डुबानमा पर्‍यो सप्तरीको गोबरगाढा गाउँ

 साउन ९, २०७६ बिहिबार ८:१५:२८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – लगातारको वर्षाका कारणले सप्तरीको गोबरगाढाका झण्डै आठ सय परिवार डुबानमा परेका छन् । 

लगातारको वर्षापछि विभिन्न खोलामा आएको बाढीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका आठ सय परिवार डुबानमा परेको वडाध्यक्ष बिन्देश्वरी यादवले जानकारी दिनुभयो ।

बाढीका कारण त्यहाँका प्रत्येक घरमा करिब ५ – ६ फिटसम्म पानी जमेको छ ।

लगातारको वर्षाका कारण गोबरगाढाबाट ६१ परिवार ज्यान जोगाउन हनुमाननगरको बाँधमा आएर बसिरहेका छन् । ६१ बाढी पीडित परिवारलाई हनुमाननगनर कंकालिनी नगरपालिकाको सहयोगमा वडा कार्यालयले चिउरा, भुजा ,त्रिपाल, नुन, चाउचाउ, खाने तेललगायतका सामग्रीहरु वितरण गरेको वडाअध्यक्ष यादवले जानकारी दिनुभयो । 

गोबरगाढाबासीहरु बर्सेनि बाढीको चपेटामा पर्दै आएका छन्, तर पनि यहाँका स्थानीयको सुरक्षित बसोबासका लागि अहिलेसम्म कसैले पनि चासो नदेखाएकको वडाध्यक्ष यादवले आरोप लागाउनुभयो । 

बाढीकै कारण हनुमाननगर कंकालिनी नगरपालिका – ११ इनरुवाका १५ परिवार विस्थापित भएका छन् । कयौँ बिगाहा खेतीयोग्य जमिन डुबानमा परेकाले स्थानीय कृषकहरु थप समस्यामा परेको वडाध्यक्ष मोही यादवले जानकारी दिनुभयो ।

त्यस्तै, जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा करिब एक हजार घर तथा गाउँपालिका कार्यालय समेत डुबानमा परेको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार तिलाठी कोइलाडी गाउँ पूरै डुबानमा परेको छ । अविरल वर्षापछि खाडो खोलामा आएको बाढीले गाउँ डुबेको हो । डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया