नेपालमा पढ्दै कमाउँदै गर्ने वातावरण नै छैन
पुस २२, २०८१ सोमबार
जाजरकोटमा अघिल्लो वर्ष कात्तिक १७ गते ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा एक सय ५७ जनाले ज्यान गुमाए । ७० हजारभन्दा धेरैको संख्यामा घर तथा भौतिक संरचनामा क्षति पुग्यो । त्यसबाहेक यो पुसयता जाजरकोटसहित पश्चिमका बाजुरा, दार्चुला, बैतडी, बझाङ, कालीकोट, मुगुमा भूकम्प गएको छ ।
त्यसमध्येमा ठूलो यहीपुस ६ गते बाजुराको गोत्री आसपास केन्द्रविन्दु भएको ५ दशमलव २ म्याग्निच्युडको भूकम्प थियो । सबैभन्दा सानो पुस १४ गते कालीकोटमा ३ दशमलव ६ म्याग्निच्युडको धक्का थियो । हिजो बिहान मुगुको लुमा आसपास केन्द्रविन्दु भएको भूकम्प ४ दशमलव ४ म्याग्निच्युडको थियो । यीबाहेक अस्ति बिहीवार दिउँसो सिन्धुपाल्चोकको माझीटार आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गयो, जसको धक्का काठमाण्डौमा पनि महसूस भयो ।नेपालमा स–साना भूकम्प निरन्तर गइरहन्छन् ।
कतिपय साना भूकम्पकोधक्का महसूस पनि हुँदैन । केन्द्रले पनि रेकर्ड राखेको हुँदैन । तर सानातिना धक्का गइरहनुलाई त्यो ठाउँ भूकम्पीय जोखिम क्षेत्रका रूपमा छ वा त्यस स्थानमा भूकम्पीय शक्ति सञ्चित छ भनेर बुझ्नुपर्ने हुन्छ । ठूलो भूकम्प गइहालेमा हुने क्षति त हामीले पछिल्लो पटक २०७२ सालको गोरखा भूकम्पमा पनि भोगिसकेका छौँ । मानविय क्षतिसँगै घर, विद्यालय,सरकारी कार्यालय, सम्पदालगायत धेरै थोक गुमाउनुपर्ने हुन्छ ।
निरन्तर गइरहेका भूकम्पका संकेत के हो ?
तथ्याङ्कहरूलाई केलाएर हेर्ने हो भने विभिन्न समयमा नेपालमा भूकम्प गइरहेका छन् । यी भूकम्पको दर समयानुसार फरक फरक नै छ । यसपालि शुक्रवार मुगुमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गयो, तर यसभन्दा अगाडि विगतमा पनि मुगुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
त्यस्तै गरेर २०५८ सालमा दार्चुला र बैतडीमा भूकम्प जाँदा पनि त्यतिखेर पहिला अहिलेको जस्तै निरन्तर भूकम्प गएको अवस्था थियो । यसरी केही समयको अन्तरालमा औषत भन्दा बढी भूकम्पहरू गएका देखिन्छन् ।
यसरी निरन्तरजसो भूकम्प गइरहनुको संकेत नै हाम्रो ठाउँ भूकम्पको जोखिममा छ भन्ने देखाउँछ । जहाँ भूकम्पको शक्ति जम्मा भइरहेको छ र त्यही ठाउँहरुमा स–साना भूकम्पबाट गइरहेको हुन्छ । र यसको संकेत भविष्यमा यो क्षेत्रमा ठूलो भूकम्प जान सक्छ भन्ने पनि हो । आजका दिनसम्म भूकम्प जाने भविष्यवाणी गर्न सकिँदैन, तर अहिले आइरहेका भूकम्पले तत्कालै ठूलो भूकम्प जान्छ भन्ने नभएर यो ठाउँमा ठूलो भूकम्प जाने सम्भावना छ भन्ने चाहिँ देखाउँछ ।
अहिले गइरहेकाजस्ता साना भूकम्पले भूगर्भमा सञ्चित रहेको शक्ति केही जान्छ अर्थात् निकाल्छ । तर नेपालको हकमा भविष्यमा महाभूकम्प जान सक्ने भनिन्छ, सम्भावना छ, त्यो सम्भावनालाई कम गर्छ कि गर्दैन ?भन्नेमा यसरी गएका स–साना भूकम्पले ठूलो भूकम्पको जोखिमलाई कम गर्दैन । तर केही न केही रूपमा शक्तिलाई कम भने गर्छ ।
अर्को कुरा भूकम्प जाने संख्यामा नेपालको पूर्व र पश्चिम क्षेत्रमा एकरूपता छैन । त्यस्तै हिमालय क्षेत्रमा पनि एकरूपता देखिँदैन । संख्यात्मक रूपमा पूर्वको तुलनामा पश्चिममा धेरै भूकम्प गइरहेका छन् । संख्यात्मक रूपमा रेकर्ड हेर्दा पनि पूर्व र मध्यको तुलनामा पश्चिममा धेरै छ ।
भूकम्प किन जान्छ ?
भूकम्प किन जान्छ त ? भन्नेमा नेपालको भौगर्भिक अवस्था दुई वटा भौगर्भिक प्लेटको टकराव क्षेत्रमा पर्छ । हिमालय दक्षिणतर्फबाट उत्तरतर्फ सरिरहेको इन्डियन प्लेट र उत्तरतर्फको यरेशियन प्लेटको टकराव क्षेत्र हो । यो टकराव क्षेत्र नेपालको पूर्वदेखि पश्चिमसम्म एउटै किसिमको छैन ।
कुनै ठाउँमा दुई वटा प्लेटको जुधाइ धेरै ठाउँमा फैलिएको छ, भने कुनै ठाउँमा थोरै स्थानमा फैलिएको छ । पश्चिम क्षेत्रमा तुलनात्मक रूपमा टकराव क्षेत्र धेरै छ । नेपालको पश्चिम क्षेत्र भूकम्पको जोखिममा हुनुको कारण चाहिँ त्यहाँ रहेको सेस्मिक ग्याप हो । यसको अर्थ गोरखादेखि पश्चिमतर्फ देहरादूनदेखि पूर्वको भागमा विगत पाँच सय वर्षभन्दा लामो समयसम्म ठूलो भूकम्प गएको छैन । जम्मा भएको शक्ति ठूलो भूकम्प गएर निस्कनुपर्ने हुन्थ्यो वा हुन्छ तर अहिलेसम्म थुप्रिएर नै बसिरहेको छ ।
यसै कारण पश्चिममा ठूलो भूकम्प जान सक्ने सम्भावना रहेको हो । जोखिम छ तर अहिले गइरहेका स–साना भूकम्पले ठूलो भूकम्प जान सक्छ भन्ने चाहिँ हुँदैन । ठूला वा महाभूकम्प आउनुअघि कहिले साना भूकम्पहरू पूर्वसंकेतका रूपमा आउँछन् भने कहिले आउँदैनन् ।
उदाहरणका लागि १८९० सालको ठूलो भूकम्प आउनुअघि भूकम्पको पूर्वसंकेतका रूपमा साना दुई वटा भूकम्प आएका थिए । पहिलो पूर्वकम्प बेलुका साढे ६ बजे र दोस्रो राति साढे ११ बजे आएको थियो । यो बेला मुख्य विनाशकारी भूकम्प राति ११ बजेर ५५ मिनेटमा आएको थियो । तर १९९० सालको भूकम्प तथा २०७२ सालको गोरखा भूकम्प पूर्वसंकेतविना नै आएका थिए ।
नेपाल सम्पूर्ण रूपमा भूकम्पको जोखिम क्षेत्रमा पर्छ । त्यसमा विगत पाँच सय वर्षभन्दा लामो समयदेखि शक्ति सञ्चित भएर बसेको ठाउँ पश्चिम नेपाल, त्योभन्दा उता छिमेकी देश भारतमा पनि जोखिम छदैँछ । यसको अर्थ ढिलो चाढो भविष्यमा भूकम्प जानेछ । विगतमा २०७२ सालको गोरखा भूकम्प र यसको क्षति धेरैले भोग्यौँ, देख्यौँ, सम्झनामा अहिले पनि ताजै छ ।त्यस्तै क्षति फेरि नहोस्, भोग्न नपरोस् भनेर आवश्यक पूर्वतयारी अहिलेदेखि नै गर्नुपर्छ ।
पूर्वतयारी र गर्नुपर्ने मुख्य काम
पहिलो : यसरी भूकम्प जाँदा हुने क्षतिको अध्ययन/अनुसन्धानमाध्यान दिनुपर्छ । यसमा कसरी भूकम्प जान्छ ? त्यो ठाउँमा कति क्षति हुन्छ ? मूल्याङ्कन गरी जोगिन/जोगाउन के–कस्ता काम गर्नुपर्छ भन्ने थाहा हुन्छ ।
अध्ययनपछि प्राप्त नतिजाबाट संरचनाको क्षति कम गर्न आवश्यक प्रविधिको प्रयोग गर्न सकिन्छ । सुरक्षित प्रविधिको प्रयोगबाट सुरक्षित संरचना निर्माण अर्को महत्त्वपूर्ण पाटो हो । यसबाट भूकम्प गइहालेमा पनि क्षति न्यूनीकरण हुन्छ ।
दोस्रो : हामी भूकम्पीय जोखिम क्षेत्रमा छौँ । त्यसैले भूकम्पले हल्लाउँदा वा धक्का दिँदा दुई/चार दिन मात्रै, कुनै विशेष समयमा मात्रै भूकम्पसम्बन्धी छलफल, कार्यक्रम, गोष्ठी गर्ने होइन । भूकम्पबारेको जानकारी सबैको पहुँचमा पुर्याउन निरन्तर चेतनामूलक कार्यक्रम भइरहनुपर्छ । भूकम्प गएका बेलामा कसरी बच्न सकिन्छ ? भन्नेतर्फ ध्यान दिएर पूर्वाभ्यास गराउनुपर्छ । भूकम्पीय अभ्यास अर्थात् भूकम्प जानुअघि, भूकम्प गइरहेका बेला, गइसकेपछि के गर्ने भनेर विद्यालयदेखि सम्पूर्ण क्षेत्रमा यस्ता कार्यक्रम हुनुपर्छ ।
तेस्रो : देशभर सात सय ५३ वटा पालिका छन् । यी पालिकामा विपद्सम्बन्धी संरचना स्थापना भएका छन् । यो संरचनाले अन्य प्राकृतिक प्रकोप, विपद्सँगै कम्तीमा भूकम्पलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्छ । सरकारले बनाएको सुरक्षित संरचनाको आचारसंहितालाई कार्यान्वयन गर्नुपर्ने दायित्व पालिकाको हो, अहिलेसम्म सही अभ्यास भएको पाइँदैन । सबैभन्दा ठूलो कुरा ती पालिकामा निर्माण हुने भौतिक संरचना आचारसंहिता अनुरूप हुनुपर्छ । नागरिकलाई सुसूचित गर्नेदेखि संरचना सुरक्षित बनाउनेतर्फ ध्यान दिनु अहिलेका लागि अति नै महत्त्वपूर्ण छ ।
केन्द्रको अवस्था के छ ?
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र खानी तथा भूगर्भ विभाग अन्तर्गत सञ्चालित छ । यसले सीमित स्रोत साधनको भरमा अनुसन्धानका काम गरिरहेको छ । तर यी काम र अनुसन्धान पर्याप्त छैनन् । नेपालभर ४२ वटा स्टेशन छन् । यी स्टेशनबाट नेपालभर जाने झन्डै दुई म्याग्निच्युडभन्दा ठूला भूकम्पको मापन गर्ने काम हुन्छ ।
कहिले पूर्व, कहिले मध्य र कहिले पश्चिम क्षेत्रमा बारम्बार भूकम्पले धक्का दिँदै आए पनि आवश्यक अन्य प्राविधिक उपकरणहरु र जनशक्तिमा केन्द्र कमजोर छ । फ्रान्स सरकारको सहयोगमा २२ वटा स्टेशनमा, चीन सरकारबाट १० ठाउँमा र जापान सरकारको सहयोगमा आठ वटा भूकम्प मापन स्टेशनका लागि उपकरण र मर्मत–सम्भार खर्च प्राप्त छ । थाइल्यान्डको राइम्स नामक संस्थाले दुई वटा भूकम्प मापन स्टेशनका लागि प्राविधिक उपकरण दिएर सघाएको छ ।
(कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अधिकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा वरिष्ठ भूकम्पविदकाे रुपमा कार्यरत हुनुहुन्छ ।