बाटो हिँड्दा पनि स्विटर बुन्ने जुम्लाका बलबहादुर : एउटै स्विटरको मूल्य ४ हजार रुपैयाँसम्म !

 भदौ ५, २०७६ बिहिबार १८:५८:३६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – शिरमा ढाका टोपी, सुरुवाल, धर्के सर्ट अनि सर्टमाथि आस्कोट । अगाडि पछाडि दुवैतिर कालो झोला, झोलामा जिम्बु, हिङ्ग, शिलाजित, बिरेनुन । अनि हातमा ऊनको स्विटर। 

यसरी नै लमजुङका बजारमा सामान बेच्न डुल्नु हुन्छ, जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ सिजाका बलबहादुर बुढा । सामान बेच्नका लागि बजारमा हिँड्दै गर्दा पनि उहाँ हातमा रहेका दुई ओटा लामा काँटीले ऊनको स्विटरबुन्दै गरेको देख्न सकिन्छ ।

काम पनि हुने, बाटो पनि काटिने

‘टाइम पास पनि हुने । बुनेको सामान बिक्री भए कमाइ पनि हुने’, मंगलबार लमजुङको भोटेओडार बगैँचामा सामान बेचेर हिँड्दै गर्दा भेटिनु भएका बलबहादुरले हँसिलो अनुहार पार्दै भन्नु भयो, ‘बाटो हिँड्दै गर्दा पनि स्विटर बुन्छु । काम पनि हुने । बाटो काटेको पनि पत्तै नहुने ।’ 

उहाँले बुनेको ऊनको स्वीटरको मूल्य २ हजार देखि ४ हजार रुपैयाँसम्म पर्छ । ‘पहिले पनि ऊनको स्विटर लगाएकाले यही स्विटर खोज्छन्,’ स्विटरबुन्दै उहाँले भन्नुभयो, ‘ऊनबाट बुनेको स्विटर २ हजार देखि ४ हजार रुपैयाँसम्म बेच्दै आएको छु ।’

ऊनका सामान : महँगा तर बलिया र चोखा

उहाँका अनुसार बसेर बुन्दा ६ दिनमा एउटा स्विटर तयार हुन्छ । हिँड्दै, बुन्दै गर्दा एउटा स्विटर तयार हुन झण्डै १० दिन लाग्छ । बजारमा पाइने स्विटरभन्दा ऊनबाट बुनेको स्विटर कैंयौ गुणा बलियो हुन्छ ।

‘समाजमा ऊन र सुनलाई चोखो मानिन्छ । ऊनबाट बनेका सामान बलिया हुन्छन् । ऊनबाट बनेका सामान धार्मिक कार्यमा चल्छ, चोखो मानिन्छ,’ उहाँले भन्नुभयो, ‘ऊनको स्विटर लगाउँदा चिसोमा न्यानो हुन्छ ।’

ऊनबाट सामान बनाउँदा समय धेरै लाग्ने भएकाले ऊनबाट बनेका सामान केही महँगो हुने उहाँ बताउनु हुन्छ । 

ऊनको गलैँचाको मूल्य ७० हजार

उहाँले १५ वर्षको उमेरदेखि नै ऊनको स्विटर, गलैँचा, राडी बुन्दै आउनु भएको छ । उहाँका अनुसार भेडाको ऊनबाट बुनेको गलैँचाको मूल्य झण्डै ७० हजार रुपैयाँसम्म पर्छ । 

‘यो बुन्न धेरै ऊन र समय लाग्छ । गलैँचामा पूरा नेपालको नक्सा पनि बनाइएको हुन्छ,’ उहाँले भन्नुभयो । ऊनबाट बनेको राडीको मूल्य झण्डै १२ हजार रुपैयाँ पर्छ ।

भेडा पाल्ने र ऊनका सामान बनाउनेको संख्या घट्दै 

उहाँका अनुसार खेतीपानी गर्नु, भेडाबाख्रा पाल्नु, ऊनबाट विभिन्न हस्तकलाका सामान बनाउनु जुम्लावासीको पुर्ख्याैली पेसा हो । मौलिक संंस्कृति हो ।

पछिल्लो समय युवापुस्ताले खेतीपाती, पशुपालनका साथै ऊनबाट सामान बनाउन छाडेको उहाँ बताउनु हुन्छ । ‘युवाहरुले यसप्रति ध्यान दिँदैनन्’, उहाँले भन्नुभयो, ‘उनीहरु पढ्ने/लेख्ने भन्छन् । बरु विदेश जाने भन्छन् । खेतीपाती, पशुपालनमा उनीहरुले खासै चासो राख्दैनन् । कतिपयले त घरमा फलेका स्याउ पनि टिप्दैनन् ।’

उहाँका अनुसार विगतमा जुम्लाका हरेक घरमा भेडा पालिन्थ्यो । ऊनबाट विभिन्न सामान बनाइन्थ्यो । ‘पहिले एउटै घरमा ५/६ सयसम्म भेडा पाल्थे । ऊन काट्थे । ऊनको धागोबाट विभिन्न सामान बनाउँथे, बेच्थे’, उहाँले गुनासो गर्दै भन्नु भयो, ‘तर पछिल्लो समय भेडा पाल्ने, ऊनका सामान बनाउनेको संख्या घट्दै गएको छ ।’
जुम्लामा बर्खाको समयमा ऊनबाट विभिन्न सामान बनाउने र हिउँदमा देशका विभिन्न ठाउँमा पुगेर सामान बेच्ने चलन रहेको उहाँ बताउनु हुन्छ ।

‘चिसो समय, फुर्सदको समयमा बर्खामा बनाइएका ऊनका सामानहरु बेच्न देशका विभिन्न ठाउँमा पुग्छौँ,’ उहाँले भन्नुभयो । जिम्बु, हिङ्ग, बिरेनुनका साथै हातले बुनेका स्विटर बेच्न देशका विभिन्न ठाउँमा पुगिसकेको उहाँ बताउनु हुन्छ ।

‘पहिले–पहिले दार्चुला, अछामतिर पुगेर सामान बेच्थ्यौँ’, उहाँले भन्नुभयो, ‘पछिल्लो समय चितवन, पोखरा, तनहुँ, गोरखा, लमजुङलगायतका ठाउँसम्म पुगेर सामान बेच्दै आएको छु ।’

ठाउँ पनि घुमिने, आम्दानी पनि हुने

घरमा बस्नुभन्दा बाहिर हिँडेर सामान बेच्दा ठाउँ घुम्नुका साथै केही आर्जनसमेत हुने उहाँ बताउनु हुन्छ ।

‘त्यसै घरमा बस्दा खर्च हुन्छ । तर आफैँले बनाएको सामान यसरी लिएर बेच्न हिँडे, विभिन्न ठाउँ घुम्न पाइन्छ’, उहाँले भन्नुभयो, ‘सामान बिक्री भए आम्दानी पनि हुन्छ । दुई महिनामा २५/३० हजार जति कमाइ हुन्छ ।’

गाउँमा रहँदा उहाँले मकै, गहुँ खेती पनि गर्नुहुन्छ । ‘घरमा ‘भ्याग्लुङ’ जातको झण्डै ५० ओटा भेडा पनि पालेको छु,’ उहाँले भन्नुभयो ।

पुर्ख्याैली पेसालाई व्यवसायिक बनाउन आवश्यक

‘रोजगार छैन । उब्जाउले खान पुग्दैन’, उहाँले भन्नुभयो, ‘यसरी सामान बेच्दै हिँड्दा धेरथोर आम्दानी हुन्छ । यसले परिवारको गर्जो टार्न केही सहायता पुग्छ ।’

पुर्ख्याैली पेसालाई व्यावसायिक बनाउन आवश्यक रहेको बताउँदै यसो गर्न सके गाउँघरमै रोजगारी सिर्जना हुनसक्ने उहाँ बताउनु हुन्छ ।

‘गाउँमा बसेर खेतीपाती, पशुपालनका साथै ऊनका विभिन्न सामान बनाउन युवापुस्ता जुटेमा पुर्ख्याैली पेसा र संस्कृति पनि जोगिन्छ,’ ५८ वर्षे बुढाले भन्नुभयो, ‘गाउँघरमै रोजगारी सिर्जना हुन सक्छ । अनि पैसा कमाउन किन जानु पर्‍यो विदेश ?’

अन्तिम अपडेट: भदौ १३, २०७६

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया