अंग्रेजमाथि नेपाली फौज विजयी भएको सम्झनामा तानसेनमा विजयोत्सव मनाइँदै

 भदौ ७, २०७६ शनिबार ८:१:११ | देव पचभैया
unn.prixa.net

पाल्पा – अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा शनिबार पाल्पाको तानसेनमा  श्री रणउजिरेश्वरी भगवतीको २०१औँ विजयोत्सव मनाइँदै छ ।

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष मनाइँदै आइएको हो । अंग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाइँमा युद्धमा जानुअघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने  भाकल गरेको र विजयपश्चात जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ ।

पाँच वटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परे पनि जितगढीको लडाइँमा अंग्रेज फौजलाई नेपाली फौजले हराएको थियो । त्यसैको सम्झनामा विक्रम संवत् १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिनुभयो ।

शनिबार दिउँसो १२ः४५ मा रथ उठाइने र बजार परिक्रमा गरिने उदयको भनाइ छ । समितिका सचिव भिमसेन कार्कीका अनुसार  जात्राको अघिल्लो दिन राति आतिसवाजी, लाखेनाचसँगै भगवतीको रथ उचालेर बली दिइएको छ । रातभरि जाग्राम बसेर भगवतीको महिमा गाउने र अर्को दिन बिहानैदेखि पूजापाठ गरी रथलाई बजार परिक्रमा गराउने चलन रहेको सचिव कार्कीले जानकारी दिनुभयो ।

शुभ साइतमा  सेनाको  कर्णेल पूजा र प्रमुख जिल्ला अधिकारीको सरकारी पूजा पछि पञ्चेबाजासहितको र्यालीले भगवतीको रथलाई पाल्पा दरबार परिसर हुँदै बजार परिक्रमा गराइन्छ ।  भगवतीको मूर्ति राखेर बजार परिक्रमा गराइने रथ बोक्न ४२ बढी कुमाल समुदायका पुरुषहरु खटिँदै आएका छन् ।  

सांस्कृतिक झाँकीसहितको र्यालीका साथमा बजार परिक्रमा गराइने रथको अघिपछि नेपाली सेना, प्रहरी, निजामती कर्मचारी, खेलाडी, विद्यार्थी, स्थानीय संघ संस्थाका प्रतिनिधि, भक्तजन लगाएको सहभागिता रहन्छ ।

राष्ट्रिय गौरवको इतिहास जोडिएको भगवती जात्रामा सबै जाति, धर्म र समुदायको सक्रिय सहभागिता  रही आएको छ । स्थानीय बिदा दिएर मनाइने भगवती जात्रा हेर्न छिमेकी जिल्लाबाट पनि भतmजनहरु आउने गर्दछन् ।

नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको श्री रणउजीरेश्वरी भगवती माईको रथ जात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्नेमा पाल्पालीको माग रहेको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया