‘साहो’ बाट ‘बाहुबली’ को क्रेज पाउन सकेनन् प्रभासले

 भदौ १६, २०७६ सोमबार ९:५४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार प्रभास र बलिउड अभिनेत्री श्रद्धा कपूरको बहुप्रतिक्षित चलचित्र ‘साहो’ अगष्ट ३० मा प्रदर्शन भैसकेको छ । 

चलचित्रलाई लिएर निकै उत्साहित भएका दर्शकहरु प्रदर्शनको मिति कुरेर बसेका थिए । तर चलचित्र प्रदर्शनमा आएसँगै चलचित्र समीक्षकले नकारात्मक समीक्षा दिएपछि चलचित्रले दर्शक तथा फ्यानहरुको अपेक्षा पूरा गर्न सकेन ।

चलचित्रको क्रेज हेर्दा पहिलो दिन ५० करोड भारु भन्दा धेरैको कारोबार गर्नसक्ने अनुमान गरिएको थियो । तर यो चलचित्रले प्रदर्शनको पहिलो दिन अपेक्षा गरेभन्दा थोरै जम्मा २४.४० करोड भारतीय रुपैयाँको कारोबार गरेको छ । चलचित्रले दोस्रो दिन २५.२० करोड भारु कमाएको छ ।

यसअघि प्रभास अभिनित चलचित्र ‘बाहुबली’ का दुई ओटै सिरिज ‘ब्लकबस्टर’ भएका थिए । त्यसपछि अन्य चलचित्रमा नदेखिएका प्रभासलाई हेर्न दर्शकहरु आतुर थिए । यसका साथै ‘साहो’ प्रभासको बलिउड डेब्यू चलचित्र भएकाले पनि उनलाई विशेष रुपमा हेरिएको थियो । तर प्रभासले चलचित्र ‘साहो’ मार्फत आशा गरे अनुसार दर्शक तथा समीक्षकको मन जित्न सकेनन् । ३ सय ५० करोड भारुको लगानीमा बनेको चलचित्रको कहानी निकै कमजोर रहेको समीक्षकहरुले टिप्पणी गरेका छन् ।  

प्रभास र श्रद्धा कपूर अभिनित चलचित्र ‘साहो’ को पहिलो दिनको कमाइको कुरा गर्दा यसले केही दिनअघि मात्रै प्रदर्शन भएको अक्षय कुमारको चलचित्र ‘मिशन मंगल’ ले बनाएको रेकर्डसमेत तोड्न सकेन । ‘मिशन मंगल’ ले पहिलो दिन २९.१६ करोड भारु कमाएको थियो भने ‘साहो’ ले २४.४० करोड भारु कमाएको छ ।

सन् २०१७ मा प्रदर्शन भएको प्रभासको चलचित्र ‘बाहुबली २ : द कन्क्लुजन’ को पहिलो दिनको कमाइले सबैलाई आश्चर्यमा पारेको थियो । विभिन्न भाषामा रिलिज भएको चलचित्रले पहिलो दिनमा १२२ करोड भारु रुपैयाँको व्यापार गरेको थियो ।

चलचित्र ‘साहो’ मा प्रभास र श्रद्धा कपूरका साथै अरुण विजय, नील नितिन मुकेश, मन्दिरा बेदी, ज्याकी श्राफ, चंकी पाण्डे, महेश मान्जेकरलगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । ३५० करोडको लगानीमा बनेको यो चलचित्र हिन्दी भाषाका साथै मलयालम, तमिल र तेलुगु भाषामासमेत रिलिज भएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया