क्या दामी ! मनाङको फापरबारी : पर्यटक भुतुक्कै !

 भदौ २४, २०७६ मंगलबार ९:५६:८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – हिमाली जिल्ला मनाङ, आफैमा प्रकृति र संस्कृतिले निकै धनी छ । यहाँको प्राकृतिक सौन्दर्यलाई नियाल्नका लागि जीवनमा एकचोटी भए पनि ‘ड्रिम प्लेस’ मनाङ पुग्ने प्राय: धेरैको चाह हुन्छ ।

चिसो, स्वच्छ हावा । सेताम्य हिमाल । मनै लोभ्याउने हिमताल लगायतका प्राकृतिक सौन्दर्यले स्वर्गकै अनुभूति गराउँछ, यहाँसम्म पुग्ने जोकोहीलाई ।

माथिल्लो भेगका बारी फापरले ढकमक्क, तल्लो भेगमा फुल्दै

यतिबेला मनाङका बारीमा ढकमक्क फापर फुलेका छन् । मनाङमा बसेर पत्रकारिता गर्दै आउनुभएका नेगम परियारका अनुसार माथिल्लो मनाङका ढुकुरपोखरी, पिसाङ, हुम्डे, अपर मनाङ, थाङ्सार, टंकी मनाङ लगायतका ठाउँमा अहिले बारीमा ढकमक्क फापर फुलेका छन् । यहाँका डाँडापाखा रमणीय देखिएका छन् । 

तल्लो मनाङस्थित चामे गाउँपालिका र नासोङ गाउँपालिकाका बारीमा फापर फुल्ने क्रममा छन् ।

फापर खेतीले मनाङ रमणीय !

साउन अन्तिम सातादेखि भदौ मसान्तसम्म गरी एक महिना यहाँका बारीमा फापर फुल्छन् । यो समयमा फापर खेतीले मनाङलाई झनै रमणीय बनाउँछ । 
बारीमा फुल्दै गरेका फापरलेयहाँ पुग्ने पर्यटकलाई लोभ्याएको छ ।

हिँड्दै गर्दा बाटो नजिकै रहेका बारीमा फुल्दै गरेको फापरको सुन्दर दृश्यमा उभिएर तस्बिर खिच्न पर्यटक लालयित बन्छन् । फुल्दै गरेको फापर । फापर बारीमा भुनभुनाएका मौरीको आवाजमा भुतुक्कै हुन्छन्, पर्यटक ।

फुल्दै गरेको बारीको फापरको दृश्य नियाल्नुका साथै उत्तिक्कै मात्रमा फापरको परिकार पनि यहाँसम्म आउने पर्यटकको रोजाइमा पर्नेसञ्चारकर्मी नेगम बताउनुहुन्छ ।

उहाँका अनुसार फापरको ढिँडो, रोटी पर्यटकले असाध्यै रुचाउँछन् । पर्यटकले फापरको पिठो कोसेलीको रुपमा पनि लैजान्छन् ।

फापरको पिठो पवित्र कार्यमा उपयोग

स्थानीयका अनुसार मनाङको ताल, तिल्चे, हुम्डे, दानाक्यु, माथिल्लो मनाङ, पिसाङ लगायतका ठाउँमा फापरको राम्रो खेती हुन्छ । जानकारहरुका अनुसार केही सुक्खा जमिन र चिसो हावापानीमा यसको खेती फस्टाउँछ ।

पिसाङ र उपल्लो मनाङमा तुलनात्मक रुपमा फराकिला जमिन छन् । यो बाटोमै पर्ने भएकाले पनि यहाँ लगाइएका फापरले धेरै पर्यटकको ध्यान खिच्छ । पर्यटकको रोजाईका साथै फापरको पिठो स्थानीयले पवित्र कार्यमा समेत उपयोग गर्दै आएको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार फापरको ढिँडो, रोटी खानुका साथै यसको पिठो चिया, तातोपानी, घरेलु मदिरामा समेत मिसाएर खाने गरिन्छ । पूजाआजामा समेत यसको पिठो प्रयोग गरिन्छ ।

फापर, करु मनाङको  मुख्य अन्नबाली हो । मनाङमा आलु खेती, स्याउ खेती पनि हुँदै आएको छ ।

तस्बिर सौजन्य : सन्त लामा/नेगम परियार (मनाङ)

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया