साढे ४ लाख घुससहित इन्जिनियर पक्राउ

 असार १७, २०७६ मंगलबार १८:४९:४१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

फाइल फाेटाे

स्याङ्जा – स्याङ्जाको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर वसी अख्तर मोहम्मद मियाँ ४ लाख ५५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट खटिएको टोलीले घुससहित मियाँलाई पक्राउ गरेको हो । बिरुवा गाउँपालिका ८ मा सञ्चालित छत्रे खानेपानी उपभोक्ता समिति अन्तर्गतको योजनाबाट रकम लिएका मियाँलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको रोशन खड्काको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका मियाँलाई आवश्यक अनुसन्धानपछि कारबाही गरिने अख्तियार कार्यालयले जनाएको छ ।

रौतहट जिल्ला स्थाथ नगरपालिका–९, स्थायी घर भएका इन्जिनियर मियाँ लामो समयदेखि खानेपानी कार्यालय स्याङ्जामा कार्यरत थिए । पुतलीबजार नगरपालिका–१, नारायणस्थानका स्थानीय अनन्त मरासिनीको घरमा बस्दै आएका उनलाई रकम बुझ्दाबुझ्दै टोलीले कोठाबाटै पक्राउ गरेको थियो ।

स्थानीय ५७ घर परिवारलाई खानेपानीको सुविधा उपलब्ध गराने उद्देश्यले आर्थिक वर्ष २०७३/०७४ मा योजनाको सर्भे गरिएको थियो । कुल लागत २ करोड ६ लाख ११ हजार ८ सय रहेको योजनाको चालु आर्थिक वर्षमा २ लाख ३७ हजार विनियोजिन भए पनि २५ लाख बजेट थपिएको जिल्ला खानेपानी तथा सरसरफाइ डिभिजन कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया