मंसिरमा उप–चुनाव गर्न राजनीतिक दल र निर्वाचन आयोगबीच सहमति

 साउन १६, २०७६ बिहिबार १७:४९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाका रिक्त रहेका स्थानमा आगामी मंसिरमा उप–चुनाव गर्न निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच सहमति भएको छ । 

तीन तहको चुनाव एकै दिन गर्ने विषयमा दलका नेताहरुसँग छलफल भएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताउनुभयो । आयोगका अनुसार प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक स्थान जनप्रतिनिधिविहीन छ । यस्तै विभिन्न ३८ ओटा वडामा पनि जनप्रतिनिधि छैनन् । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पद कार्यकाल सकिन ६ महिना बाँकी हुँदै रिक्त भएमा उप–चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । पालिकामा भने एक वर्षभन्दा बढी अवधि बाँकी रहेमात्रै उप–चुनाव हुने व्यवस्था छ । 

निर्वाचन आयोगले बिहीबार प्रतिनिधिसभा, प्रदेशसभा र पालिकामा प्रतिनिधित्व गरेका विभिन्न १८ दलका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा आगामी मंसिरमा एकै दिन सबै तिर उप–चुनाव गर्ने गरी काम गर्ने विषयमा छलफल भएको आयोगका प्रवक्ता खरेलले बताउनुभयो । 

दलहरुले मंसिरमा उप–चुनाव गर्ने प्रस्ताव गरेको र त्यो मितिमा उप–चुनाव गर्न आयोग तयारी अवस्थामा रहेको बताएको प्रवक्ता खरेलले जानकारी दिनुभयो । मंसिरमा उप–चुनाव गर्ने विषयमा आयोग र दलका प्रतिनिधिबीच सहमति भए पनि निर्धारित मिति भने सरकारसँग परामर्श गरेपछि मात्रै तोकिने उहाँले बताउनुभयो ।   

पालिकाको उप–चुनावको मिति तोक्ने अधिकार सरकारलाई रहेकाले सरकारले मिति तोक्ने र प्रदेश र संघीय उप–चुनावको मिति तोक्ने अधिकार भने आयोगलाई रहेको प्रवक्ता खरेलले बताउनुभयो । 

आयोग पहिलेदेखि नै रिक्त रहेका स्थानमा उप–चुनावका लागि तयारी अवस्थामा रहेकाले जति बेला मिति तोकिए पनि चुनाव गराउन सकिने प्रवक्ता खरेलले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया