‘झरीले डिस्टर्ब गर्दैन, पुससम्म भैरहवा विमानस्थल ठूला जहाज उड्न योग्य हुनेछ’

 असार ३१, २०७६ मंगलबार १६:४८:५५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भौतिक संरचना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनको म्याद तेस्रोपटक थपिएको छ । 

धावनमार्गको निर्माण सकिए पनि टर्मिनल भवनको फिनिसिङ, टावर तथा अन्य पूर्वाधारको काम बाँकी रहेकोले जुलाईबाट म्याद थपेर आउँदो डिसेम्बरसम्म पुर्‍याइएको छ । २०७१ सालबाट निर्माण सुरु भएको भैरहवा विमानस्थलको काम २०७४ सालमै सम्पन्न गर्नुपर्ने थियो । तर अहिले तेस्रोपटक म्याद थपेर आयोजना सकिने मिति पुस १५ पुर्‍याइएको छ ।

आयोजनाको मिति पटक–पटक सार्दै जाँदा लागत पनि ६ अर्बबाट बढेर ९ अर्ब रुपैयाँ पुग्ने भएको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भैरहेको ढिलाइबारे आयोजनाका प्रमुख प्रवेश अधिकारीसँग अर्जुन पोख्रेलले गरेको कुराकानी :

राष्ट्रिय गौरवको आयोजनामध्ये राम्रो प्रगति गरेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलकै म्याद तेस्रोपटक थपियो, म्याद पटक–पटक किन थपिएको हो ?

म्याद थपलाई मैले स्वभाविक कुरा हो भन्न रुचाउँछु । किनकी यसको निर्माण सम्झौताको अवधि झण्डै ३ वर्ष थियो ।  तर ३ वर्षको समयमा विमानस्थलको सम्पूर्ण कामको एकतिहाइ पनि काम भएको थिएन । बाँकी दुई तिहाइ काम गर्नका लागि सुरुका ३ वर्षमा २ वर्ष थपिएको थियो, त्यसैले यो त स्वभाविक नै हो ।

३ वर्षमा एकतिहाइ पनि काम नहुनु र बाँकी २ वर्षमा झण्डै दुई तिहाइ काम हुनु भनेको त गर्वको कुरा हो नि । यसो हेर्दा ३/३ पटक म्याद थप भयो, आयोजनामा निकै ढिलाइ भैरहेको छ कि क्या हो भन्ने लाग्न सक्छ ।  तर सुरुको ३ वर्षको काम हेर्दा र पछिल्लो २ वर्षको काम हेर्दा हामीले यसलाई म्याद थप भन्न मिल्दैन जस्तो लाग्छ ।

३ पटक म्याद थपिएकोमा दुईमत छैन तर तपाईँले यसलाई म्याद थप भन्न रुचाउनुभएन, समस्या के आइरहेका छन् र पटक–पटक म्याद थप्नुभएको ?

हामीलाई सुरुमा यहाँका स्थानीय ठेकेदारले धेरै दुःख दिए । वैधानिक, अवैधानिक साना ठूला सबैखाले ठेकेदार कम्पनीले सुरुमा दुःख दिए । त्यसपछि भूकम्प, नाकाबन्दी, बाढी पहिरोले पनि काममा अवरोध भयो । त्यस्तै स्थानीय तहको चुनाव र संघ तथा प्रदेश तहको चुनावका बेलामा पनि केही दिन काम रोकियो । त्यस्तै नदीजन्य पदार्थ ल्याउने विषयमा पटक–पटक विवाद भयो । हामीले गिटी बालुवा नै पाएनौँ, त्यसले पनि काम रोकियो ।

हामीले कैयौँ पटक सम्झौता गरेर नदीजन्य पदार्थ ल्याउने वातावरण बनायौँ । तर पछिल्लो डेढ/दुई वर्षको प्रगति हेर्नुभयो भने निराश हुने ठाउँ छैन । प्रगति राम्रो भएर नै हामी आयोजना सम्पन्न हुने चरणमा पुगिसकेका छौँ । 

उसो भए सन् २०१९ को डिसेम्बर अर्थात २०७६ सालको पुससम्म विमानस्थलको सबै काम सकिने हो ?

हामीले के बुझ्नुपर्छ भने यहाँ आईसीबी वान र आईसीबी टु गरेर २ प्रकारका काम भैरहेका छन् । आईसीबी वानअन्तर्गत रन वे, ट्याक्सी वे, टर्मिनल भवनलगायतका कामहरु पर्छन । ती काम आउँदो पुससम्म सकिन्छ । यस्तै आईसीबी टु अन्तर्गत विमानस्थलका उपकरण जडानको जिम्मा लिएको एरो थाई कम्पनीको म्याद पनि डिसेम्बरसम्म नै तोकिएको छ ।

त्यसैले हामीले आईसीबी वान को म्याद डिसेम्बरसम्म थप्दा कुनै फरक पर्दैन । किनकी आईसीबी टु  अन्तर्गतको काम पनि डिसेम्बरयता त सकिँदैन । समग्रमा भन्नुपर्दा हामीले नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनको म्याद डिसेम्बरसम्म थप्दा हाम्रै कारणले विमानस्थल सञ्चालनमा कुनै असर पर्दैन ।

सबैभन्दा चासोको विषय भैरहवाबाट ठूला जहाज कहिले चल्छन् भन्ने नै हो, एअर रुटदेखि सञ्चालन विधिका कुरा हेर्ने त अर्को पक्ष छँदैछ, तर तपाईँहरुको तर्फबाट डिसेम्बरसम्म भैरहवा विमानस्थल ठूला जहाज उड्न योग्य बन्छ ?

विमानस्थल सञ्चालन गर्ने, मिति तय गर्ने, एअर रुट मिलाउने जिम्मा त नागरिक उड्डयन प्राधिकरणको हो । तर हाम्रो जिम्मेवारी विमानस्थल ठिकठाक बनाएर हस्तान्तरण गर्ने हो । मैले अघि नै भनिसकेँ हामीले आउँदो डिसेम्बरसम्म भैरहवा विमानस्थल ठिकठाक बनाइसक्छौँ । तर फेरि पनि सानातिना काममा पनि अवरोध भयो भने शतप्रतिशत ढुक्क हुन भने सकिन्न ।

स्थानीय ठेकेदारको अवरोध, निर्माण सामग्रीको अभावसहित भैरहवामा देखिएको अर्को समस्या रकम भुक्तानी पनि हो । केही समयअघि रकम भुक्तानी नभएको भन्दै ठेकेदार कम्पनीले काम ठप्प पारेको थियो । अहिले चाहिँ नियमित भुक्तानी भैरहेको छ ?

यो पुरानो ठेक्का हो । अहिले बजारमा सबै कुराको भाउ बढेको छ, तर पनि ठेकेदार कम्पनीले पुरानै रकममा काम गरिरहेको छ । हामीले म्याद थप गर्दा पनि थप व्ययभार नपर्ने गरी थपेका छौँ ।

आईसीबी वानको ठेकेदार कम्पनीले केही घाटामा रहेर पनि काम गरिरहेको छ, त्यसमाथि बेलैमा भुक्तानी नहुँदा काम रोकिनु स्वभाविक हो । तर पनि पछिल्लो समय काम रोकिएको छैन । 

आईसीबी टुको ठेक्का त अहिलेको बजारभाउअनुसार नै भएको हो । बजारभाउ अनुसारकै रकममा ठेक्का पाएको र तुलनात्मक रुपमा सजिलो काम भएकाले काम रोकिन्न । काम राम्रो भयो भने भुक्तानीमा समस्या आउँदैन । 

पटक–पटक म्याद थपिँदा भैरहवा पनि मेलम्ची खानेपानी आयोजना जस्तै हुने हो कि भन्ने चिन्ता सुनिन थालेका छन्, तपाईँले सुन्नुभएको छ कि छैन ?

लामो हाँसो........... हाम्रो परियोजनालाई मेलम्चीसँग तुलनै गर्न मिल्दैन । आउने डिसेम्बरसम्म काम सक्ने भनेर हामी लागेका छौँ, मेलम्चीसँग तुलना गरिदिनुभयो भने त हाम्रो जाँगर मर्छ नि । हामी सबै कामको अन्त्यतिर आइसकेकोले कुनै पनि समस्याग्रस्त आयोजनासँग तुलना गर्न मिल्दैन 

अन्त्यमा, बर्खा लागिसकेको छ, धेरै क्षेत्रका कामहरु बर्खाकै कारण रोकिएका छन्, भैरहवा विमानस्थलको काममा बर्खाले अवरोध गर्छ कि गर्दैन

तपाईँले एकदमै महत्वपूर्ण कुरा उठाउनुभयो । हामीले बर्खाले काममा अवरोध हुन्छ भनेरै रनवे र ट्याक्सीवेको काम बर्खाअघि नै रातदिन लगाएर सकिसकेका छौँ । हामीले एप्रोनको भवन निर्माणको काम पनि लगभग सकिसकेका छौँ । धावनमार्गमा अहिले मार्किङ र बिजुली जडानको काम चलिरहेको छ । 

यस्तै टर्मिनल भवनको छाना हाल्ने र अरु फिनिसिङका काम र उपकरणको काम बर्खाकाे समयमा पनि गर्न सकिन्छ । त्यसमाथि हाम्रो आयोजनास्थलसम्म आउने बाटो पक्की भएको र शहरको नजिकै भएकाले बर्खाले त्यस्तो समस्या पार्दैन । 

अन्तिम अपडेट: फागुन २८, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया