कालिकोटको छाप्रेमा पहिरो, राजमार्ग अवरुद्ध

 भदौ १०, २०७६ मंगलबार १८:११:२६ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट –  तिलागुफा नगरपालिका वडा नम्बर ७ छाप्रेमा पहिरो गएको छ । सोमबार राति अविरल वर्षासँगै गाउँमा पहिरो खसेको हो । गाँउमा पहिरो खसेपछि स्थानीयबासीहरु विस्थापित भएका छन् ।

तिलागुफाका वडा नम्बर ६, ७ र ८ का तीन वटा बस्तीहरु पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोका कारण छाप्रे र डाँढमा रहेका बस्ती विस्थापित भएको तिलागुफा नगरपालिकाका मेयर रतनबहादुर शाहीले जानकारी दिनुभयो ।

मेयर शाहीले भन्नुभयो, ‘पहिरो अहिले पनि खसिरहेको छ । राति गाउँमा पहिरो खस्दा भागाभाग भयो । गाउँमा पहिरो खसे पनि मानविय क्षति भने भएन । डाँढ गाउँका दुई घर पहिराले क्षतिग्रस्त भएका छन् ।  टाकुल्लामा दुई कोठे घर पुरिएको छ ।

पहिरोले कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडकखण्ड पनि अवरुद्ध भएको छ । कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन् । जुम्ला, मुगुबबाट सुर्खेततर्फ र सुर्खेतबाट जुम्ला मुगुतर्फ जाने सवारी साधन तथा यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।

पहिरोग्रष्त क्षेत्रमा उद्धारका लागि जिल्लाका तीन वटै सुरक्षा निकाय खटिएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलीयाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका डीएसपी दिलप्रसाद भट्टको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाली सेना पहिरो स्थलमा खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलीयाले आफूहरुले पहिरोको जोखिममा परेका परिवारहरुको तथ्यांक संकलन, उनीहरुको बसोबासका लागि नगरपालिकासँग समन्वय गरिरहेको बताउनुभयो ।

पहिरोको जोखिममा रहेका  छाप्रेका २५ घरहरु विस्थापित हुने अवस्थामा छन् ।

अन्तिम अपडेट: चैत ४, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया