कुलमानको चमत्कार : प्राधिकरण ७ अर्ब नाफामा, चुहावट १५ प्रतिशतमा झर्‍यो

 साउन २८, २०७६ मंगलबार १३:५३:३५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - गएको आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा १ सय ४९ प्रतिशत बढी नाफा गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले गएको वर्ष ब्याज र रोयल्टी गरी राष्ट्रिय ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गर्न सफल भएको बताउनुभयो ।

चुहावट गएको वर्ष १५ दशमलव ३२ प्रतिशतमा झरेको छ । यो चुहावट अघिल्लो वर्षको भन्दा ५ दशमलव १३ प्रतिशत कम हो । यस्तै गएको वर्ष ७ अर्ब ५५ करोड युनिट बिजुली खपत भएकोमा प्राधिकरणको ३४ प्रतिशत, निजी उत्पादकको २९ प्रतिशत र भारतबाट ३७ प्रतिशत आयात भएको छ ।

प्राधिकरणले बिजुली किनेबापत निजी क्षेत्रलाई १४ अर्ब १३ करोड रुपैयाँ र भारतलाई २३ अर्ब ३ करोड रुपैयाँ भुक्तानी गरेको छ । इनर्जी बैंकिङको अवधारणाअनुसार नेपालले भारतमा यो बखार्मा ३२ करोड रुपैयाँ बराबरको बिजुली पठाएको छ ।

यस्तै अहिलेसम्म कुल जनसंख्याको ७८ प्रतिशत अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको छ । प्राधिकरणले गएको आर्थिक वर्षमा लामो समयदेखि अलपत्र परेका एउटा उत्पादन, ३  वटा प्रसारण लाइन र ३४ वटा वितरणका आयोजना पनि सम्पन्न भएका जनाएको छ ।

यस्तै देशैभरिका थ्री फेज मिटरलाई टीओडी मिटरले विस्थापनको थालनी भएको र काठमाण्डौ उपत्यकालाई ताररहित बनाउन भूमिगत तार बिछ्याउनको लागि ठेकेदार छनौट भैसकेको प्राधिकरणले जनाएको छ ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतको क्षेत्रमा गत वर्ष धेरै सुधार भएको र अब पछाडि जानु नपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया