बहिनीको चप्पल समाउन खोज्दा दिदीलाई मर्स्याङ्दीले बगायो

 असार २०, २०७६ शुक्रबार १७:३:५५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुन्दरबजार नगरपालिका-९ बेलघारीमा मर्स्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् । 

शुक्रबार नदी किनारमा साथीहरुसँग खेल्ने क्रममा खोलाले बगाएको बहिनीको चप्पल समाउन खोज्दा सात वर्षीया रितु गुरुङलाई मर्स्याङदीले बगाएको हो । 

सुन्दरबजार नगरपालिका-९ बेलघारीकी नन्दकुमारी गुरुङकी छोरीलाई मर्स्याङ्दीले बगाएको जिल्लाप्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो । रितु दोर्दी गाउँपालिका–१, मा रहेकाे रत्न प्राविको कक्षा तीनमा पढ्दै आएकी थिइन् ।

‘साथीहरुसँग नदीकिनारामा खेल्दै गर्दा बहिनीको चप्पल खोलाले बगाएछ । खोलाले बगाउँदै गरेको चप्पल छोप्न खोज्दा उनलाई खोलाले बगाएपछि बेपत्ता भएकी छिन्,’ प्रहरी निरीक्षक पाण्डेले भन्नुभयो ।

खोलाले बगाएर बेपत्ता भएकी बालिकाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया