नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
देशमा उत्पादन नबढ्दा गएको आर्थिक वर्षमा पनि व्यापार घाटा चुलिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा भन्दा गएको वर्ष व्यापार घाटा झण्डै २ खर्बले बढेर १३ खर्ब नाघेको छ । गएको वर्ष नेपालले विदेशबाट १४ खर्ब रुपैयाँ भन्दा धेरैको वस्तु तथा सेवा आयात गर्दा जम्मा ९७ अर्ब रुपैयाँ बराबरको बस्तु तथा सेवा पठाउन सकेको छ ।
नेपालले आफैं उत्पादन गर्न सक्ने तरकारी मात्रै २८ अर्ब रुपैयाँको आयात भएको छ भने समग्र खाद्यान्न आयात ५१ अर्ब रुपैँयाको भएको छ । सरकारले भने विकास निर्माण तीव्र भैरहेको अवस्थामा विदेशबाट आउने बस्तु तथा सेवा बढ्नु स्वभाविक भएको दाबी गर्दै आएको छ । यसै विषयमा अर्जुन पोख्रेलले अर्थविद् प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीसँग गरेको कुराकानी :
वार्षिक १३ खर्ब रुपैयाँभन्दा धेरैको व्यापार घाटाले नेपालको अर्थतन्त्रमा के संकेत गर्छ ?
वार्षिक १३ खर्ब रुपैयाँ भन्दा धेरैको व्यापार घाटाले हामी आफूले केही पनि उत्पादन गर्न नसक्ने रहेका छौं भन्ने प्रष्ट संकेत गर्छ । हामी परनिर्भर भैसक्यौं, आयातको बढ्दो ग्राफले हाम्रो अर्थतन्त्रका सबैजसो सूचकलाई नकारात्मक असर गरिरहेको छ । गएको वर्ष हाम्रो कुल बजेटभन्दा व्यापार घाटा धेरै भएको छ यसले हामी सही बाटोमा गैरहेका छौं भन्ने देखाउँदैन ।
यस्तै व्यापार घाटा कुल गार्हस्थ उत्पादनको अनुपात ३० प्रतिशत पुगेको छ । यसले हाम्रो आन्तरिक उत्पादन अत्यन्तै न्यून भएको र रोजगारी पनि नबढेको देखाएको छ । बिहान उठेर दाँत माझ्दा प्रयोग हुने टुथपेष्टदेखि राती सुत्ने ओच्छयानसम्म आयात भैरहेको छ । हामीले नयाँ वस्तुको उत्पादन पनि गर्न सकेनौं र निर्यात गर्दै आएका बस्तुको परिमाण पनि बढाउन सकेनौँ ।
यो बढ्दो व्यापार घाटाले हाम्रा अर्थतन्त्रका अरु सूचकमा कत्तिको प्रभाव पार्छ त ?
व्यापार घाटा बढी हुनुको अर्थ हामीले विदेशी मुद्रा धेरै खर्च गरिरहेका छौं । विदेशी मुद्रा आउने ठाउँहरु साँघुरिंदै गएका छन् र विदेश जाने ठाउँ बढ्दै गएका छन् । व्यापार घाटा बढ्नु भनेको पनि विदेशी मुद्राको निर्यात पनि बढ्नु हो ।
यस्तै पर्यटकले गर्ने खर्चबाट विदेशी मुद्रा आउँछ । तर हामीले पर्यटकको संख्या केही बढाए पनि आम्दानी भने बढाउन नसकेका तथ्यांकहरु देखिरहेका छौं । रेमिट्यान्स बढेको त छ, तर रेमिट्यान्सबाट आएको सबैजसो पैसा विदेशी वस्तु किन्नको लागि बाहिरिएको छ । यस्तै वैदेशिक लगानी पनि घट्दै गएको छ ।
सरकारले लगानी सम्मेलन गरे पनि त्यसको प्रभाव खासै देखिएन । विदेशी मुद्रा आउने राम्रो यो क्षेत्र पनि उत्साहयोग्य छैन । यी सबै कुरासँग हाम्रो व्यापार ठोकिन्छ, ब्यापार घाटा उच्च हुँदै जाँदा हाम्रा सबैजसो सूचकहरु प्रभावित हुन्छन् ।
हाम्रो ढुकुटीमा विदेशी मुद्रा जम्मा हुने क्रम अत्यन्तै न्यून छ, तर खर्च हुने क्रम बढ्दो छ । त्यसैले जोखिम पनि उत्तिकै छ । अहिलेको अवस्था लम्बिँदै गएमा केही वर्षपछि हामीले विदेशी सामग्री किन्दा, हाम्रा विकास निर्माणको लागि चाहिने बस्तु तथा सेवा आयात गर्दा पनि विदेशी मुद्राको खाँचो हुने हो कि भन्ने डर बढ्दै गएको छ ।
पछिल्लो ५ वर्षमा नेपालको व्यापार घाटा दोब्बर भएको छ । जब व्यापार घाटाको खाडल बढ्दै गएको थियो भने हामीले त्यसलाई कम गर्ने उपाय किन सोचेनौं होला ?
खासगरी हामी सबैभन्दा धेरै बिग्रँदै गएको २०५५/५६ सालदेखि २०६२/६३ सालसम्म हो । २०५२ सालदेखि देश युद्धमा गयो, देशमा असुरक्षित महसुस गरेर धेरै युवाहरु विदेश पलायन भए । देशमा उद्योग कलकारखाना बन्द हुँदा देशमा रोजगारी थिएन । देशको अर्थतन्त्र पनि गलत बाटोमा गैरहेको थियो ।
तर २०६२/०६३ सालपछि युद्ध हट्यो, सरकारले त्यतिबेला नै विदेशमा गएका युवालाई स्वदेश फर्काउने र देशमै फेरि आर्थिक चहलपहल बढाउनुपर्थ्यो । तर सरकारले दोधारे नीति लियो । एकातिर देशमै युवालाई रोजगार दिन्छौं पनि भन्यो, अर्कोतिर विदेशमा युवा पठाउन नयाँ नयाँ रोजगारका गन्तव्य खोज्न थाल्यो ।
फलस्वरुप लाखौं युवा विदेश गए । अलि अलि कमाउन थाले, यता नेपालमा पनि बारी बाँझो राखेर सागपातदेखि खाद्यान्नसम्म विदेशबाटै आउन थाल्यो ।
अर्को पक्ष हामीले उपभोगको शैलीलाई पनि बदल्यौं । चाहे त्यो नागरिकले होस् या चाहे राजनीतिज्ञ र कर्मचारीले नै । हामीले देशमा उत्पादन भएका बस्तु भन्दा अमेरिका, युरोप लगायतका विकसित देशमा उत्पादन भएका महँगा र विलासी बस्तुको आयात गर्याैँ । त्यसले गर्दा हाम्रो व्यापार घाटा बढ्दै गयो । यदी हामीले १०/११ वर्षअघि केही योजना बनाएको भए अहिले यस्तो भयावह अवस्था आउने थिएन ।
अर्थमन्त्री अनि सरकारका अरु मन्त्रीहरुले व्यापार घाटाको यो अवस्थाबाट धेरै आत्तिनु नपर्ने बताउँछन् । देश तीव्र विकास निर्माणको बाटोमा अघि बढिरहेकोले विकास निर्माणका सामग्री आयात भैरहेकोले घाटा केही बढेको देखिन्छ भन्ने तर्क छ । यो तर्क सही हो ?
हामी पुरै आर्थिक संकटमा नफसे पनि ब्यापार घाटाको यो अवस्थाले हामीलाई गम्भीर बन्नुपर्ने देखिएको छ । हाम्रो अर्थतन्त्रको लागि यो चुनौतीपूर्ण अवस्था नै हो । के हामीले विकास निर्माणका सामग्री मात्रै आयात गरेकाले व्यापार घाटा १३ खर्ब रुपैयाँ भन्दा धेरै भएको हो त ?
हामीले २८ अर्ब रुपैयाँ भन्दा धेरैको तरकारी किनेका छौं । ५१ अर्ब रुपैयाँको खाद्यान्न किनेका छौं । दाल चामल, नुन, तेल, हरिया तरकारी लगायतका बस्तु के हामीले देशमा उत्पादन गरेका छौं त ? पक्कै पनि गरेका रहेनछौं । त्यसैले हामीले विकास निर्माणका लागि उपकरण आयात गर्दा व्यापार घाटा बढेको भनेर पन्छिने ठाउँ छैन ।
हामीले नेपाललाई पुग्ने तरकारी नेपालमै उत्पादन गर्न सक्थ्यौं होला, चामल पनि उत्पादन गर्न सक्थ्यौं होला, यस्तै खाद्यान्नका अरु थुप्रै उत्पादन हामीले आफै उत्पादन गर्न सक्छौं । तर हामीले उत्पादन बढाएनौं, केवल आयात मात्रै गरिरह्यौं । अहिले हाम्रा धेरै खेतबारी बाँझै छन्, तर हामीले हरिया सागपात पनि विदेशबाटै किनेर खाइरहेका छौँ । समृद्धिको गफ त गरिरहेका छौँ । विदेशी तरकारी किनेर नेपाल समृद्धितर्फ जाला त ?
अर्कोतर्फ हामीले वर्षको २० अर्ब रुपैयाँ भन्दा धेरैको बिजुली आयात गरिरहेका छौं । बिजुली उत्पादन बढाएको भए हामीले भान्साको ग्यास प्रतिस्थापन गर्न सक्थ्यौं । विद्युतीय गाडी चलाउन सक्थ्यौं । दुई खर्ब रुपैयाँ भन्दा धेरैको त इन्धन आयात भएको छ । यसलाई पनि त हामीले घटाउन सक्थ्यौं नि, होइन र ?
यस्तै अहिले राजनीतिज्ञ र कर्मचारीले पनि विदेशी वस्तु आयात बढाइरहेका छन् । अहिले हरेक स्थानीय तहमा जनप्रतिनिधिले गाडी चढेका छन्, गाडीसँगै इन्धन आयात बढेको छ, कार्यालयमा महँगा महँगा विदेशी सामानले सजावट बनाइएको छ । के यी सामान विकास निर्माणको लागि आएका हुन् त ?
तपाइँले अघि कुरा उठाउनुभएको थियो, रेमिट्यान्सको बढ्दो आयातले हाम्रो व्यापार घाटा बढाउन कत्तिको भूमिका खेलेको छ त ?
हो, व्यापार घाटा बढाउन रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेलेको छ । यो सरकारको नीतिगत कमजोरीका कारण भएको छ । द्वन्द्वपछि युवाहरुलाई देशमै रोक्नुको साटो विदेश पठाउन सहज गरियो । धेरै युवाहरु अहिले पनि घरजग्गा जोड्न, मोटरसाइकल किन्न, गाडी किन्न, बुवाआमालाई तिर्थस्थल घुमाउने लगायतका कामको लागि खाडी गैरहेका छन् । यी सबै कामको लागि पैसा विदेश नै जान्छ । त्यसैले सरकारले सबैभन्दा पहिले विदेश गएका युवालाई देशमा फर्काएर उत्पादन बढाउनेतर्फ सोच्नैपर्छ ।
भारतसँगको व्यापार घाटा नै ८ खर्ब रुपैयाँ भन्दा धेरै भएको छ । भारत नजिक भएको, रहनसहन र व्यवहार मिल्ने भएर मात्रै हो कि अरु पनि केही कारण होलान् ?
मूल कुरा त भूगोल नै हो । त्यसपछि भारतको रणनीति पनि हो । नेपाललाई के आवश्यक छ र यहाँका नागरिकले कति खर्च गर्न सक्छन् भन्ने हिसाबले उनीहरुले उत्पादन गर्न सक्छन् । केही सामान त उनीहरुले नेपालकै लागि भनेर उत्पादन गरिरहेका हुन्छन् । हामीले तरकारी र फलफूल भारतबाटै ल्याइरहेका हुन्छौं । भारतको सस्तो उत्पादनले पनि हामीलाई अल्छी बनाएको छ र व्यापार घाटा पनि बढिरहेको छ ।
सरकारले नेपालमै उत्पादन हुने भनेर चिनी सहित केही वस्तुको आयातमा बन्देज लगायो । अरु केही बस्तुमा भन्सार शुल्क चर्को बनाइदियो, व्यापार घाटा कम गर्न यो उपाय ठिक हो ?
सरकारको यो उपाय ठिक हो, तर सरकार पछि हटिरहेको छ । नेपालमै उत्पादन हुने चिनीले माग धान्ने भनेर सरकारले आयात रोक्यो, तर यहाँका ब्यापारीले मूल्य बढाए, उपभोक्ता मारमा परे । सरकारले यदि चिनी आयात रोक्ने नै हो भने किसानलाई सहुलियत दिएर उखु उत्पादन बढाउने हो । तर सरकारले त चिनी उद्योगीलाई सहुलियत दिइरहेको छ ।
यस्तै अति विलासीताका सामाग्रीको आयातमा रोक लगाउने या अत्याधिक भन्सार लगाउनु ठिक हो । तर प्रतिबन्धमा सरकार अडिग हुनुपर्यो र ती वस्तुको उत्पादन नेपालमै बढाउन कोसिस गर्नुपर्यो । अनि सरकारले प्रतिबन्ध लगाएका केही वस्तु चोरबाटोबाट नेपाल आइरहेका छन् र दोब्बर मूल्यमा बिक्री भैरहेका छन्, यसलाई पनि रोक्नुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।
Umesh mahato
Aug. 1, 2019, 12:15 p.m.There is no market facilities and collection center to sell the agro product 🤬