एक वर्ष अमेरिकामा क्यान्सर रोगको उपचारपछि भारत फर्किए ऋषि कपूर

 भदौ २५, २०७६ बुधबार १२:५२:८ | एजेन्सी
unn.prixa.net

भारतीय अभिनेता ऋषि कपूर र उनकी पत्नी नीतू कपूर अमेरिकाबाट भारत फर्किएका छन् ।

ऋषि कपूर मंगलबार मुम्बई एअरपोर्टमा पत्नी नितूका साथ ओर्लिए र भारतीय फोटोग्राफरहरुका अगाडि तस्बिरहरु खिचाए साथै मुस्कुराउँदै सबैलाई अभिवादन पनि गरे । ऋषि कपूरले आफू भारत फर्किएको कुरा आफ्नो ट्विटरमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘घर फर्किएँ । ११ महिना ११ दिन । सम्पूर्णलाई धन्यवाद ।’

ऋषि कपूर भारत फर्किएलगत्तै बलिउड कलाकारले उनलाई स्वागत गरेका छन् । फिल्म निर्देशक कुनाल कोहलीले ट्वीट गर्दै लेखेका छन्, ‘घर फर्किनु भएकोमा स्वागत छ । तपाईँ फर्किनु भएकोमा धेरै खुशी छु । धेरै माया ।’ यस्तै निर्माता अतुल कास्बेकर, अभिनेता फरहान अख्तर, गायक अदनान सामीलगायतले पनि ऋषि कपूरलाई स्वागत गर्दै सामाजिक सञ्जालमा आफ्नो खुशी व्यक्त गरेका छन् ।

सन् २०१८ सेप्टेम्बर २९ मा ऋषि कपूरले ट्वीट गर्दै आफू केही मेडिकल उपचारका लागि अमेरिका जान लागेको जानकारी गराएका थिए । उनले आफूलाई शुभकामना दिन अनुरोध गर्दै आफ्ना बारेमा अनेक अड्कल गरेर नबस्न समेत भनेका थिए ।

साथै आफू छिट्टै भारत फर्कने समेत बताएका थिए । ऋषि कपूर अमेरिका गएको २ दिनपछि उनकी आमा कृष्णाराज कपूरको निधन भएको थियो । तर ऋषि कपूर आफ्नी आमाको अन्तिम संस्कारको लागि समेत भारत फर्किन सकेका थिएनन् ।

ऋषि कपूर क्यान्सर रोगको उपचारका लागि न्यूयोर्कमा रहेको र २०१८ को सेप्टेम्बरदेखि उपचार भइरहेको कुरा ऋषि कपूरका दाइ रणधीर कपूरले जानकारी गराएका थिए । साथै उनले ऋषि कपूर यसै वर्षको अप्रिलमा क्यान्सर रोगबाट मुक्त भएको र बाँकी रहेको उपचार पूरा गर्न केही समय अझै लाग्ने बताएका थिए ।

एक वर्षदेखि उपचारका लागि अमेरिकाको न्यूयोर्कस्थित अस्पतालमा रहेका ऋषि कपूरका लागि त्यो समय निकै कष्टपूर्ण रह्यो । ऋषि कपूरले बेला बेलामा आफ्नो ट्विटर अकाउन्टमार्फत घर फर्किने इच्छा व्यक्त गरेका थिए । ऋषि कपूरका साथ उनकी पत्नी नीतू कपूर पनि उनकै साथमा थिइन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया