दलालको कुरा सुनेर भिजिट भिसामा काम गर्न यूएई आउँदा फसे‌ं

 साउन ५, २०७६ आइतबार १९:१२:२९ | उज्यालो सहकर्मी

विवेक थापा (नाम परिवर्तन)/यूएई ।

साथीहरुले विदेश गएर धेरै पैसा कमाएको देख्दा मलाई नि विदेश जान रहर लाग्यो । साथीहरुको लहलहैमा परेर भिजिट भिसामा म गएको ‘मे’ महिनामा यूएई आइपुगें । 

घरपरिवारमा आर्थिक समस्या थियो । परिवारको दुःखलाई कम गर्छु, बुवाआमाको अनुहारमा खुशी ल्याउँछु र आफैं पनि उज्यालो भविष्य बनाउँछु भन्ने ठूलो सपना बोकेर विदेश आएको थिएँ । 

धेरै पैसा कमाउन सकिने भन्दै दलालको प्रलोभनमा परेर अवैधानिक बाटो भएर म भिजिट भिसामा यूएई आएँ । तर यहाँ आएर मलाई पछुतो भइरहेको छ, मेरो त्यो सपना सबै चकनाचुर भएको छ । 

एकदमै राम्रो पोष्टमा काम लगाइदिन्छु भनेर दलालले मलाई नेपालबाट बोलाएको थियो । दुई महिना हुन लागिसक्यो । तर दलालले कुनै पनि काममा लगाइदिएको छैन ।

अब मलाई त्यो दलालको विश्वास लाग्नै छाडिसक्यो । त्यसले अब मलाई कुनै काम लगाउन सक्दैन भन्ने लाग्छ । मेरो यूएई भिजिट भिसाको म्याद पनि सकिंदैछ ।  त्यही भएर म छिटो नेपाल फर्कन चाहन्छु ।

नेपालदेखि यूएईसम्मको यात्रा तय गर्दा मैले त्यस दलाललाई भिसा, सेटिङ र हवाई टिकटको लागि एक लाख ८० हजार रुपैयाँँ दिएको थिएँ । अहिले म त्यही दलालसँगै बसिरहेको छु । अब म नेपाल फर्कन चाहन्छु, तर मैले दलाललाई दिएको रकम मलाई फिर्ता गरिदेउ म नेपाल जान्छु भन्दा उसले मेरो कुरै सुन्दैन । 

यस्ता दलालको पछि लागेर म जस्ता धेरै गरीबहरुले ऋण गरेर जुटाएको पैसा डुब्ने गरेको छ । सबैको यस्तो अवस्था नआओस् भनेर पनि म सबैलाई सचेत गराउन चाहन्छु र दलालको हातबाट मेरो पैसा मलाई फिर्ता गराइदिन सम्बन्धित निकायसँग आग्रह गर्दछु ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया