सामाजिक सञ्जालमा जथाभावी नलेखौँ, जेलदेखि जागिर नै खाेसिनेसम्मका कारबाही हुन सक्छ !

 भदौ ७, २०७६ शनिबार ७:२२:३२ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – गएको २० साउन २०७४ मा चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मदतानको तयारी हुँदै थियो ।

त्यही वर्ष वैशाख ३१ गते भएको चुनावमा मतगणना हुँदै गर्दा मतपत्र च्यातिदिएपछि गणना कार्य रोकिएको थियो । पछि सर्वोच्च अदालतले मतपत्र च्यातिएको १९ नम्बर वडामा पुनः मतदान गर्ने फैसला गरेपछि २० गते चुनाव तोकिएको थियो ।

भरतपुर महानगरको प्रमुखका लागि तत्कालीन माओवादी केन्द्रबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली उम्मेद्वार थिए । आफ्नो उम्मेद्वार हार्ने भएपछि माओवादीले मतपत्र च्यातेको एमालेले आरोप लगाएको थियो । मतपत्र च्यातेको आरोपमा तत्कालीन माओवादी कार्यकर्ता नै पक्राउ परेका थिए ।

साउन २० मा १९ नम्बर वडामा पुनः मतदानको अन्तिम तयारी भइरहँदा सामाजिक सञ्जाल फेसबुकमा माओवादीबाट मेयरका उम्मेद्वार दाहालका बारेमा जथाभावी लेखेको भन्दै एमालेबाट मेयरका उम्मेद्वार बनेका ज्ञवालीका छोरा निरभलाई प्रहरीले पक्राउ गर्‍याे ।

दाहालको ठाडो उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले साउन १८ गते काठमाण्डौबाटै निरभलाई पक्राउ गरेर हिरासतमा लिएको थियो ।अबदेखि सामाजिक सञ्जाल फेसबुकमा कसैका विरुद्ध पनि जथाभावी नलेख्ने सर्तमा पछि उनी धरौटीमा रिहा भए ।

संगठनको मर्यादाविपरीत सामाजिक सञ्जाल फेसबुकमा बर्दीसहितको फोटो पोस्ट गरी जथाभावी लेख्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्रबहादुर चन्दले जागिर नै गुमाउन पर्यो ।

संगनको गरिमामा आँच आउने र विभिन्न गैरजिम्मेवारपूर्ण लेखहरु फेसबुकमा पोस्ट गरेको अभियोग चन्दलाई लागेको थियो ।  फेसबुकमा जथाभावी लेख्दा उनले जागिरबाटै हात धुनु पर्यो ।

यस्तै १४ जेठ २०७५ मा फेसबुकमा अश्लील तस्बिर राखेर राष्ट्रपति र प्रधानमन्त्रीको अपमान गरेको पाइएपछि नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासोती १ का सुरज भुसाल भनिने २९ वर्षीय तोयराज भुसाल पक्राउ परे । उनलाई साइबर अपराधसम्बन्धी मुद्धामा कारबाही गरियो ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै जथाभावी लेख्दा सिन्धुपाल्चोक मेलम्ची–३ का ईश्वरकुमार चौलागाईं पनि पक्राउ परे ।

स्थानीय एक विद्यालयका प्रधानाध्यापक रहेका चौलागाईंले फेसबुकमा सम्मानित संस्थाविरुद्ध अपमानित हुने कुरा लेखेकाले साइबर अपराध भएको पाइएपछि गएको १३ असार २०७५ मा पक्राउ परेका थिए । नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको सचिव समेत रहेका चौलागाई आफूले यस्तो सामग्री फेसबुकमा राख्नु अपराध हो भन्ने थाहा नभएको भन्दै माफी मागेपछि धरौटीमा रिहा भए ।

शिक्षक मात्रै होइन सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा तरुण दलका नेता पनि पक्राउ परे । ८ पुस २०७५ मा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का विरुद्ध फेसबुकमा जथाभावी लेख्दा पर्यटन व्यवसायी समेत रहेका तरुण दलका पूर्व केन्द्रीय सदस्य सुबोध प्रधान पक्राउ परे । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको थियो ।

पछिल्लो पटक प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई अपशब्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गरेका बारा सिमराका २८ वर्षीय सागर मैनाली पक्राउ परे ।

मैनालीले फेसबुकमा भिडियो अपलोड गरेर प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई ‘काट्ने, मार्ने’ धम्की दिएका थिए । मैनालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले बाराबाट पक्राउ गरेर काठमाण्डौ ल्याएको छ ।

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका मैनालीले आक्रोसमा यस्तो गरेको बताएका छन् । सामाजिक सञ्जालमा यस्तो गर्दा हुन सक्ने कारबाहीका बारेमा जानकारी नहुँदा आक्रोश पोखेको उनको भनाइ छ ।

यो त सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्दा पक्राउ परेकाहरु मात्रै हुन् । यो बाहेक फेसबुकको म्यासेन्जर, ट्विटर, इन्स्टाग्राम तथा युट्युबमा जथाभावी लेख्ने र भिडियो पोस्ट गर्दा पक्राउ पर्नेहरु पनि छन् ।  

फेसबुक म्यासेन्जरमा अश्लील धम्की

फेसबुकमा स्टाटस लेखेर आक्रोश पोख्नेभन्दा पनि बढी म्यासेन्जरमा अश्लील म्यासेज पठाएर धम्की दिने घटनाका मुद्धा ब्यूरोमा धेरै परेको छ ।

यस्तो घटनामा सबैभन्दा बढी महिला पीडित देखिएका छन् । पहिला सम्बन्ध हुँदा खिचिएका फोटोहरु सम्बन्ध छुटेपछि केटाले म्यासेन्जरमा राखेर फेरि सम्बन्धका लागि दबाब दिने र नमाने सार्वजनिक गर्ने घटनाहरु बढी रहेको प्रहरीको तथ्यांकमा छ ।

यस्तो घटनामा सबैभन्दा बढी १८ देखि ३० वर्ष मुनिका युवतीहरु बढी पीडित देखिएका छन् । महिलालाई यस्तो धम्की दिनेमा २० वर्ष माथिकै पुरुषहरु धेरै रहेको पनि प्रहरीको तथ्यांकमा छ ।

विशेषगरी ११ र १२ कक्षा पढ्ने विद्यार्थीहरु ज्यादा पीडित भएको तथ्यांकले देखाएको छ । १८ वर्ष मुनिका किशोरी पीडित भएको १३ वटा घटना दर्ता भएको छ । 
अश्लील फोटोमा टाउको जोडेर म्यासेन्जरमा पठाउँदै धम्की दिने, त्यस्ता फोटो राखेर फेसबुक प्रोफाइल बनाएर सामाजिक प्रतिष्ठामा नै आँच पुर्याउने जस्ता गतिविधि भएका घटना ब्यूरोमा आउने गरेको छ ।

कतिपय घटनामा चिनेका र छरछिमेककै व्यक्तिहरुबाट यस्तो हुने गरेको छ । ब्यूरोमा उजुरी परेपछि छानबिन गरेर पत्ता लगाउँदा चिनेकै परे कतिपयले माफी दिएर आइन्दा नगर्ने सर्तमा छाड्ने गरेको र कतिपयलाई भने मुद्धा चलाएरै कारबाही गर्ने गरिएको छ । त्यस्ता एकाउन्टहरु प्रहरीले बन्द गरिदिने गरेको छ ।

चालु आर्थिक वर्षमा १ सय ९६ वटा यस्ता घटनाको उजुरी परेको र ३ जना धरौटीमा रिहा भएको ब्यूरोको तथ्यांकमा छ ।

धरौटीमा रिहा भएकाहरुले पनि म्यासेन्जरमा पहिले आफूसँग सम्बन्ध भएको युवतीले अहिले छोडेर अन्तै बिहे गर्न लागेपछि आफ्ने नभए कसैको पनि हुन नदिने भन्दै उनीहरुको अश्लील फोटोहरु सार्वजनिक गरिदिएका थिए ।

१ सय ८५ भन्दा बढी फेसबुक र म्यासेन्जरमार्फत भएका घटनाहरु रहेको ब्यूरोका प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो । युट्युब, इन्स्टाग्राम र ट्विटर जस्ता सञ्जालमार्फत पनि यस्ता घटनाहरु भएका छन् ।  

इन्स्टाग्राम पनि असुरक्षित

काठमाण्डौको गट्ठाटारका दुई दिदीबहिनी इन्स्टाग्राममा चर्चित बन्दै थिए । उनीहरुले अपलोड गर्ने फोटोमा हजारौँको लाइक्स आउथ्यो । फलोअर्स पनि उनीहरुको हजारौँ पुगेको थियो । दुवै दिदीबहिनीको इन्स्टाग्राम लोकप्रिय हुँदै जाँदा एक जनाले उनीहरुले चलाउँदै आएको इन्स्टाग्राम एकाउन्ट नै ह्याक गरिदिए ।

ह्याक गर्ने व्यक्तिले दुवै दिदीबहिनीको टाउको अश्लील तस्वीरमा जोडेर त्यही एकाउन्टमा पोस्ट गरिदिन्छन् । एकाएक आफ्नो एकाउन्ट ह्याक भएर अश्लील तस्बिर आएपछि दिदीबहिनी आत्तिँदै केन्द्रीय साइबर ब्यूरो पुग्छन् ।

ब्यूरोमा उजुरी परेपछि छानबिन थाल्छ । प्रहरीको अनुसन्धानबाट दिदीबहिनीको एकाउन्ट ह्याक गर्ने उनीहरुकै चिनजानका नजिकका व्यक्ति हुन्छन् । उनीहरुले एकाउन्ट बन्द गर्न भने पनि चिनेका व्यक्तिलाई आफैले सम्झाउने भन्दै जाहेरी दिँदैनन् । 

कतिपय घटनामा अनुसन्धानपछि चिनेजानेकै व्यक्ति हुँदा पीडितले एक पटकलाई छोडिदिँउ भन्दै उजुरी फिर्ता लिने गरेका छन् । कतिपयले भने कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने गरेका छन् ।

इमो पनि जोखिममा

भक्तपुरको सूर्यविनायककी सुफीको इमोमा राति अपरिचित नम्बरबाट म्यासेज र फोन आउँछ । २÷४ दिन उनीहरु राम्रै कुरा पनि गर्छन् । त्यसपछि भने केटाले सुफीसँग अश्लील कुराहरु गर्न खोज्छ । सुफीले पनि केटोलाई ब्लक गरिदिन्छे ।

तर केटाले सुफीको टाउको अश्लील फोटोमा जोडेर अर्कै नम्बरबाट युवतीको इमोमा फोटो पठाउँछ । आफ्नो टाउको जोडिएको अश्लील फोटो देखेपछि आत्तिएकी सुफी प्रहरीकोमा पुग्छिन् । प्रहरीले अनुसन्धान गर्दा केटो नेपालभन्दा बाहिर बसेर त्यस्तो गरेको पत्ता लगाउँछ । अहिले सुफीले इमो एकाउन्ट नै चलाउन छोडेकी छिन् ।

युट्युबरलाई कारबाही

रत्नपार्कमा घुम्न पुगेका युवतीको भिडियो खिचेर एउटा युट्युब च्यानलले अश्लील काम गर्ने युवती यिनै हुन् भन्दै उनीहरुको नम्बरसहित राख्छ । रत्नपार्कभित्रको शान्तिबाटिकामा धेरै जना घुम्न जाने गर्छन् ।

तर त्यहाँ गएकै भरमा भिडियो खिचेर युट्युबमा चरित्र हत्या गर्ने गरी राखेपछि ती युवतीहरु उजुरी लिएर साइबर ब्यूरो पुग्छन् । प्रहरीले अनुसन्धान गरेर तत्कालै युट्युब चलाउनेलाई पक्राउ गर्छ । तत्काल युट्युबबाट त्यो भिडियो हटाउँदै उनलाई प्रहरीले मुद्दा चलाउँछ ।

अहिले युट्युबले प्रहरी अनुसन्धानलाई नै चुनौती दिने गरी जथाभावी सामग्री पस्कने गरेका छन् । त्यस्ता युट्युब च्यानललाई पनि आफूहरुले निगरानीमा राखेर अनुसन्धान गरिरहेको केन्द्रीय साइबर ब्यूरोका प्रहरी उपरीक्षक रेवती ढकाल बताउनुहुन्छ ।

कस्ताे कारबाही हुन्छ ?

पछिल्लो समय सामाजिक सञ्जालमा जथाभावी लेख्ने क्रम बढेको छ । कसैको मान प्रतिष्ठामाथि नै आँच पुग्ने तथा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर, प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिने घटना बढेको साइबर क्राइम ब्यूरोले जनाएको छ ।

यस्तो घटनामा संलग्नलाई विद्युतीय कारोबार ऐन २०६३ सम्बन्धी मुद्धा चलाइने र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिबाना र छ महिनादेखि ५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । ऐनको दफा ९ ले कम्प्युटरसम्बन्धी कसुर एवं दण्ड सजायको व्यवस्थामा यस्तो कारबाहीको व्यवस्था गरेको छ ।

सामाजिक सञ्जाललाई व्यक्तिगत विचार व्यक्त गर्ने ठाउँको रुपमा लिँदा यस्ता घटनाहरु बढेको प्रहरीको विश्लेषण छ । कतिपयले आक्रोशलाई सामाजिक सञ्जालमा व्यक्त गर्ने चलन छ । तर सामाजिक सञ्जालमा कस्ता कुरा राख्ने कस्ता कुरा नराख्ने भन्ने हेक्का राख्नु पर्ने प्रहरीको सुझाव छ ।

कतिपयले आफूले गरेको भन्ने कुरा कसैले थाहा पाउँदैन भन्ने सोचेर अर्कैको नाममा आइडी बनाएर जथाभावी लेख्ने गरेको पनि भेटिएको छ । सामाजिक सञ्जाल कहिल्यै पनि गोप्य नहुने भएकाले यसको प्रयोगमा सबैले ध्यान दिनुपर्ने केन्द्रीय साइबर ब्यूरोका प्रहरी उपरीक्षक रेवती ढकाल बताउनुहुन्छ ।

जथाभावी लेख्ने मात्रै नभइ सामाजिक सञ्जालमा अरुले जथाभावी लेखेका कुरा सेयर गर्ने पनि कारबाहीमा पर्छन् । सामाजिक सञ्जालमा सभ्य भएर आफ्ना विचार तथा आक्रोश पोख्न पाइने भए पनि अश्लील गाली गर्ने तथा सामाजिक शान्ति सुरक्षामा खलल पुग्ने खालका काम गर्दा कारबाहीको भागिदार हुनुपर्ने छ ।

सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्ने, अभद्र, अमर्यादित टिप्पणी गर्ने, फोटो बिगारेर पोस्ट गर्नेलाई पक्राउ गर्न अहिले प्रहरी नै खटिएका छन् ।

सामाजिक सञ्जालबाट हुने अपराध रोक्न साइबर क्राइम ब्यूरो लागि परेको छ । ‘सामाजिक सञ्जालबाट हुने अपराध रोक्ने पहिलो उपाय आ–आफ्नो स्थानमा आफै सचेत हुनु नै उत्तम उपाय हाे’, ढकाल भन्नुहुन्छ, ‘नभए जथाभावी लेखेपछि कारबाहीको भागिदार त हुनै पर्छ ।’ 

सामाजिक सञ्जालकाे प्रयाेग गरेकै आधारमा त्याे व्यक्तिकाे चरित्रका बारेमा पनि थाहा हुने भएकाले सामाजिक सञ्जालकाे प्रयाेग गर्दा मर्यादित बन्नु नै उपयुक्त देखिन्छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया