सीप सिकेर जाँदा वैदेशिक रोजगारी अविस्मरणीय रह्यो

 असार १८, २०७६ बुधबार १४:१३:२२ | उज्यालो सहकर्मी

धनराज सापकोटा/रत्नगर, चितवन ।

अहिले म ३२ वर्ष भएँ । म सन् २००८ मा यूएई गएको थिएँ । त्यहाँ सात वर्ष काम गरेर फर्किएँ । र फेरि २०१५ मा कतार गएँ । कतारमा ३ वर्ष काम गरेर म नेपाल फर्किएँ ।

मैले मेरो जीवनका १० वर्ष परदेशी भूमीमा बिताएँ । धेरैको परदेश बसाइको अनुभव नरमाइलो हुने गर्छ । तर मेरो भने फरक भयो । दुई देशको बसाइ अविस्मरणीय भयो ।

१२ कक्षा पढ्दा पढ्दै हो म यूएई गएको । १९ वर्ष लागेको थिएँ । घरमा त्यस्तै त हो विभिन्न समस्या थियो । मनमा लाग्यो अब मैले कमाउन पर्छ । तर विदेश जाने भनेर यसै गएर हुँदैन । काम गर्न त हातमा केही सीप हुन पर्‍यो नि भन्ने लाग्यो ।

त्यसैले मैले नारायणघाटमै नेशनल कलेज अफ टेक्नोलिजीमा तीन महिना ईलेक्ट्रिसियनको सीप सिकेँ । हातमा सीप भएपछि ढुक्क हुनेरहेछ । यूएईबाटै अन्तर्वार्ता लिन आएका थिए । मैले ढुक्कका साथ अन्तर्वार्ता दिएँ । पास पनि भएँ । 

कम्पनीले हुन्छ भनेपछि मात्र म विदेश गएको थिएँ । सीप सिकेर गएकाले पनि हो कि मैले त्यहाँ पुगेपछि सम्झौता अनुसार नै काम र तलब पाएँ ।  ‘भर्जर एट डेल्पोरेट’ कम्पनीमा ७ वर्ष काम गरेँ ।

बन्दै गरेका घरहरुमा ‘वायरिङ’को काम गर्नुपथ्र्यो । तीन वर्ष काम गरिसकेपछि मेरो प्रमोशन भयो । कम्पनीले मलाई ‘चार्ज ईन ह्याण्ड’ अर्थात सुपरभाइजर बनायो ।
त्यसपछि ३० जना कामदारको ‘ग्रुप लिडर’ भएर मैले काम गर्नुपथ्र्यो । ग्रुपमा बंगाली, पाकिस्तानीदेखि भारतीयहरु थिए ।  सबैले मैले भनेको मान्थे । काम गर्न खुब रमाइलो हुन्थ्यो । 

मैले आफ्नो टिममा काम गर्नेहलाई काम लगाउन जानेको थिएँ । कहिले चिसो खान दिन्थेँ, कहिले खाजा खुवाउँथे । ‘चार्ज इन ह्याण्ड’ भइसकेपछि हातभन्दा पनि दिमाग चलाउन पर्थ्याे । पोस्ट बढेसँगै मेरो तलब पनि २ सय दिर्हाम बढ्यो । त्यसपछि पनि फेरि एक पटक बढाएर मेरो तलब १३ सय दिर्हाम पुगेको थियो ।  

सात वर्षको यूएई बसाइमा मैले लगभग १५/१६ लाख रुपैयाँ जति कमाएको थिएँ । त्यहिबेला चितवनको सौराहामा पनि १२ धुरजति जग्गा किनेँ । योबीचमा म तीन पटक नेपाल आएको थिएँ ।

यूएईमा राम्रो काम हुँदाहुँदै पनि कतारबाट राम्रो अफर आएकाले म फर्किएर कतार गएको हुँ । कामदार माग गरिएको इण्डीयन टाटा ग्रुपको कम्पनी ‘भोल्टाज’को लागि रहेछ । कम्पनीबाटै अन्तर्वार्ताको लागि मानिसहरु यूएर्ई आएका थिए । अन्तर्वार्ता दिएपछि म पास भएँ । आफू काम गरिरहेको कम्पनीमा राजीनमा दिएर म कतार लागेँ । 

जे होस तीन वर्ष मात्र बसेर पनि कतारको बसाई अविस्मरणीय भयो । त्यहाँ पनि सुपरभाइजरको काम थियो । कम्पनीले बल्बदेखि एलईडी उत्पादन गथ्र्यो । कमाइ पनि राम्रै हुन्थ्यो । महिनाको एक डेढ लाख रुपैयाँ हुन्थ्यो । त्यतैको कमाइले नै मैले दुई तले पक्की घर बनाएँ । बिहे गरेँ । 

तीन वर्ष कतारमा काम गरेर सन् २०१८ सालको सुरुसुरुमा म बिहे गर्न नेपाल आएको थिएँ । बिहे गरेर कतार गएको एघार दिनपछि फेरि नेपालमै फर्किनुपर्यो । कतारले ६ वटा कम्पनीलाई नाकाबन्दी गरेपछि त्यसैको चपेटामा मैले काम गर्ने कम्पनी पनि परेको थियो ।

मैले काम गर्दै आएको ‘भोल्टाजको प्रोजेक्ट’ पनि सकियो । त्यसपछि धेरै मानिस नचाहिने भयो भनेपछि कम्पनीले तपाईंहरु जानुस् भनेर हामीहरुलाई पठाएको थियो । 

त्यही कम्पनीमा हामी डेढसय जति साथीहरु थियौँ, कम्पनीले काम नभएपछि सबैलाई पठाइदियो । कोही आफ्नो घरतिर फर्के कोही अन्तै काम गर्न थाले । म पनि घर फर्किएँ । नत्र म अहिले पनि उतै हुन्थेंं होला ।

मलाई अन्तै कम्पनीमा काम गर्न जाने मन लागेन । विदेशमा काम गर्न थालेको पनि लामो समय भइसकेको थियो । मेरो लागि त लामो छुट्टी मिलेको जस्तो भयो । घर गएर आफ्नै देशमा केही गरौँ न भन्ने लाग्यो । त्यसपछि म नेपाल फर्किएँ ।

अहिले नेपाल आएको दुई वर्ष हुन थाल्यो । गाउँघरमा ‘वायरिङ’को काम गरिरहेको छुँ । यता पनि काम भ्याइनभ्याइ नै छ । महिनाको ३५/४० हजार रुपैयाँ त सजिलै कमाउँछु । 

श्रीमती बोर्डिङ स्कुलमा पढाउँछिन् । छोरी ९ महिनाकी भइन् । हामी एकदमै खुशी छौं । अब सौराहमै ठूलो बिजुली पसल खोल्न मन छ । दुईचार जनालाई रोजगारी पनि दिन पाए हुन्थ्यो भन्ने लागेको छ ।
 

अन्तिम अपडेट: भदौ २२, २०७६

1 Comments

  • NISHAN KOIRALA

    July 4, 2019, 7:41 a.m.

    धेरै राम्रो लाग्यो सुन्दा ...हाम्रो गाउँ घरका दाइ दिदि केहि सीप नसिकी जाँदा धेरै दु:ख खेप्नु परेको धेरै सुनेका छौं / तर ती दाइले जुन किसिमको सीप सिके, त्यही काम पाएर खुशी छन् /त्यसैले विदेश जाँदा सीप सिकेर गएमा दु:ख आइ नपर्ने रहेछ /

  •  0 Reply

तपाईको प्रतिक्रिया