अध्यक्षद्वय नै साङ्गठनिक एकीकरणकाे गृहकार्यमा जुट्नुभएकाे छ : नेकपा प्रवक्ता श्रेष्ठ

 असार २१, २०७६ शनिबार ६:३८:५६ | किरण लोहनी
unn.prixa.net

गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको राजनीतिक परिवर्तनबारे महाधिवेशनमा छलफल हुने बताउनुभएको छ ।

गोरखामा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकता गर्दाको सहमतिका आधारमा अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन तयार पारिरहेको बताउनुभयो ।

‘दुईजना अध्यक्ष कमरेडहरुले गृहकार्य गरिरहनुभएको छ । मुख्यतः अहिले राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने र साङ्गठनिक एकीकरणका बाँकी कामहरुलाई पूरा गर्ने गृहकार्य उहाँहरुले गरिरहनुभएको छ । उहाँहरुबीचको गृहकार्य छिट्टै सकिने हामीले आशा गरेका छौं’, श्रेष्ठले भन्नुभयो । पार्टीका दुई अध्यक्षले प्रतिवेदन तयार गर्न ढिलाइ गरे स्थायी समितिले टुंगो लगाउने पनि उहाँले बताउनुभयो । 

पार्टीका तत्कालीन र रणनीतिक लक्ष्यलाई समेटेर राजनीतिक प्रतिवेदन तयार हुने उहाँले बताउनुभयो । दुई जना अध्यक्षबीचमा विवाद भए पनि पार्टी एकता नरोकिने उहाँले स्पष्ट पार्नुभयो । ‘पार्टी एकतालाई कुनै पनि ढंगले समस्या पैदा गर्ने वा विग्रह गर्ने कुरा कतैबाट हुन्छ भने त्यो स्वीकार हुँदैन । कतैबाट त्यसो हुन्छ भन्ने पनि लाग्दैन’, श्रेष्ठले भन्नुभयो । 

नेकपा प्रवक्ता श्रेष्ठले मन्त्रीहरु हेरफेर गर्ने विषयमा पार्टीमा कुनै छलफल नभएको बताउनुभयो । ‘मन्त्रीमण्डलको हेरफेर हुँदै हुँदैन वा आज भोलि नै हुन्छ भन्ने पनि छैन’, उहाँले भन्नुभयो, ‘पार्टीमा छलफल भएको छैन । प्रधानमन्त्रीले केही तयारी गर्नुभएको भए मलाई थाहा छैन ।’ श्रेष्ठले सरकारको कार्यशैलीबारे अहिले भैरहेको आलोचनालाई स्वाभाविक मान्नुपर्ने पनि बताउनुभयो ।  

आलोचना नभए सरकारले राम्रो काम गर्न नसक्ने भन्दै उहाँले सरकारका तर्फबाट पनि केही कमीकमजोरी भएको संकेत गर्नुभयो । ‘केही कमजोरी भएको पनि हुन सक्छ, आलोचनाले अझ बढी परिणममूखी बनाउन मद्दत गर्छ’, उहाँले बताउनुभयाे ।  

फरक प्रसंगमा श्रेष्ठले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा वार्तामा आउन नचाहेको बताउनुभयो । उसका गतिविधि अहिलेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सघाऊ पुर्‍याउने खालको नभएको श्रेष्ठले बताउनुभयो ।

‘हाम्रो पार्टी र सरकारले पनि प्रष्ट भनेको छ, वार्ताको ढोका खुला छ । साँच्चै वार्ता गर्न तयार हो र त्यो समाधानमूखी हुन्छ भने जुनसुकै बेला वार्ता हुनसक्छ’, श्रेष्ठले भन्नुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया