पर्व सुधारका लागि भन्दै गोरखामा भदौमै मनाइयो दशैँ

 भदौ २२, २०७६ आइतबार २०:२०:१९ | किरण लोहनी
unn.prixa.net

गोरखा – झरी पर्न रोकिएको छैन, बाटोघाटो हिलाम्मे छन् । ठूला चाडबाड अघि पर्ने पितृ पक्ष अर्थात सोह्र श्राद्धसमेत सुरु भएको छैन । नेपाली हिन्दू धर्मावलम्बीहरुको प्रमुख चाड दशैँ सुरु हुन अझै २० दिन जति बाँकी नै छ । धेरैजसोले दशैँमा पुर्ख्याैली थलो योजनासमेत बनाउन भ्याएका छैनन् । 

तर तपाईँलाई अचम्म लाग्न सक्छ, गोरखाका विभिन्न गाउँका बासिन्दाले भने दशैँ मनाइसके । त्यो पनि कुनै परिबन्दमा परेर होइन, मन्दिरमा घटस्थापना गरेर, दैनिक दुर्गा भवानीको पूजा गरेर अनि दशमीको दिन टीका र जमरा लगाएर । 

एक दुई परिवारले पनि होइन, जिल्लाको सदरमुकामसहित आसपासका १ हजारभन्दा बढीले भदौ २२ गते दशमीको दिन टीका जमरा र प्रसाद ग्रहण गरेर दशैँ मनाएका हुन् । गोरखा सदरमुकामका झण्डै ५ शय र सिरानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा आइतबार दशैँको टीका लगाएर यो वर्षको दशैँ पर्व मनाइएको छ । 

आइतबार टीका, जमरा लगाउनका लागि सदरमुकामको राधावल्लभेश्वर मन्दिरमा १० दिनअघि घटस्थापना गरिएको थियो । पर्व सुधारका पक्षधरको घरसहित सदरमुकामको महेन्द्रज्योति माविका विद्यार्थीहरुलाई टीका जमरा लगाएर दशैँ मनाइएको हो । 

अहिले कार्यान्वयनमा रहेको पात्रोलाई समयानुकुल परिमार्जन गर्नुपर्ने भन्दै उनीहरुले एक महिनाअघि नै दशैँ मनाएका हुन् । यसरी दशैँ मनाउनेहरुले पर्व सुधारका लागि भदौमै दशैं मनाउनु परेको तर्क गर्छन् । 

पर्व सुधारको अभियानलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउन दबाब दिने उद्देश्यले भोजभतेरसहित टीका लगाइएको हो । विगत लामो समयदेखि पर्व सुधारको अभियानमा लाग्दै आउनुभएका इञ्जिनियर हरिनारायण मल्लको अगुवाइमा ८ वर्षदेखि गोरखाका विभिन्न ठाउँका बासिन्दाले बर्सेनि सामूहिक रुपमा भेला भएर विजयादशमी आउनु एक महिनाअघि नै टीका, जमरा लगाउँदै आएका हुन् । 

किन एक महिना अघि नै दशैँ मनाइयो ?

हिन्दू धर्मावलम्बीहरु आफ्ना सबैजसो संस्कार पात्रोका आधारमा सम्पन्न गर्छन् । पात्रो अर्थात पञ्चाङग निर्माणको आधार सूर्यलगायतको ग्रहलाई आधार मानेर गरिन्छ । जसलाई समग्रमा खगोलविज्ञान भनिन्छ । 

खगोलविज्ञानलाई आधार मान्ने हो भने २४ घण्टाको एक दिन भनिए पनि ३ दशमलव २७ सेकेण्ड समय अपुग हुन्छ । दिनदिनै यत्ति समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुने गोरखामा पर्व सुधारको अभियान चलाउँदै आउनु भएका किशोर रेग्मी बताउनु हुन्छ । नेपालको पात्रो २ हजार वर्षदेखि अद्यावधिक नगरिएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘२ हजार वर्षमा २७ दिन हराइसक्यो, त्यसैले पात्रोमा सुधार गर्नु जरुरी छ ।’ 

मेकानिकल इञ्जिनियर हरिनारायण मल्ललगायतले झण्डै एक दशकअघि यही तर्क पञ्चाङग निर्णायक समितिमा राख्नुभयो । समिति पनि पात्रो सुधारका लागि राजी भएपछि विसं २०६७ सालमा मन्त्रिपरिषदमा एउटा प्रस्ताव पुग्यो । 

सबै ज्योतिषसँग बसेर पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेर मन्त्रिपरिषदमा पठाएको प्रस्तावमा पात्रो मिलाउनका लागि चैत महिना हटाएर एकै पटक वैशाख सुरु गर्ने लगायतका कुरा उल्लेख गरिएको थियो । तर मन्त्रिपरिषद्ले स्वीकृत गरेको त्यो प्रस्ताव कार्यान्वयनमा आउन सकेन । 

त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति पनि बनेको छ । सहसचिवको नेतृत्वमा बनेको समितिमा विभिन्न ज्योतिषीहरु पनि आबद्ध छन् । 

मन्त्रिपरिषद्को निर्णयलाई आधार मानेर एक महिनाअघि दशैँ मनाउन थालिएको पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्यहरु बताउँछन् । अधिकारकर्मी रेग्मीको तर्क छ, ‘सूर्य मकर रेखामा प्रवेश गरेको भनेर माघ १ गते मकर संक्रान्ति मनाइन्छ, तर पात्रोमा हेर्ने हो भने सूर्य पुष ६ गते नै मकर रेखामा प्रवेश गरिसकेको हुन्छ ।’ त्यसैले पात्रोबाट एक महिना झिकेपछि सबै पर्व विज्ञानसम्मत रुपमा मनाउन सकिने उहाँको भनाइ छ । 

पञ्चाङ्ग निर्णायक समितिलाई पनि पात्रो सुधार गर्नुपर्छ भन्ने लागेको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतम भन्नुहुन्छ, ‘तर दशैँलाई मात्रै निशाना बनाउनु भएन नि, नेपाल भारतलगायत यो पात्रोलाई आधार मानेर चाडपर्व मनाउने ठाउँका ज्योतिषीहरुको बृहत् भेलामा यसबारे छलफल गर्नु जरुरी छ ।’ 

हाम्रा चाडबाडहरु मौसममा पनि आधारित हुने भएकाले त्यसलाई पनि विचार गर्नुपर्ने उहाँको भनाइ छ । गौतमको तर्क छ, ‘पर्व र पात्रो सुधार भन्दै हचुवा भरमा भदौमा दशैँ मनाउने हो भने धान गोड्न जाने कि दशैँ मान्ने ?’

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • john

    Sept. 9, 2019, 12:54 p.m.

    जे मन लाग्यो त्यही....

  •  0 Reply

तपाईको प्रतिक्रिया