ठाडो भाका संरक्षणमा मञ्जु विक

 साउन ४, २०७६ शनिबार १५:३९:४८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मौलिक, कला, परम्परा, संस्कृति र साहित्यको उर्वर भूमि हो, लमजुङ । लमजुङको माटोले राष्ट्रकवि माधवप्रसाद घिमिरे, चर्चित लोक दोहोरी गायक राजु परियार, गायिका बिमाकुमारी दुरा, ठाडोभाका शिरोमणि भेँडीखर्के साहिँलालगायत थुप्रै स्रष्टा जन्माएको छ ।  

उहाँहरुकै बिँडो थाम्दै कला, साहित्यका साथै गीत संगीतमा लागेका, लाग्न खोज्नेहरुको जमात ठूलै छ । गायक राजु, गायिका बिमा कुमारी र भेँडीखर्के साहिँलाको पाइला पछ्याउँदै लोक गीत संगीतमा पाइला चाल्दै गरेकी गायिका हुन्, मञ्जु विक ।

मञ्जु विक प्रतिभाशाली गायिका हुन् । उनी लोकदोहारी गीतसँगै कौरा, सालैजोसँगै मौलिक ठाडोभाकासम्मका गीत गाउन सक्ने ‘खुबी’ भएकी गायिका हुन् । यसैगरी, आफूले गाएका कतिपय गीतमा उनी आफैँ कम्मर मर्काउँछिन् ।

सानैदेखि गायनमा 

लमजुङको गाउँशहर, कोकलडाँडामा जन्मेकी मञ्जु सानै उमेरदेखि गीत गाउन रुचि राख्थिन् । विद्यालयमा हुने विभिन्न कार्यक्रममा गीत गाउन अघि सरिहाल्थिन् । गाउँघरमा हुने, बिहे, पूजाआजाका साथै जिल्लामा हुने विभिन्न मेला, पर्व, उत्सव, महोत्सवमा गीत गाउन पुगिहाल्थिन् ।

‘आदरणीय राजु दाइ, बिमा दिदी, भेँडीखर्के साहिँला बुवाको बाटो पछ्याउँदै यसै क्षेत्रमा लागेँ’, उनले भनिन्, ‘मैले ९ वर्षको उमेरदेखि नै गीत गाउन थालेको हुँ ।’

उनको गायन कला र गलाको धेरैले खुलेरै तारिफ गर्थे । गीत संगीतमा सम्भावना बोकेकी गायिकाका रुपमा हेर्थे, धेरैले उनलाई । गायिका बन्ने सोच लिएर एसएलसीपछि उनी पोखरा गइन् र एउटा दोहोरी साँझमा गाउन सुरु गरिन् । 

दोहोरीमा गाउँदागाउँदै उनले पहिलोचोटी लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेसँग ‘देशले मलाई के दियो....’ भन्ने बोलको देशभक्ति भावको गीत रेकर्ड गराउने अवसर पाइन् ।

त्यसपछि, उनले २०६९ सालमा ‘चढ्यो जवानी’ बोलको लोकदोहोरी गीत गाइन् ।

२०७२ सालमा अहिलेका चर्चित लोकदोहोरी गायक प्रकाश सपूतसँगको सहकार्यमा मञ्जुले लोक दोहोरी गीत ‘मिठो बोलीले’, २०७४ सालमा ख्यातिप्राप्त लोकदोहोरी गायक पशुपति शर्मासँग ‘भविष्यवाणी’, २०७५ सालमा गायक प्रकाशसँगै ‘नौरंगी सपना’, गायक पुरुषोत्तम न्यौपाने, तेजेश रेग्मीसँग ‘ससुरालीलाई चिठ्ठी’ लगायतका तीज गीत र २०७६ सालमा रामजी खाँडसँग ‘मेरै माया राम्रो’ बोलको लोक दोहोरी गीत गाइन् । उनले गाएकी यी गीतहरु चर्चित छन् ।

ठाडो भाका गाउने गायिका

पछिल्लो सयम उनलाई ठाडो भाका गाउने गायिकाको रुपमा समेत चिनिन्छ । सानै उमेरदेखि उनी ठाडो भाका शिरोमणि भेँडीखर्के साहिँलाका साथै देवी गुरुङसँग ठाडो भाका गाउन हिँड्थिन् ।

‘उहाँहरुसँग विभिन्न कार्यक्रममा जान्थेँ म । उहाँहरुले गाउँदा भाका छोप्थेँ’, त्यहीँबाट ठाडो भाका गाउन सिकेकी हुँ । उहाँहरु मेरा गुरु हुनुहुन्छ’, उनले भनिन्, ‘उहाँहरुको साथ, माया र प्रेरणाले म आज यहाँ छु ।’

भेँडीखर्के साइँलासँग समेत उनले ठाडो भाका गाएकी छिन् । आजीवन मौलिक ठाडो भाकाका संरक्षणमा लाग्नुभएका साहिँला अहिले हामीमाझ हुनुहुन्न । उहाँको निधनसँगै अहिले ठाडो भाका हराउँदै जान थालेको छ । पछिल्लो समय मौलिक ठाडो भाका संरक्षणमा धेरै नयाँ पुस्ता अघि सरेका छन् । ठाडो भाका संरक्षणमा गायिका मञ्जु पनि लागि परेकी छिन् ।

अहिले उनी देश तथा विदेशका विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त हुने लोकदोहोरी गायिकामा पर्छिन् । जहाँ सांगीतिक प्रस्तुतिका लागि उनी पुग्छिन् । स्टेज चढ्नेबित्तिक्कै उनी ठाडो भाका शिरोमणि स्वर्गीय भेँडीखर्के साहिँलाको उच्च सम्मान र ठाडो भाकाको संरक्षणका लागि एक/दुई टुक्का ठाडो भाका सुनाइहाल्छिन् । बल्ल पछि आफ्नो गीतहरु प्रस्तुत गर्छिन् ।

‘स्वर्गीय भेँडीखर्के साहिँला बुवाको सम्मान र ठाडो भाका संरक्षणका लागि देश विदेशका कार्यक्रममा पुग्दा स्टेज चढ्नेबित्तिक्कै सुरुमै ठाडो भाका गाउने गरेकी छु’, उनले भनिन्, ‘देशमाभन्दा विदेशमा रहेका नेपालीहरुले चाख मानेर ठाडो भाका सुन्नुहुन्छ । मन पराउनुहुन्छ ।’

उनी सांगीतिक प्रस्तुतिकै लागि देशका विभिन्न ठाउँका साथै कतार, कोरिया, यूके, भारतलगायतका देशमा पनि पुगेकी छिन् । ‘यसवर्ष तीजमा सांगीतिक प्रस्तुतिका लागि दुबई जाँदैछु’, उनले भनिन् । मौलिक ठाडो भाका गाउँदा आम श्रोता/दर्शकबाट माया र सम्मान पाएको अनुभूति हुने उनी बताउँछिन् ।

‘ठाडो भाका गाउँदा आफूलाई दर्शक/श्रोताबाट धेरै नै ‘रेस्पेक्ट’ मिलेको अनुभूति गर्छु’, उनले मुस्कुराउँदै भनिन्, ‘ठाडो भाका गाउँदा दर्शक–श्रोताले उच्च सम्मान र माया दिनुहुन्छ ।’

ठाडो भाका गाउन कठिन

अरु गीत गाउनभन्दा ठाडो भाका गाउन कठिन हुने उनी बताउँछिन् । ‘अरु गीतभन्दा ठाडो भाका गाउन गाह्रो हुन्छ’, उनले भनिन्, ‘ठाडो भाका गाउँदा ‘मेलोडी’ का साथै शब्द चयनमा खुबै ध्यान पुर्‍याउनुपर्छ । मौलिक शब्द मिसाएर ठाडो भाका गाउनुपर्छ ।’

सांगीतिक क्षेत्रमा अघि बढिरहने बताउने गायिका मञ्जु भन्छिन्, ‘मौलिक ठाडो भाका संरक्षणमा लागिरहन्छु ।’ ठाडो भाका संरक्षणका लागि युवा पुस्ता जुट्नुपर्नेमा उनी जोड दिन्छिन् । विगतमा गीत संगीत क्षेत्रमा लाग्दै गर्दा नाक खुम्च्याउनेहरुले अहिले मञ्जुलाई स्याबासी दिने गरेका छन् ।

‘बुवा आमाबाट त साथ पाएँ र यो क्षेत्रमा लाग्न सजिलो भयो,’ उनी भन्छिन्, ‘पहिले यो क्षेत्रमा लाग्दै गर्दा नाक खुम्चयाउनेहरु अहिले मञ्जुको गाउँको हो भन्दा खुशी मान्छन् । गर्व गर्छन् ।’ मेहनत गर्न सके, राम्रो गर्न सके गीत संगीत क्षेत्रमै लागेर जीवन चलाउन सकिने उनी बताउँछिन् ।

‘सिकेर, बुझेर आउनुस्,’ गीत संगीतमा लाग्न खोज्नेहरुलाई उनको सुझाव छ, ‘मेहनत गर्नुस् । गीत संगीतमा राम्रो गर्न सके यसै क्षेत्रमा लागेर जीवन चलाउन सकिन्छ ।’ 

अन्तिम अपडेट: चैत १५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया