जसले मासे गुराँसको वन, उनीहरु नै गुराँस रोप्दै

 भदौ ४, २०७६ बुधबार १०:२५:१९ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – अदुवाको सुठो बनाउने क्रममा दाउरा काटेर मासेको लालीगुराँसको वनलाई नवलपरासीका स्थानीयले पुरानै अवस्थामा फर्काउने भएका छन् । 

२० वर्षअघिसम्म लालीगुराँसले ढाकिएको वन अहिले नाङ्गो पाखाको रुपमा परिणत भएको छ । २० वर्ष यताका वर्षहरुमा क्रमशः वन फडानी हुँदै जाँदा लालीगुराँसका  वन मासिएका हुन । अदुवालाई पोलेर सुठो बनाउने क्रममा लालीगुराँसको दाउराबाट कम धुवाँ आउने र सुठो राम्रो हुने भन्दै फँडानी गरेर मासिएको लालीगुराँसको वनलाई पुरानै अवस्थामा फर्काउन स्थानीय नै लागिपरेका छन् ।

नवलपरासी पूर्व नवलपुरको हुप्सेकोट गाँउपालिकाको वडा नम्बर ५ र ६ मा अहिले लालीगुराँसको वन निर्माणका लागि पाँच हजार बिरुवा रोपिँदै छन् । गाउँपालिकाको पहलमा अहिले त्यस क्षेत्रका स्थानीयहरु लालीगुराँस रोप्नका लागि खाल्डो खन्ने काममा व्यस्त छन् ।

महाभारत पहाड श्रृङ्खला अन्तर्गत पर्ने धौवादीको रुद्रपुर, राम्चे, पोखरी, नाम्जाकोट, तारेभञ्याङ, श्रीपोखरी लगायतको क्षेत्रमा लालीगुराँस रोपिने भएको छ । डेढ दशक अघिसम्म पनि यस क्षेत्रमा लालीगुराँस प्रशस्तै पाइने गर्दथ्यो । लालीगुराँसको वन मासिएपछि उजाड बनेको यस क्षेत्रलाई जिल्लाकै पर्यटकीय नमुना क्षेत्र निर्माणका लागि गाउँपालिकाले ‘एक विद्यार्थी, एक गुराँस कार्यक्रम’ अन्तर्गत गुराँसका बिरुवा रोप्ने कार्य अगाडि बढाएको हो । १६ सयदेखि १८ सय मिटरको उचाइमा रहेका पहाडी क्षेत्रमा गुराँसको बिरुवा रोप्न थालिएको छ ।

गाउँपालिकाभित्र रहेका ४५ विद्यालयको नाममा छुट्टाछुट्टै ब्लक (क्षेत्र) निर्धारण गरी गुराँसको बिरुवा रोप्न लागिएको छ । यस्तै जिल्लामा रहेका आठ ओटा पालिका र अन्य विभिन्न संघ संस्थाको नाममा समेत झण्डै ७० ओटा गुराँसको वन निर्माणका लागि ब्लक (क्षेत्र) निर्धारण गरिएको छ । अपनत्वको भावना विकास गर्न र संरक्षणमा सहयोग पुर्याउन छुट्टाछुट्टै ब्लक निर्माण गरी गुँरासको बिरुवा रोप्न लागिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला वल्लभ न्यौपानेले बताउनु भयो ।

रोपिने गुराँसको बोटको  नामाकरण जसले बिरुवा रोप्छ उसैको नामबाट गरिने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनु भयो । ‘हामीले संरक्षणका लागि बिरुवा रोप्नेकै नाममा गुँरासको बोटको नामाकरण गर्ने योजना बनाएका छौँ, यसले बिरुवा रोप्नेको  दायित्वसँगै वर्षमा एक पटक भए पनि गुँरासका बिरुवा रोपिएका क्षेत्रमा आफूले रोपेको बिरुवाको संरक्षणमा पुग्दा पर्यटकीय चहल पहल समेत बढाउनेछ ’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नु भयो ।

विद्यालयहरुका लागि निर्धारण गरिएका ब्लकमा रोपिएका गुराँसको संरक्षण, गोडमेलका लागि विद्यालयबाट वर्षमा एक पटक लालीगुँरासको बिरुवा रोपिएका क्षेत्रमा लैजाने प्रबन्ध मिलाइने उहाँले बताउनु भयो ।  संघीय सरकारले वृक्षारोपण वर्ष घोषणा गरेकाले सरकारको अभियानलाई समेत यस कार्यक्रमले सहयोग पुर्याउने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनु भयो  ।

गण्डकी प्रदेश सरकारको ‘पर्यटक पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत श्रीपोखरी–दारे भञ्ज्याङ्ग–रुद्रपुरगढी–देवचुली–मुकुन्दसेन दरबार हुँदै गैँडाकोटको मौलाकालीकासम्म पदमार्ग निर्माणको प्रस्तावित कार्ययोजना रहेको  छ । प्रस्तावित  पदमार्ग क्षेत्र समेत पर्ने भएकाले पनि लालीगुराँसको वन निर्माणको योजना पर्यटकीय हिसाबले महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।

धौवादी आफैँमा पर्यटकीय क्षेत्र भएको भए पनि यसको प्रचार प्रसारकालागि कुनै कार्य गर्न नसक्दा ओझेलमा परेकाले लालीगुराँसको वन निर्माणको योजनाले प्रचार प्रसार र प्रवर्द्धनमा समेत सहयोग पुर्याउने हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रुङ्कमांगत भुर्तेलले बताउनु भयो । ‘लालिगुराँसको वन बनाउन सके सयौं पर्यटक भित्र्याउन सकिने र यसले आफ्नो आयआर्जन वृद्धि गर्न सकिन्छ भन्ने स्थानीयले बुझेका छन्’ वडा सदस्य भुर्तेलले भन्नुभयो, त्यसैले अहिले यस क्षेत्रका स्थानीय समेत उत्साहित भएका छन् ।

यसै क्षेत्रमा रहेको सेनकालीन रुद्रपुरगढीको प्रसार प्रसारमा समेत लालीगुराँसको वन निर्माणको योजनाले  सहयोग पुर्याउने छ  । रुद्रपुर क्षेत्रमा समेत लालिगुराँस लगाइने भएपछि ओझेमा परेको रुद्रपुर गढी समेत पर्यटकीय गन्तव्य बन्ने विश्वास लिएको गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपीला मल्लले बताउनुभयो ।

हुप्सेकोट गाउँपालिका –५, धौवादी  रुद्रपुर गढीमा दरबारको भग्नावशेस, दरबारको सुरक्षाका लागि वरीपरीबाट खनिएको खाल्डो र सेनाहरुले परेड खेल्ने टुँडीखेल समेत रहेको छ ।   लालीगुराँसको वन निर्माणको योजनाले यसलाई समेत समेट्ने हुदा प्रचार प्रसारमा सहयोग पुग्ने उपाध्यक्ष मल्लले बताउनुभयो । गाउँपालिकाले रुद्रपुर गढीको क्षेत्रलाई समेटी रुद्रपुर नमूना एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएकाले समिति निर्माण गरि यही समितिलाई  लालिगुराँसको वन संरक्षणको जिम्मा दिने योजना रहेको उहाँले बताउनुभयो ।

लालीगुराँसको वन निर्माणका लागि आवश्य बिरुवाहरु मकवानपुरको अघोर र बाघमार क्षेत्रको सामुदायिक वनबाट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत लिला वल्लभ न्यौपानेले बताउनुभयो । मकवानपुरको १६ सय देखि १८ सय मिटरको उचाइमा रहेको सामुदायिक वन क्षेत्रबाट बिरुवाहरु ल्याएको उहाँले बताउनुभयो । 

समान वातावरण मिलाउन समान उचाइमा रहेका बिरुवाहरु ल्याइएको उहाँले बताउनुभयो । केही बिरुवा अझै ल्याउने क्रममानै रहेको उहाँले बताउनुभयो । बिरुवाहरु मर्न सक्ने भएपछि रोप्दै ल्याउदै गरिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो । जिल्लाका आम व्यक्तिहरुमा लालीगुराँसको वन निर्माणको सन्देश दिन र अभियानमा समेट्नका लागि केही दिन भित्रमा यो क्षेत्रमा औपचारिक कार्यक्रम गरिने समेत उहाँले बताउनुभयो ।

लालीगुराँसको वन निर्माण गर्नसके आफ्नो क्षेत्र पर्यटकीय क्षेत्रका रुपमा विकास हुनेमा स्थानीयले  खुशी व्यक्त गरेका छन् । उनीहरुले यसको संरक्षण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।  ‘पहिले आफैँले मासेर लालीगुराँस सकियो ,हिजो थाहा भएन, अब हामी आफैँ फेरि लालीगुराँसको वन बनाउन लागेका छौँ, पर्यटकीय क्षेत्र बन्छ, पर्यटकहरु आउछन्, पर्यटनको माध्यमबाट आम्दानी लिन सकिन्छ भन्ने छ’ नाम्जाकोटका बल बहादुर कानुङ्ग मगरले भन्नुभयो, ‘हामीलाई खुशी लागेको छ ।’

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया