भारतीय ब्राण्ड सोनाशक्तिको  चामल बिक्रीमा रोक, उपभोक्ता भन्छन् : प्लास्टिकको चामल हो

 साउन २०, २०७६ सोमबार १६:३०:५७ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखामा भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामल बिक्रीमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरुलाई आग्रह गरेको हो । त्यस ब्राण्डको चामल प्रयोग गरेका केही उपभोक्ताले चामल प्लास्टिकको भएको गुनासो गरेपछि तत्कालका लागि बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो ।

गोरखा नगरपालिका वडा नम्बर ६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि शंका लागेर उपभोक्ता हित संरक्षण मञ्चलाई खबर गर्नुभएको थियो । ‘बिहान खाना खान लाग्दा अस्वाभाविक रुपमा फर्रर परेको देखियो’, उहाँले भन्नुभयो, ‘युट्यूबमा केही भिडियो हेरेको थिएँ, प्लास्टिकको चामल हो कि भन्ने शंका लागेर डल्लो बनाइ भुईँमा बजार्दा माथिसम्म उफ्रियो ।’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष किशोरजंग थापाले पनि चामलको गुणस्तरबारे शंका गर्ने आधार भेटिएको बताउनुभयो । ‘यो चामल नै हो कि होइन भनेर शंका गर्ने ठाउँ छ’, उहाँले भन्नुभयो, ‘अहिलेलाई चामलजस्तै देखिने सेतो पदार्थ भनेर बुझ्दा उपयुक्त होला ।’ 

जिल्ला प्रशासन कार्यालयको टोलीले पकाइएको भातसहित चामलको नमुना संकलन गरेको छ । संकलित नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा पठाइएको प्रशासनका सूचना अधिकारी गौतम भण्डारीले बताउनुभयो । ‘प्लास्टिकको चामल हो भनेर ठोकुवा गरिहाल्ने अवस्था त छैन’, उहाँले भन्नुभयो, ‘तर शंका गर्नुपर्ने केही आधार देखिएको छ, परीक्षणपछि थप कुरा आउला ।’ 

भारतको रक्सौलस्थित रिपुराज एग्रो प्रालिले उत्पादन गरेको चामल गोरखामा भने चितवनको नारायणगढबाट ल्याइएको बिक्रेताहरुले बताएका छन् । प्रयोगशाला परीक्षणको रिपोर्ट नआउँदासम्म बिक्री नगर्न भनिएको प्रशासनले जनाएको छ ।

प्रतिवेदनले चामल प्लास्टिककै हो भन्ने पुष्टि भएमा आयातमा रोक लगाउनेलगायतका कारबाही हुने प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया