जाजरकोटमा पहिरोले पुरिएर तीन जनाको ज्यान गयाे

 भदौ १५, २०७६ आइतबार १५:२२:५४ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट - भेरी नगरपालिका-२, तिमिले गाँउमा शनिबार राति पहिरोमा पुरिएर तीन जनाको ज्यान गएकाे छ ।

भिरालो जमिनमा रहेको घर पछाडिको भागबाट आएको पहिरोले पुरेर तीन जनाको ज्यान गएकाे हो । माथिबाट आएको पहिरोले पुरेर भेरी नगरपालिका–२ तिमिलेका दलबहादुर वलीकी अन्दाजी ३२ वर्षीया श्रीमती पार्वती वली, ९ वर्षीया छोरी मोतिकला वली र ३ वर्षीया छोरी धनसरा वलीको मृत्यु भएको जाजरकोटका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । 

शनिबार राति झण्डै पाैने दुई बजे आएको पहिरोमा पुरिएकाहरुकाे खाेजी गर्दा पाँचकाटिया प्रहरी चौकीकाे टोलीले आइतबार बिहान ७ बजे सबैलाई मृत अवस्थामा भेट्टाएकाे प्रहरी प्रमुख खत्रीले बताउनु भयो ।

उहाँका अनुसार घरको अर्को कोठामा सुतिरहेका दल बहादुर वली भने सामान्य घाइते हुनुुहुन्छ ।

अविरल वर्षा र भाैगाेलिक विकटताका कारण जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली घटनास्थलमा बिहान मात्रै पुगेको थियो । अहिले पनि पानी परिरहेकोले घटनाको विस्तृत मुचुल्का हुन बाँकी छ । घटना स्थलमा सशस्त्र  प्रहरीको टोलि पनि पुगेको छ ।

यसैबीच भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले आफ्नो प्राकृतिक प्रकोपको सम्भावना धेरै रहेको हुँदा सम्पूर्ण नगरवासीहरु आ-आफ्नो ठाउँमा सचेत भएर बस्न आग्रह गर्नुभएको छ ।

उहाँले भेरी नगरपालिकाका अन्य सम्पूर्ण सरोकारवाला निकायहरु, प्रदेश सरकार र संघीय सरकारसँग उचित समन्वय र सहकार्य गर्दै पीडितहरुको उचित क्षतिपूर्ति, राहत र उद्धारका लागि उच्च सतर्क अवस्थामा रहेको जानकारी समेत गराउनु भएको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया