सात कक्षामा पढ्ने विद्यार्थीले सोधे – बाहुनको छोराले कसरी बंगुर पाल्न थाल्नु भयो ?

 असार २६, २०७६ बिहिबार १३:४९:४८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – कक्षा सातमा पढ्ने विद्यार्थीले बाहुनको छाेराले कसरी बंगुर पाल्न सक्नुभयो भन्ने प्रश्न सोधेपछि वालिङको ईन्द्रेणी बंगुर पालन फर्मका सञ्चालक एकैछिन अलमलमा पर्नुभयो । प्रायः समाजमा यस्ता प्रश्नको समाना गरिरहेका सञ्चालक भीम लुईंटेल सानो कक्षामा पढ्ने विद्यार्थीले समेत यस्तो जिज्ञासा राखेपछि अलमलमा पर्नुभएको हो । लुईंटलले हाँसेर विद्यार्थीलाई जवाफ दिनुभयो – कुनैबेला समाजमा निक्कै असहज महसुस भएको थियो अहिले त सामान्य भैसक्यो ।

वालिङ्को साइनभिलेज स्कुलमा कक्षा ६ र ७ मा पढ्ने विद्यार्थीहरु स्थानीय कृषि/पशु उद्योगको अवलोकनका लागि ईन्द्रणी बंगुर पालन उद्योगमा पुगेका थिए । उनीहरुमध्ये धेरैको प्रश्न सामाजिक रुपमा कस्तो महसुस गर्नु भएको छ भन्ने थियो भने केही विद्यार्थीले आम्दानी, सरकारको सहयोग, बजारको अवस्था लगायतका बारेमा जिज्ञासा राखेका थिए ।

विद्यार्थीलाई अन्यत्र भ्रमण लगेर मात्रै नहुने भन्दै स्थानीय कृषि, पशुपालनका बारेमा समेत जानकारी दिन भन्दै भ्रमण गराईएको विद्यालयले जनाएको छ ।

५ वर्षदेखि बंगुर फार्म सञ्चालन गर्दै आएका लुईंटेलले मासिक १० लाख रुपैयाँभन्दा बढीको बिक्री वितरण गर्दै आउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘त्यस्मा खर्च कटाएर ४० देखि ५० प्रतिशत वचत हुने गर्दछ ।’ वार्षिक ५०÷६० लाख रुपैयाँ सजिलै बचत हुने उहाँको भनाइ छ ।

१ करोड ५० लाख भन्दा बढीको लागतमा फार्म सञ्चालनमा ल्याएका लुईंटेलको लगानी अहिले ३ करोड रुपैयाँ पुगिसकेको छ । पछिल्लो पटक कृषि क्षेत्रमा सहयोग पाउन थालेको भए पनि यसप्रति नीतिमा परिवर्तन जरुरी रहेको उहाँले बताउनुभयो ।

कृषि मन्त्रालयको सहकार्यमा ईन्द्रेणी बंगुर उद्योगलाई नमूना फार्मको रुपमा विकास गर्ने काम सुरु भैसकेको छ । त्यस्का लागि १० लाख रुपैयाँ प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

३९ वर्षीय भीम लुइँटेलले बंगुरपालन सुरु गर्दा ‘बाहुनको छोराले बंगुर पाल्ने ?’ भनेर टिप्पणी गर्ने धेरै थिए । जीविकोपार्जन गर्न केही न केही गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनु भएका लुईंटेलको प्रगति देखेपछि अहिले सबै अचम्ममा छन् । उहाँले आफ्नो फार्ममा ५ जनालाई रोजगारी पनि दिनुभएको छ ।

सशस्त्र द्वन्द्वमा नेपाली सेनाको जागिर छाडेर दुबई पुगेका लुईंटेलले ५ वर्षअघि २७ लाख रुपैयाँ लगानीमा बंगुरपालन सुरु गर्नु भएको थियो । ‘वालिङ –९ पिपलटारीमा १३ रोपनी जग्गा १० वर्षका लागि १२ लाखमा भाडामा लिएर व्यवसाय थालेको हुँ,’ लुइँटेलले भन्नुभयो, ‘फार्ममा अहिले १ सय माउसहित २ सय ५० बंगुर छन् ।’

उहाँले इन्द्रेणी फार्मलाई बच्चा उत्पादन अर्थात् प्रजनन गर्ने उद्योगका रूपमा विकास गर्नु भएको । यहाँ उत्पादित बच्चा स्याङ्जा, कास्की, पाल्पा, रूपन्देही, प्यूठान, दाङलगायत २० जिल्लामा पुगेका छन् ।

लुईंटेलले एक महिनाको बच्चा ५ हजार  रुपैयाँका दरले बेच्नुहुन्छ । बच्चा जन्माउन नसक्ने  तथा भाले बंगुर मासुका लागि बिक्री हुन्छ । मासुका लागि एक सय ३० देखि तीनसय किलोसम्मको बंगुर बेचेको उहाँले सुनाउनु भयो । ‘बंगुरको बजार राम्रो रहेको उहाँको बुझाई छ । माग अनुसार बच्चा उपलब्ध गराउन नसकिएको भन्दै लुईंटेलले राज्य तथा नगरपालिकाबाट आवश्यक सहयोग प्राप्त भएमा स्याङ्जालाई नै बंगुरको मासुमा आत्मनिर्भर बनाउन सकिने जानकारी दिनुभयो । 

वालिङमा मात्रै दैनिक ३ सय ५० किलोभन्दा बढी बंगुरको मासु खपत हुने गरेको भन्दै लुईंटेलले यहाँको उत्पादन कम हुँदा बाहिरबाट मासु ल्याउनु पर्ने अवस्था आइरहेको बताउनु भयो ।

वालिङ नगरपालिकाले समेत कृषिका क्षेत्रमा प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख दिलिपप्रताप खाँणले जानकारी दिनुभयो । 

लुइँटेलले जिल्ला पशु कार्यालय र युवा परिषद् स्याङ्जाबाट उत्कृष्ट युवा उद्यमी घोषित भई पुरस्कार पाइसक्नुभएको छ । ‘पैसा कमाउने मात्र मेरो सोच होइन,’ लुईंटेल भन्नुहुन्छ ‘विदेशमा रहेका युवालाई स्वदेशमै राम्रो कमाउन सकिन्छ भन्ने सन्देश दिन समेत चाहेको छु ।’

अन्तिम अपडेट: चैत १४, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • केदार

    July 11, 2019, 6:17 p.m.

    पेशा जात थरले होइन , आफूले गर्न सक्ने आँट लगन मेहनतले गर्ने हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया