पहिरोका कारण बारपाकका २४ घर परिवार विस्थापित

 भदौ ५, २०७६ बिहीबार १६:३७:४५ | किरण लोहनी
unn.prixa.net

गोरखा – बुधबार रातिको भीषण वर्षापछि आएको पहिरोले बारपाकका २४ घर परिवार विस्थापित भएका छन् ।

तीन घण्टासम्मको लगातारको वर्षाले बारपाक सुलिकोट गाउँपालिका–२, रुदुकाका देवबहादुर गुरुङको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र २ को सीमामा गएको पहिरोले दुवै वडाका २४ घर उच्च जोखिममा परेको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताउनुभयो ।

जोखिममा परेका सबैजसो घरधुरी सुरक्षित ठाउँमा सरेको उहाँले जानकारी दिनुभयो । बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टका अनुसार पहिरो प्रभावितहरु सुरक्षित ठाउँको खोजीमा छन् । ‘सबैजसो घरमा पहिरोको लेदो माटो पसेको जानकारी आएको छ’, उहाँले भन्नुभयो, ‘जोखिममा परेका घरका बासिन्दालाई सुरक्षित ठाऊँमा सार्न जनप्रतिनिधिसहित सुरक्षाकर्मीहरु खटिएका छन् ।’

केहीले आफन्त र छिमेकीको घरमा आश्रय लिएको उहाँले बताउनुभयो ।  अहिले पहिरोबाट जोगिएका घरहरु पनि फेरि त्यस्तै वर्षा भएमा जोगिन नसक्ने भएकाले सुरक्षित ठाउँमा स्थानान्तरणको प्रयास भैरहेको गाउँपालिका अध्यक्ष भट्टले बताउनुभयो । पहिरोले एउटा ट्रयाक्टर पनि पुरेको वडाध्यक्ष रोशन विकले जानकारी दिनुभयो ।

२०७२ सालको भूकम्पका कारण विस्थापित भएका आसपासका बासिन्दा सुरक्षित ठाउँको खोजी गर्दै रुदुकामा आएका बसेका थिए । त्यही ठाउँ पनि पहिरोको जोखिममा परेपछि उनीहरु चिन्तित बनेका विकको भनाइ छ ।

पहिरोको कारण स्थानीय तुम्सिका लघु जलविद्युत आयोजनाको नहरमा पनि क्षति पुगेको छ । नहर पहिरोले पुरिएपछि जलविद्युत आयोजनाको उत्पादन बन्द भएको वडाध्यक्ष विकले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया