छिन्नमस्ता गाउँपालिका अध्यक्षले कमिसन लिएर मात्र चेक भुक्तानी दिने गरेको खुलासा

 साउन ५, २०७६ आइतबार २१:५:२९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - छिन्नमस्ता गाउँपालिकामा उपभोक्ता समितिबाट ५० प्रतिशतसम्म कमिसन लिएर मात्र चेक दिइँदै आएको रहस्य खुलेकाे छ ।

छिन्नमस्ता गाउँपालिकामा असार महिनामा विभिन्न योजनाहरु सम्पन्न भए पनि अहिले गाउँपालिकामा रकम लिन आउने उपभोक्ता समितबाट गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल कुरुडले स्वयं ५० प्रतिशतसम्म रकम कमिसन लिएर चेक दिने गरेको बताइएकाे छ । उपभोक्ता समितिले निर्धारित समय सीमाभित्रै काम सम्पन्न गरे पनि अहिले गाउँपालिकमा चेक लिन जाँदा ५० प्रतिशत रकम कमिसन नदिएसम्म चेक नदिने गरेको उपभोक्ता समितिहरुकाे आरोप छ । 

यस सम्बन्धमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष मण्डलले आफूले ५० प्रतिशत रकम कमिसन लिने गरेको स्वीकार गरेका छन् । गाउँपालिका अध्यक्ष मण्डलले उपभोक्ता समितिसँग ५० प्रतिशत र कोटेशनवालासँग ४० प्रतिशत कमिसन लिएर मात्र चेक दिने गरेको स्वीकार गरेका हुन्।

उपभोक्ताहरुले आफूहरुको काम गरेको १५ दिन बित्तिसक्दा पनि चेक नदिएको आरोप लगाएका छन । एक उपभोक्ता समितिका अध्यक्ष नेपाली चौधरीले आफूले कमिसन नदिएकै कारणले अहिले चेक नदिएकाे र कमिसन दिनेलाई तुरुन्तै चेक दिने गरेको बताउनुभयाे ।

यस सम्बन्धमा गाउँपालिकाकी उपाध्यक्ष उषा मण्डलले आफूलाई कमिसनका बारेमा केही थाहा नभएको बताउनुभयाे । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द्र कुमार चौधरीले आफूले समयमा काम सम्पन्न गरेका उपभोक्ता समितिहरुको सबै कागजपत्र र बिल भपाई हेरेर सही गरिसकेको तथा कमिसनको बारेमा आफूलाई केही पनि थाहा नभएको र आफू ५ दिनको बिदामा रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया