पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
धादिङको ज्वालामुखी गाउँपालिका २ मैदीकी संगिता श्रेष्ठ नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा भेटिनुभयो । काठमाण्डौ टेकुमा डेरा गरी बस्ने उहाँ छोरा रोमीको आँखा जाँचका लागि अस्पताल पुग्नुभएको हो ।
एक वर्षअघि सामान्य टाउको दुख्ने रोमी अहिले आँखाका बिरामी छन् । हातमा रहेको बिरामी पुर्जा देखाउँदै श्रेष्ठले भन्नुभयो, ‘छोरालाई पढाउन काठमाण्डौ आएर डेरा गरी बसेकोे, अहिले पढाउने भन्दा उपचार गर्न धेरै दौडधुप गर्नुपरेको छ ।’
काठमाण्डौ आउँदा रोमी दुई वर्षका मात्रै थिए । अहिले १४ वर्षका भैसकेका छन् । अहिले ९ कक्षामा पढ्ने रोमीको आँखाभित्र घाउ देखिएको छ । आँखाको समस्याले गर्दा रोमीको पढाइमा समेत असर परेको छ ।
जंकफुड र प्रविधिले बालबालिकामा आँखाको समस्या बढ्दो
रोमी जस्तै विद्यालय जाने उमेर समूहका बालबालिकामा आँखाको समस्या बढ्दो छ । खानपान, बदलिंँदो जीवनशैली र प्रदूषणले आँखामा जोखिम बढेको आँखा रोग विशेषज्ञको भनाइ छ ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल निर्देशक कमलबहादुर खड्काकाले शहर बजारमा बस्ने परिवारको खानपान बदलिंँदै जाँदा अरु स्वास्थ्य समस्या जस्तै आँखामा पनि असर देखिएको बताउनुभयो ।
‘हरियो सागपात र पहेँला फलफूल खुवाउने बानी कम छ, यसको असर आँखामा देखिने गरेको छ’ उहाँले भन्नुभयो । उदाहरण जोड्दै डाक्टर खड्काले थप्नुभयो, ‘मिठामिठा खानेकुरा खाने प्रवृत्ति बढेको छ, बच्चाले लिटो खाएन भने अरु जे खान्छ दिने गरिन्छ । अझ खुवाउनकै लागि मोबाइल, टीभी खोलेर फकाउने चलन व्यापक छ । खेतबारीमै उत्पादन हुने सागपात, फलफूल शहरका बालबालिकाले खान छाडेका छन् ।’
यो समस्या गाउँघरमा पनि बढेको छ । धेरै बालबालिकाको रोजाइमा चाउचाउ, कुरमुरेजस्ता जंकफुड पर्छन् । त्यस्तै शुद्ध पानीको सट्टा कोक, फ्यान्टा, फ्रुटीजस्ता पेयपदार्थ पिउने चलन बढ्दै गएको छ । शुद्ध पानी, सागपात र फलफूल नखाने बालबालिकाको शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । त्यस्तै एकोहोरो टेलिभिजन, मोबाइल, ल्यापटप, भिडियो गेममा झुम्मिने कारणले पनि बालबालिकाको आँखामा असर परेको डाक्टर खड्का बताउनुहुन्छ । उहाँका अनुसार धेरै मोबाइल र टेलिभिजन हेर्ने बालबालिकाकामा बिस्तारै आँखा सुक्खा हुन थाल्छ । आँखा सुक्खा भएपछि दृष्टिदोष देखा पर्छ ।
के हो दृष्टिदोष ?
दृष्टिदोष बालबालिकामा देखिने आँखाको मुख्य समस्या हो । आँखामा निरन्तर दबाबका कारण सुरुमा टाउको दुख्ने समस्या हुन्छ । टेलिभिजन, मोबाइल, कम्प्युटर तथा भिडियो गेममा धेरै समय खर्चने बालबालिकामा पनि यो लक्षण देखिन्छ ।
आँखा पोल्ने, धमिलो हुने, सुख्खा हुने जस्ता समस्या (भिजन सिन्ड्रोम) देखिन सक्छ । समयमै उपचार नगरे आँखा नै बिग्रने सम्भावना धेरै हुन्छ । कक्षाकोठामा लेखेको अक्षर नदेख्ने समस्या हुन्छ । दृष्टिदोष भएका बालबालिकाको पढाइ पनि कमजोर हुन्छ ।
आँखा पाक्ने रोगको पनि जोखिम
विद्यालय जाने उमेरका बालबालिकामा आँखा पाक्ने रोग धेरै देखिने डाक्टरको भनाइ छ । बालबालिका समूहमा हुने भएकाले जीवाणु एकबाट अर्कोमा सर्ने गर्छ । सुरुमा आँखा चिलाउने, रातो हुने, बिस्तारै दुख्ने र पछि पाक्ने हुन्छ । समयमै उपचार नगरे आँखाको ज्योति गुम्न सक्नेसम्मको खतरा हुन्छ ।
दैनिक ७ बालबालिका दुष्टि गुमाउँदै
नेपालमा हरेक दिन ७ जना बालबालिकाले आँखाको देख्ने क्षमता गुमाउने गरेका विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । यीमध्ये पनि दुईजनाले आँखा नदेखेकै कारण ज्यान समेत गुमाउने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई आधार मान्दा महिनामा झण्डै २ सय १० र वर्षमा २ हजार ५ सय भन्दा बढी बालबालिकाले दृष्टि गुमाउँछन् । मासिक औषतमा ६० बालबालिकाले ज्यान गुमाउने गरेका छन् । यो संख्या वर्षमा ७ सय ३० हो । मोतिबिन्दुबाट भने कमै बालबालिका पीडित छन् । अभिभावककै चेतनाको अभावले बालबालिकाको आँखा जोगाउन गाह्रो परेको डाक्टर खड्का बताउनुहुन्छ । तर दृष्टिदोष, मोतिबिन्दु जस्ता आँखाका समस्याक उपचार गरेर ठिक गर्न सकिन्छ ।
के गर्ने ?
सानो उमेरमा आँखा कमजोर हुँदैन भन्ने आम बुझाइ छ । बालबालिकाले चस्मा लगाउनुलाई पनि अनौठो नै मान्ने गरिन्छ । तर खानपान, बदलिंँदो जीवनशैली र बढ्दो प्रदूृषणले आँखामा जोखिम बढेको छ । आँखाको हेरचाह र उपचारमा ध्यान नदिँदा देख्ने आँखा लिएर जन्मेका कतिपय बालबालिका पछि नदेख्ने अवस्थामा पुगेका छन् ।
त्यसैले बालबालिकाको आँखामा समस्या आउन नदिन यी कुरामा ध्यान दिनुपर्ने डाक्टरहरु बताउँछन्:
बाहिर भन्दा घरकै खानेकुरामा जोड दिने ।
खेतबारीमा फलेका तरकारी र पहेँला फलफूल खाने र खुवाउने ।
बालबालिकालाई लामो समय मोबाइल, कम्प्युटर तथा टेलिभिजनमा झुम्मिन नदिने ।
बालबालिकालाई स्कुल भर्ना गर्नुअघि आँखा जाँच गर्ने ।
वर्षमा कम्तिमा एक पटक बालबालिकालको आँखा जाँच गराउने ।
डाक्टर खड्काका अनुसार हरिया सागपात र फलफूल धेरै खाने बालबालिकालाई आँखाको संक्रमण हुने सम्भावना निकै कम हुन्छ । हरियो तरकारी, हरियो सागपात, फलफूलले शरीरमा आइरन पनि प्राप्त हुन्छ । बालबालिकाको खानपानदेखि बेला बेला आँखा जाँचमा समेत ध्यान दिन अभिभावकलाई डाक्टर खड्काको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।