याेगेश भट्टराई : विद्यालय कमिटीदेखि पर्यटन मन्त्रीसम्म

 साउन १५, २०७६ बुधबार १५:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त हुनु भएकाे छ । गएकाे प्रतिनिधसभा चुनावमा ताप्लेजुङबाट निर्वाचित भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

गएकाे फागुन १५ गते हेलिकप्टर दुर्घटनामा तत्कालीन मन्त्री रवीन्द्र अधिकारीकाे निधन भएपछि याे मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आउनुभएकाे थियाे ।  

नेपाल भ्रमण वर्ष -२०२० नजिकिँदै गर्दा रिक्त रहेकाे सम्बन्धित मन्त्रालयमा मन्त्री नियुक्त गर्न पार्टी भित्रैबाट दबाब थियाे । प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्री बनाउने विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग छलफल नै गर्नुभएकाे थियाे । नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनुभएकाे हाे ।  

यसअघि चुनावका बेला ताप्लेजुङमा भएकाे चुनावी सभामा ओलीले 'याेगेशलाई जिताएर पठाउनुस् मन्त्री बनाउने काम मेराे भयाे' भन्ने अभिव्यक्ति नै दिनुभएकाे थियाे । 

भट्टराईले नेपाली कांग्रेसका उम्मेद्वार केशवप्रसाद दाहाललाई २ हजार भन्दा बढी मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे थियाे । भट्टराईकाे १९४८९ मत आउँदा दाहालले १६८८८ मत ल्याउनुभएकाे थियाे ।  

२०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा चुनावमा काठमाण्डाै क्षेत्र नम्बर ६ बाट पराजित भएका नेकपा युवा नेता भट्टराई गएकाे चुनावमा भने आफ्नै जन्मथलो ताप्लेजुङबाट विजयी हुनुभएकाे हाे ।  

भट्टराईकाे राजनीतिक यात्रा 

२०२३ साल भदौ २१ गते ताप्लेजुङको साँगुमा भीमलाल भट्टराई र महेन्द्रादेवी भट्टराईको कोखबाट जन्मिएका भट्टराईले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गर्नुभएको छ ।

वाममन्थी पारिवारिक पृष्ठभूमि र झापा विद्रोहको प्रभावले राजनीतिमा प्रवेश गरेका भट्टराईको राजनीति एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुबाट सुरु भएको हो । २०३७ सालमा अनेरास्ववियुको विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटी रहेर काम गरेका भट्टराई २०५१ सालमा अनेरास्ववियूको अध्यक्ष हुनुभएको थियो ।

त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुग्नुभएको थियाे । उहाँले तत्कालीन नेकपा एमालेको केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख भएर पनि जिम्मेवारी सम्हालिसक्नुभएकाे छ । तत्कालीन एमाले र माओवादीकाे एकतापछि बनेकाे नेपाल कम्युनिष्ट पार्टीमा भने भट्टराई  केन्द्रीय सदस्यकाे जिम्मेवारीमा हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया