राजा राजेन्द्र भन्छन्- अहिले सिम्रन पाण्डेहरु हिट हुन्छन्, हिट हुन धेरै सजिलो छ

 साउन २१, २०७६ मंगलबार १५:१९:१० | मनोज दाहाल
unn.prixa.net

स्टेज कार्यक्रमबाट हँसाउन थालेका राजा राजेन्द्र पोखरेल अहिले स्थापित नाम हो ।

रेडियो अडियोमा वरिष्ठ कार्यक्रम निमार्ताका रुपमा कार्यरत पोखरेलले टेलिभिजनमा कार्यक्रमहरु चलाए । गीत गाए । धेरै देश घुमे । हास्य व्यङ्ग्यकार पोखरेल हाल नेपालकै पहिली अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’को प्रचारप्रसारमा व्यस्त छन् । साइनोमा पोखरेलले पनि अभिनय गरेका छन् । 

गायन, रेडियो कार्यक्रम, स्ट्यान्ड अप कमेडी, गाईजात्रा तथा अन्य विभिन्न कार्यक्रहरुको सञ्चालन गर्दै  हास्य व्यङ्ग्यका एक ताराका रुपमा उदाएका राजा राजेन्द्र पोखरेलको यो दोस्रो चलचित्र हो । यसअघि उनले युवा ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभ लभ’मा काम गरेका थिए ।

स्ट्यान्ड अप कमेडीका साथै हास्य व्यङ्ग्य कार्यक्रम सञ्चालन गर्दै उनले नेपालका झण्डै ७० जिल्लाको भ्रमण गरिसकेका छन् । उनले दर्जन भन्दा धेरै देशको भ्रमण समेत गरिसकेका छन् । जब उनले कुनै पनि स्थानमा गएर कार्यक्रम सञ्चालन गर्छन् । त्यसपश्चात भने आयोजकले हरेक कार्यक्रममा उनकै खोजी गर्ने गरेका छन् । 

विभिन्न कार्यक्रमहरुका निम्ति देश विदेश गैरहनु पर्ने भएका कारण उनी कन्टेन्टमा अपडेट रहने गर्छन । सानो कुरालाई पनि हास्य व्यङ्ग्यका रुपमा प्रस्तुत गर्न सक्ने कला भएका कारण उनी युवापुस्तामा निकै परिचित मानिन्छन् । उनले नेपाली नेताहरुको झण्डै १६ वटा सेटहरु बनाएर क्यारिकेचर गरिसकेका छन् ।

उनलाई मानसिक संघर्षका अथक योद्धाका रुपमा लिइन्छ । साथी सञ्जालमा उत्कृष्ट सम्बन्ध निर्माण गर्न सफल रहेका कारण पनि साथीसंगीका नजरमा कुसल र क्षमतावान व्यक्तित्वको परिचय दिन सफल छन् पोखरेल । त्यसैले पनि उनलाई पछिल्लो समय हास्य व्यङ्ग्यका चम्किला ताराका रुपमा हेर्ने गरिएको छ । 

हामीले उनै हास्य व्यङ्ग्यकार राजा राजेन्द्र पोखरेलसँग पछिल्लो समयको स्ट्याण्ड अप कमेडीमा रहेर गफगाफ गरेका छौँ ।

स्ट्याण्डअप कमेडी भनेको के हो ?

स्ट्याण्डअप कमेडी भनेको खास उभिएरै गर्ने कमेडी हो । यसमा यही नियम हुन्छ, यही कुरा राख्नुपर्छ भन्ने हुँदैन । तर समय परिवेश,अवस्था अनुसार भने यो फरक हुन्छ । 

पछिल्लो समयको स्ट्याण्डप कमेडीलाई कसरी नियालिरहनु भएको छ?

पछिल्लो समय हुने स्ट्याण्डप कमेडीमा अलि बढी भल्गर शब्दहरु हुने गरेको पाएको छु । यसको मतलव सबैमा त्यस्तो छ भन्ने पनि हैन कतिपय राम्रा कमेडीहरु पनि छन् । 

हामी हाम्रो माटोबाट प्रभावित छौँ । हामी हाम्रो बाटोबाट प्रभावित छौँ ।  त्यो हिसाबले हामी हाम्रो बाटोको कुरा गर्छौँ । हाम्रो माटोको कुरा गछौँ । हामी गन्तव्यको कुरा गछौँ । हाम्रो समाजको कुरा गछौँ । हामीले कुनै पनि गलत कुरा छ भने त्यसलाई सुधार गर्नुपर्छ भन्ने कुरा गछौँ । हामी राजनितीमा व्यङग्य गछौँ । हामी सामाजिक विकृतिहरुमाथि व्यङग्य गछौँ । हामीले गर्ने हास्य व्यङग्य का पाटोहरु यिनै हुन् । 

अब भारतमा हुने स्ट्याण्डप कमेडीलाई हेर्ने हो भने उनीहरु बलिउडको कुरा गर्छन्, क्रिकेटका कुरा गर्छन् अनि श्रीमान श्रीमतिको कुरा गर्छन् । त्यो उनीहरुको आफ्नो पाटो भयो । युरोप अमेरिकाको कमेडीलाई हेर्ने हो भने अलि फरक छ ।  उनीहरु सेक्सको विषयमा कमेडी गर्छन् ।

अब स्ट्याण्डप कमेडीको नाउँमा भल्गर शब्दहरु प्रयोग गर्नेको कुरा गर्दा उनीहरुले त्यही यूरोप अमेरिकामा हुने कमेडीलाई फलो गरेका हुन् । उनीहरु हामी जस्तो नेपाली लेबलको मान्छे हैनन् । अन्तरराष्ट्रिय स्तरका मान्छेहरु हुन र अन्तरराष्ट्रिय कमेडीमा त्यो मान्य हुन्छ ।

यो चिज क्यानडामा सन्नि लियोनीले कुन फिल्म खेल्छिन् र भारतमा आएर कुन फिल्म खेल्छिन् भन्ने कुराले थाहा हुन्छ । क्यानडामा खेलेकोजस्तो फिल्म सन्नि लियोनीले भारतमा आएर खेल्दिनन् । किनभने त्यो भारतले स्वीकार्न सक्दैन । 

हाम्रा भाइबहिनिहरुले चाहिँ क्यानडाको सन्नि लियोनीलाई फलो गरे त्यो सामान्य कुरा हो । किनभने उनिहरु अन्तरराष्ट्रिय कमेडियन हुन ।

पछिल्लो समय स्ट्यान्डअप कमेडी गर्न धेरै सजिलो छ भन्छन् नी ?

हो, पहिला पहिला सफलता प्राप्त गर्न राजा राजेन्द्रहरु दिनरात नभनी स्ट्रगल गर्थे । मान्छे नहाँस्लान् भन्ने तनाव एक हप्ता अगाडिबाट हुन्थ्यो । हेर्ने दर्शकलाई मनोरञ्जन कसरी दिने भनेर अध्ययन गर्थे । 

तर अहिले सिम्रन पाण्डेहरु हिट हुन्छन् । अहिले हिट हुन धेरै सजिलो छ । अर्चना पनेरुहरुलाई सजिलो छ । ज्योति मगरहरुलाई सजिलो छ । सरस्वती लामाहरुलाई सजिलो छ ।  सजिलो छ, सजिलो बनाउँदा सजिलो छ (हाँसो) ।

अब यही हिसाबले अगाडि बढ्दा स्ट्यान्डअप कमेडीको भविष्य कस्तो होला?

यसले स्ट्याण्डअप कमेडीलाई खासै तात्विक असर पार्दैन । मान्छेहरु यस्लाई आँधीबेरी भन्छन तर म चैँ भन्छु यो आँधीबेरी हैन ।  किनभने आँधीबेरीले पुराना संरचनाहरुलाई पनि बिगार्छ ।  तर, यो अहिलेको छाडा कमेडीले पुरानो कमेडीलाई खासै असर गर्दैन । म चै यसलाई भेलसँग तुलना गर्छु ।  भेल आउँछ जान्छ खासै असर गर्दैन । अहिले युवापुस्तालाई फरक रमाईलोको अनुभूति भएको छ त्यति हो ।

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: चैत १५, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया