल कार्यक्रम झण्डै १५ घण्टा २५ मिनेटसम्म चल्ने महामन्त्री खड्काले बताउनुभयो । 

कांग्रेसले जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम आउँदो भदौ २४ देखि असोज ७ गतेसम्म सुरु गर्दै छ । त्यस्तै तेस्रो तथा अन्तिम चरणको कार्यक्रम भने पुस ७ देखि सुरु भई १६ गते मेलमिलाप दिवसका दिन समापन हुने छ । 

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

 

अन्तिम अपडेट: फागुन २८, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया