बालुवाटारको जग्गा प्रकरणमा मुछिएका तत्कालीन नायब सुब्बा श्रेष्ठको शंकास्पद मृत्यु

 साउन १२, २०७६ आइतबार १९:२९:२८ | सन्तोष थापा
unn.prixa.net

पर्वत - बालुवाटारको ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काममा मुछिएका युक्तप्रसाद श्रेष्ठको आइतबार दिउँसो ज्यान गएको छ ।

पर्वतको फलेबास नगरपालिका ६, देवीस्थान घर भएका श्रेष्ठको काठमाण्डौको बालाजुमा रहेको हिमालय सिटी सेन्टरको साततला माथिबाट खसेर ज्यान गएको हो । प्रहरीका अनुसार सातौँ तलाबाट खसेका श्रेष्ठको उपचारका क्रममा पिपुल्स अस्पताल नयाँ बजारमा पुर्‍याउँदा ज्यान गएको हो ।

बालुवाटार जग्गा प्रकरणमा जोडिएका कारण श्रेष्ठको मृत्युलाई ‘शंकास्पद’ मानिएको छ । श्रेष्ठले आत्महत्या गरेको आशंका गरिएको छ । तर प्रहरीले यसबारे अनुसन्धान भैरहेको जनाएको छ ।

बालुवाटारको सरकारी जग्गा ललिता निवास व्यक्तिका नाममा ल्याउन मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो । सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा रहेका श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको थियो ।

नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिमा सचिव पदमा मनोनित भएका श्रेष्ठले गएको चुनावमा फलेबास नगरपालिकामा मेयरको दावी समेत गरेका थिए । उनी अख्तियारको बयानमा रहेका कारण कांग्रेस पर्वतले सञ्चालन गरेको जागरण अभियानमा समेत सहभागी भएका थिएनन् ।  

उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व साँसद अर्जुनप्रसाद जोशीका प्रिय पात्र मानिन्छन् । लायन्स क्लबको डिस्ट्रिक्ट गभर्नर रहेका बेला पर्वतका लायन्स क्लबहरुले श्रेष्ठलाई रथमा राखेर सम्मानका लागि बजार परिक्रमा समेत गराएका थिए ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया