वारपाक सडकको ठेक्का रद्ध, नागार्जुन त्रिशुली जेभीलाई कालोसूचीमा राख्ने तयारी

 साउन १३, २०७६ सोमबार ८:२७:६ | किरण लोहनी
unn.prixa.net

गोरखा - गोरखा वारपाक सडक अन्तर्गत पहिलो खण्ड निर्माणको काम अलपत्र पार्ने नागार्जुन त्रिशुली जेभीसँगको ठेक्का सम्झौता रद्ध भएको छ । पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्ध गरिएको हो ।

ठेकेदार कम्पनीले गोरखा वारपाक सडकखण्डको जरेवरदेखि खहरे आसपाससम्मको सडक कालोपत्रेको ठेक्का लिएको थियो । १७ महिनामा काम सम्पन्न गर्ने गरी २०७१ असार ३१ गते ठेक्का सम्झौता भए पनि काम पूरा हुन सकेको थिएन ।

पहिलो खण्डको आठ किलोमिटर सडक कालोपत्रे गर्न नौ करोड ३७ लाख रुपैयाँको ठेक्का आव्हान भएको थियो । नागार्जुन त्रिशुली जेभी कम्पनीले २०७२ मङ्सीरमा सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको भए पनि काम सम्पन्न नगरेपछि फेरि २०७३ चैत ३० सम्म म्याद थप गरिएको थियो । 

थपिएको म्यादभित्र ठेकेदार कम्पनीले केही पनि काम नगरेको ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक योजना कार्यालयले जनाएको छ । लामो समयसम्म काम अलपत्र भएपछि कार्यालयले पटक पटक पत्राचार गरी काम अघि बढाउन आग्रह गरेको थियो । 

पछिल्लो पटक २०७५ माघ ६ गते स्पष्टिकरण सहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित भएको थियो । गएको बैशाख १२ गते दोस्रो पटक पत्र लेखेर स्पष्टिकरण सहित उपस्थित हुन भनिए पनि निर्माण ब्यवसायी उपस्थित नभएको कार्यालयका इन्जिनियर राजेश यादवले बताउनुभयो ।

१० करोड ५९ लाख ४४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको कम्पनीले हालसम्म ६ करोड ४५ लाख रुपैया भुक्तानी लगिसकेको छ । काम भने करीव ६० प्रतिशत मात्रै भएको यादवले बताउनुभयो । ‘८ किलोमिटर सडकमध्ये साढे २ किलोमिटरको त कालोपत्रे पनि भैसकेको छ’, उहाँले भन्नुभयो, ‘बाँकी काम पनि कालोपत्रेको मात्रै हो, तर खै किन हो उहाँहरुले काम गर्न चासोनै दिनु भएन ।’ 

गोरखा वारपाक सडक कालोपत्रेका लागि ४ खण्डमा ठेक्का लगाएर काम सुुरु भएको थियो । तर पहिलो प्याकेजकै काम अलपत्र भएपछि स्थानीय वासिन्दाले असन्तुष्टि जनाउँदै आएका थिए । ठेक्का सम्झौता रद्ध गरेसँगै निर्माण कम्पनी नागार्जुन त्रिशुली जेभीलाई कालोसूचीमा राख्ने प्रक्रिया पनि सुरु भएको छ ।

हालसम्मको सबै अवस्था समेटेर कालोसूचीमा राख्नका लागि सार्वजनिक खरीद अनुगमन कार्यालयमा सिफारिस गर्ने तयारी भैरहेको इन्जिनियर यादवले जानकारी दिनुभयो । गोरखा वारपाक सडकखण्ड अन्तर्गतनै तेस्रो प्याकेजको ठेक्का लिएको लोहनी एण्ड ब्रदर्शलाई पनि कारवाहीको तयारी गरिएको उहाँको भनाई छ । त्यस कम्पनीले साढे २२ देखि ३० किलोमिटरसम्मको सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो । तर गएको चैत मसान्तमा दोस्रो पटक थपिएको म्याद सकिँदा जम्मा ५० प्रतिशत मात्रै प्रगति भएको यादवले बताउनुभयो । 

लोहनी एण्ड ब्रदर्शलाई १ करोड २१ लाख रुपैयाँ जरिवाना गराएर म्याद थपको तयारी भएको उहाँको भनाई छ । १७ देखि साढे २२ किलोमिटरसम्मको दूरी कालोपत्रे गरिरहेको कन्काई गोरखा जेभीले भने कालोपत्रेको तयारी गरेको छ ।

गएको असारमा म्याद सकिँदासम्म ८० प्रतिशत काम सकिएकाले कालोपत्रेका लागि ६ महिनाको म्याद थपिएको उहाँले बताउनुभयो । अन्तिम खण्डको १६ किलोमिटर कालोपत्रेको जिम्मा पाएको रसुवा सूर्य एलाइट जेभीले करीब ५० प्रतिशत काम सकेको छ ।

आँबुखैरेनी गोरखा सडकखण्डबाट वारपाकसम्मको करीब ४६ किलोमिटर सडक कालोपत्रे २०७३ को असार मसान्तसम्ममा सकिने लक्ष्य भए पनि ठेकेदारको ढिलासुस्तीका कारण लक्ष्य अनुसार काम हुन नसकेको ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक योजनाले जनाएको छ । पटक पटक म्याद थप्दा पनि यो सडकखण्डमा हालसम्म करीब ७० प्रतिशत मात्रै काम सकिएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया