सुुर्खेतकाे जंगलमा मरेका गाईगाेरुका विषयमा छानबिन गर्न नेपालगञ्जमा समिति गठन

 भदौ १४, २०७६ शनिबार २०:१०:५५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगन्जको काञ्जिहाउसबाट छाडा पशु चौपाय दैलेख लैजाने क्रममा सुर्खेतको जंगलमा मृत भेटिएको विषयमा छानबिनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले समिति गठन गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका कार्यवाहक मेयर तथा उपमेयर उमा थापा मगरको अध्यक्षतामा शनिबार बसेको नगर कार्यपालिकाको बैठकले घटनाका सम्बन्धमा  स्थलगत अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता विकास आचार्यको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ ।

समितिमा अधिकारकर्मी बिश्वजित तिवारी,  अधिवक्ता वसन्त गौतम, पत्रकार पूर्णलाल चुके, पशु स्वास्थ्य चिकित्सक, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य र उपमहानगरपालिकाका वरिष्ठ अधिकृत खिमानन्द अर्याल सदस्य सचिव रहनुभएकाे छ ।  समितिले निष्पक्ष छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

प्रतिवेदनको आधारमा दोषीलाई हदैसम्मको कारबाही गरिने कावा मेयर मगरले बिश्वास दिलाउनुभएको छ । सर्वदलीय, सर्वपक्षीय बैठक समेतको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा पवित्र उद्धेश्यका साथ छाडा पशु चौपाय दैलेख पठाउन लगिएकोमा सुर्खेतस्थित कट्कुवाको जंगलमा छोडिनुलाई गम्भिरताका साथ लिँदै उपमहानगरपालिकाले क्षमायाचना समेत गरेको छ ।

 उप–महानगरपालिकाका वडा नम्बर २१ पुरैनीमा छाडा पशु चौपाया व्यवस्थापनका लागि अस्थायी रुपमा निर्माण गरिएको काञ्जिहाउसमा रहेकामध्ये २९१ गाई वस्तुलाई नेपालगञ्जदेखि दैलेख स्थानान्तरण गर्ने पवित्र उद्देश्यका साथ लगिएकोमा केही गाईवस्तुहरु सुर्खेतको कटकुवा भन्ने स्थानमा मृत भेटिएको खबरले उपमहानगरपालिका कार्यपालिका अत्यन्त दुखित भएको बैठकपछि कावा मेयर मगरले बताउनुभयो  ।

गाई वस्तु पुर्‍याएर फर्केलगत्तै केही पशु चौपायाको मृत्य भएको जानकारी पाएपछि सुर्खेत प्रहरी, प्रशासन र स्थानीय तहसँगकाे समन्वयमा मृतक गाईको उचित व्यवस्थापन, घाइतेको उपचार लगायतका कार्य भइरहेको भन्दै उहाँले  सुर्खेत जंगलमा छोडिएकामध्ये शनिबार साँझसम्म १६६ गाईवस्तु नेपालगञ्जकाे काञ्जिहाउसमा फिर्ता ल्याइएको जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले नेपालगञ्ज आफैँमा धार्मिक तथा सामाजिक रुपमा अति संवेदनशील शहर भएको भन्दै सम्पूर्ण नगरवासीमा संयमताका लागि अपिल गरेको छ । साथै उपमहानगरपालिकाले शान्ति, सद्भाव, सहयोग, सहकार्य र सहिष्णुतालाई अझ बढी प्रगाढ बनाइराख्न आम नगरवासीमा अनुरोध समेत गरेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया