चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – रातको १२ बजेको थियो । साहुनी र बालबच्चा निदाइसकेका थिए । कन्काइ वि.क. (परिवर्तित नाम)लाई लाग्यो, घर छाडेर भाग्ने उपयुक्त समय यही हो ।
आफ्ना केही लुगाफाटा फोहोर फाल्ने प्लास्टिकमा राख्नुभयो । घरबाट फोहोर फाल्न मात्र बाहिर निस्कन पाइन्थ्यो । त्यसैले फोहोर फाल्ने निहुँमा बाहिर निस्किएका बेला भाग्ने उहाँको योजना थियो ।
कन्काइको भाग्ने योजना सफल हुन त पाएन । तर नसोचेकै भयो । उहाँ त्यसको तीन दिनपछि अथवा गएको असार २० गते कुवेतबाट नेपाल आइपुग्नुभयो ।
भयो के भने भाग्नका लागि फोहोरको प्लाष्टिकमा सामान हालेर निस्कन खोज्दा मूल ढोकामै साहु भेटिए । साहुसँग ढोकामा जम्का भेट भएपछि कन्काइको सातो गयो । अघिपछि फोहोर फाल्न निस्केझैं ढुक्क भएर बाहिर निस्कने आँट आएन ।
हातखुट्टा लगलगी काँपे । घरभित्रै फर्किएर फोहोरको भाँडोमा प्लाष्टिक खाँद्दै गर्दा साहुनीले पनि देखिन् । साहु साहुनी दुवैले सोधीखोजी गरे । कन्काइ बोल्न सक्नु भएन ।
मनमनै भगवान पुर्कानुभयो । नराम्रो केही नगरुन् भन्ने कामना गर्नुभयो ।
यो घटना कुवेतको हो । जहाँ कन्काइ साढे एक वर्षदेखि घरेलु कामदारका रुपमा काम गरिरहनुभएको थियो । सधैंको कुटाइ, गाली अनि भोको पेटमा काम । साहु साहुनीका दुव्र्यवहार सहन नसकेर ज्यान बचाउन भाग्ने विकल्प रोजेकी कन्काइको यो योजना विफल मात्रै भएन, फेरि थप कुटाइ सहन पर्यो ।
घरबाट सामान चेरेर भाग्न लागेको भन्दै साहुनीले झोला मात्रै हैन, कन्काइको शरीरका लुगा खोलेर जाँच गरिन् । नांगै बनाइदिइन् । पिट्नुसम्म पिटिन् ।
‘मैले त हे भागवान मलाई बचाउ भनेर भगवान पुकारें,’ त्यो कहालीलाग्दो क्षण सम्झँदै कन्काइले भन्नुभयो, ‘के लगिस्, किन भाग्न खोजिस् भन भन्दै पिटे, श्वास नै रोकिएला जस्तो भएको थियो ।’ त्यसो झण्डै एक घण्टापछि कन्काइको मुखबाट वाक्य फुर्यो, ‘म नेपाल एम्बेसी जान लागेको ।’
‘लिन आउने कोही छ ?’ साहुले प्रश्न गरे । कन्काइले आफू एक्लै दूतावाससम्म जान लागेको बताउनुभयो । त्यसपछि बल्ल रोकिए साहुनीका हात ।
‘खानकै लागि त म सात समुद्र पारि आएको हुँ, खान नपाएपछि किन बस्नु, मलाई घर पठाइदिनु बाबा, मरे पनि आफ्नै घरमा मर्छु,’ कन्काइले साहुलाई अनुरोध गर्नुभयो ।
त्यसपछि साहुले अरु घरमा काम नगर्ने कसम खुवाए । कन्काइले पनि आफू घर नै फर्किने विश्वास दिलाउनुभयो । त्यसपछि त्यसको तीन दिनमा उहाँ नेपाल फर्कन पाउनुभयो । साहुले नै जहाजको टिकट काटेर घर फर्काइदिए ।
जहाजबाट ओर्लिएपछि राम्रोसँग जहाजलाई नियाल्नुभयो । अनि त्यो दुःखको सागरबाट उडाएर ल्याउने जहाजलाई पनि मनमनै धन्यवाद दिनुभयो ।
विमानस्थलबाट घर फर्किने पैसा पनि साथ नभएपछि काठमाण्डौमै ‘अम्कास नेपाल’को महिला आवास गृहमा बसिरहेकी कन्काइले यति सुनाएपछि लामो सास तान्नुभयो । अनि, भन्नुभयो, ‘त्यो नर्कजस्तो विदेश त कोही पनि नेपाली दिदीबहिनी नजाउन् ।’
गडेका आँखा । गोरो अनुहार । हँसिली देखिनुहुन्थ्यो कन्काइ । तर यतिबेला कुवेतमा पाएको दुःखले झापाकी कन्काइलाई गलाएको छ । परदेश गएकोमा पछुतो लागेको छ ।
डेढ वर्षअघि अथवा २०७४ सालमा तय भएको थियो, उहाँको कुवेत यात्रा । गाउँकै नन्द पर्नेले कुवेत जाने मेलोमेसो मिलाइदिएकी थिइन् । उनै नन्दले नै पहिलोपटक २०६८ सालतिर कन्काइलाई साउदी पठाइदिएकी थिइन् । मिति सम्झनुहुन्न उहाँ । तर त्यो यात्रा फरक थियो ।
त्योबेला साउदी जानका लागि दिल्लीसम्म रेल चढेर जान परेन । त्रिभुवन विमानस्थलबाट सिधै साउदी पुग्नुभएको थियो । तर पछिल्लोपटक भने घरबाट रेल चढेर दिल्ली । अनि त्यहाँ २२ दिन बसेपछि यूएई पुग्नुभएको थियो ।
केही दिन यूएईमा बसेर घरबाट निस्केको झण्डै एक महिनापछि मात्रै उहाँ कुवेत पुग्नुभएको थियो । कुवेतमा पनि काम साउदीमा जस्तै घरकै मिल्यो । तर जाने तरिका फरक भएर पो हो कि, कन्काइले सोच्दै नसोचेको सास्ती खेप्नु पर्यो ।
साउदीमा मासिक ७ सय रियाल तलब थियो । खान बस्न आफ्नै घरझैं लाग्यो उहाँलाई । साहुनीलाई आफ्नै आमाझैं मान्नुहुन्थ्यो । परदेशमा भए पनि कन्काइलाई एउटा परिवारसँगै हुँदा घरबाट टाढा छु भन्ने महसुस कम हुन्थ्यो । तीन वर्ष साउदीमा बिताउँदा उहाँले तीन छोराछोरीको पढाइ खर्च धान्नुभयो । सानो घर पनि बनाउनुभयो ।
पहिलेजस्तै ठानेर कन्काइ अलिअलि भविष्यका लागि बचत गर्ने सपना बोकेर कुवेत उड्नुभएको थियो । पठाउने मान्छे उही । विदेशमा गएर गरेको काम पनि उस्तै । जानका लागि प्रयोग गरेको बाटो मात्र फरक थियो । तर खै के मिलेन, कन्काइलाई कल्पनै नगरेका हण्डर सहन पर्यो ।
कन्काइले कुवेतमा तीन वटा घर परिवर्तन गर्नुभयो । तीनमध्ये दुई वटा घरमा त केही दिन मात्र काम गर्नुभयो । अन्तिम घरमा साढे एक वर्ष बिताउँदा अनेकन कुरा सहन पर्यो । अरु त अरु, केही दिनसम्म सुकेको रोटी र शौचालयको पानी समेत खानु पर्यो ।
खाना बनाउने, भाँडा माझ्ने, लुगा धुने, घर सफा गर्ने र बालबच्चा हेर्ने कन्काइको नियमित काम थियो । त्यसमाथि बेलाबेला अर्को काम पनि थियो, साहुनीको रीस मार्न कुटाइ सहनु पर्ने ।
खान बनाउने बेला खानाको बास्नाले नाक भरिन्थ्यो । तर पेट भोकै हुन्थ्यो । बचेको खाना खाएको साहुनीले थाहा पाइन् भने खानेकुरा भन्दा बढी कुटाइ खानुपथ्र्यो ।
साहुनीको मन खुसी भएका बेला भने रहलपहल खान पाइन्थ्यो ।
नत्र उही खेर गएका सुकेका रोटीमै ज्यान धानेर काम भ्याउनु पथ्र्यो । कतिञ्जेल चल्छ र यसरी ? यतै मरे भनें के होला ? घरमा रहेका तीन छोराछोरीको सम्झनाले साह्रै सताउँथ्यो ।
बालबच्चा बढाउने, पढाउने सपना देख्नु नै गलत थियो त ? एकमनले प्रश्न गथ्र्यो । फेरि अर्को मनले भन्थ्यो–होइन । ‘मैले क नपढेर त अरुको घरमा काम गर्न जान पर्यो, त्यस्तोसम्मको ज्यादती सहन पर्यो, पढेनन् भने त मेरा छोराछोरीले नि मैले जस्तै दुःख पाउलान् भनेर मन मन बुझाउथें नि,’ कन्काइ भन्नुहुन्छ ।
तर अत्याचारको पनि हद हुन्छ । साहुनीले गरेको अत्याचारले सीमा नाघेको थियो । र त उहाँले ज्यानको बाजी राखेर घरबाट भाग्ने कोशिस गर्नुभएको थियो । उहाँको त्यही एउटा साहसले नै स्वदेश फर्किने बाटो खोलिदियो ।
कुवेतले दुःख मात्र दिएन । कन्काइको भएको खुशी पनि खोस्यो । गाउँमा आफ्नो मुन्टो लुकाउने आफ्नो घर थिएन । तर पनि परिवार पूर्ण थियो । तीन जना छोराछोरी । साथमा श्रीमान् । तीनै जना बालबच्चा स्कुल जान थालेका थिए ।
भौतिक संरचनाको घर नभए पनि कन्काइको घर थियो । जुन पूर्ण थियो । तर के भयो भयो । ठेक्कापट्टाको काम गर्ने श्रीमानको कमाइको बाटो बिस्तारै कम भयो । आम्दानी हुन छाडेपछि श्रीमानले जाँडरक्सी पिउन थाले । कुलतमा श्रीमान् फसेपछि घरव्यवहार पनि खस्किंदै गयो ।
त्यहीबेला नै कन्काइले आफैं कमाउने निर्णय गर्नुभएको थियो । त्यसैले साउदी पुग्नुभयो । त्यहाँको कमाइले घर बनाउनुभयो । त्यतिले पुगेन । भविष्यका लागि बचत गर्ने सपनाले कुवेत पुर्यायो ।
तर कुवेत गएपछि भने उहाँको परिवारसँगको सम्बन्ध पनि पातलो हुँदै गयो । परिवारको उज्यालो भविष्यभन्दा अर्को सपना थिएन कुवेत जाँदा कन्काइको मनमा ।
तर श्रीमानले फोन गर्न प्रतिबन्ध लगाए । छोराछोरीलाई पनि बोल्न दिएनन् । कारण थाहा छैन कन्काइलाई । उहाँलाई यति थाहा छ कुवेत गएदेखि छोराछोरीसँग बोल्न पाइएन ।
‘जम्मा मैले भाउजुलाई फोन गर्न पाएँ, उहाँबाटै छोराछोरीको हालखबर बुझेँ,’ कन्काइ गहभरी आँशु पार्दै भन्नुहुन्छ, ‘यो मनमा कत्रो भेल आएको छ त मलाई थाहा छ, बयान गरिसाध्ये छैन ।
रिसाएका श्रीमानलाई किन के भन्ने, कसरी आफूले भोगेका परिस्थितिको बारेमा बुझाउने भन्ने थाहा छैन । तर छोराछोरीलाई कतिबेला भेटौं भएको छ उहाँलाई । मनमा डर छ ।
‘कतै छोराछोरीले हामीलाई छाडेर गएर के गरिस् भनेर सोधे भने,’ कन्काइ आफैंसँग प्रश्न गर्दै भन्नुुहुन्छ, ‘रित्तो हात फर्किएँ, कयौं दुःख पार गरेर आए भनेर कसरी भन्नु ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।