यसरी भेटियो ओडारमा लुकाएर राखिएको १६ किलो सुन

 साउन ९, २०७६ बिहिबार १८:४१:७ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन प्रहरीले बरामद गरेको छ ।

धार्चे गाउँपालिका वडा नम्बर–३, खोर्लाबेसीमा ओडारमा लुकाएर राखेको सुनका १६ वटा बिस्कुट बरामद भएको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताउनुभयो ।

मनासलु पदमार्ग नजिकै ओडारभित्र लुकाइराखेको सुन बिहीबार बिहान भेटिएको हो । पहराको ओडारभित्र बोरामा ढुंगाले चेपेर राखिएको अवस्थामा सुन बरामद गरिएको उहाँको भनाइ छ ।

गएको असार ११ गते रातिदेखि हराइरहेका धार्चे गाउँपालिका केरौंजाका धनकमल गुरुङले ओडारमा सुन लुकाएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी प्रमुख अधिकारीले भने यसबारे अहिल्यै केही बताउन चाहनु भएन । गोरखाको धार्चे गाउँपालिका–१, यारुबगरमा व्यापार गरी बस्ने धनकमल गुरुङ असार ११ गते रातिदेखि सम्पर्कविहीन भएका थिए ।

यारुबगरबाट आफ्नै खच्चड धपाउँदै माछाखोलाभन्दा पारिसम्म आइपुगेका उनलाई त्यही रात नचिनेका ५–६ जनाको समूहले अपहरण गरेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको थियो । 

व्यवसायी धनकमलले खच्चडमा सुन ल्याएको जानकारी पाएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । बुधबार प्रहरीले पक्राउ गरेका धनकमलको बयानका आधारमा बिहीबार ओडारबाट सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले नै सुन लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । त्यही प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले असार १४ गते ३ जना र १६ गते १ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

अजिरकोट गाउँपालिका–३, का लोकबहादुर गुरुङ, सिरानचोक गाउँपालिका–२, का किरण भनिने करण गुरुङ र काठमाण्डौ महानगरपालिका–१९, का कृष्ण शाहीलाई प्रहरीले गएको असार १४ गते नियन्त्रणमा लिएको थियो ।

उनीहरुको बयानका आधारमा धार्चे गाउँपालिका–३, का विपिन गुरुङ असार १६ गते पक्राउ परेका थिए । गोरखा सदरमुकामबाट पक्राउ परेका उनीहरुको अहिले बरामद भएको सुन प्रकरणमा कस्तो खालको संलग्नता रहेको भन्नेबारे खुलिसकेको छैन । तर उनीहरुलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको मुद्धा चलाएर अनुसन्धान गरिरहेको छ । 

खच्चडमा सुन ओसारपसार गर्ने मुख्य व्यक्ति धनकमल गुरुङ पक्राउ परेपछि घटना थप रहस्यमय बनेको छ । गुरुङलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान गरिने प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताउनुभयो । 

यसअघि गएको वर्षको भदौ २३ गते प्रहरीले सुन ओसारपसार गरिरहेका छेकम्पारका दुई जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट सिर्दिवास प्रहरीले १० किलो सुन बरामद गरेको थियो ।

याे पनि पढ्नुहाेस्

गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद

अन्तिम अपडेट: चैत १६, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • dhama paudyal

    July 25, 2019, 6:55 p.m.

    होइन अब त सुन पनि फलाम भन्दा पनि सस्तो भो कि क्याहो । किलो भन्दा तलको त कुरै आउन छोड्यो बा!!

  •  0 Reply

तपाईको प्रतिक्रिया